स्वर्ण विजेता श्रुतिलाई सम्मान
नेपाललाई स्वर्ण दिलाउन सफल सुर्खेतकी श्रुति कार्कीलाई सम्मान गरिएको छ । कार्कीलाई मंगलवार गृह जिल्लामा खेलाडीहरूले सम्मान गरेका छन् । भारतको महाराष्ट्रस्थित अमरावतीमा हालै सम्पन्न २१औं विश्व पावर लिफ्टिङ्ग प्रतियोगितामा उनले दुई स्वर्ण जितेकी थिइन् । वीरेन्द्रनगरमा कर्णाली प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिले संयुक्त कार्यक्रम आयोजना गरी कार्कीलाई सम्मान गरेका हुन् ।
कार्कीसँगै पावर लिफ्टिङ्ग प्रशिक्षक एवम् जिल्ला फुटबल संघ सुर्खेतका उपाध्यक्ष प्रमोद हमाललाई पनि सम्मान गरिएको छ । सम्मान कार्यक्रममा उसु संघका केन्द्रीय उपाध्यक्ष हरि थापाले कर्णाली जस्तो पछि परेको क्षेत्रबाट देशका लागि स्वर्ण दिलाउन सफल भएको भन्दै कार्कीप्रति उच्च सम्मान व्यक्त गरे । कर्णालीमा पावर लिफ्टिङ्ग नयाँ विधा भएपनि यसको सम्भावना धेरै रहेको उनले औल्याए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षद्वय डिल्ली सुवेदी, ऋषि गिरी लगायतले खेलाडीहरूलाई खेल खेल्ने र उनीहरूको व्यवसायिकरणका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरेका थिए । खेलाडीहरू राष्ट्रका गहना भएकाले श्रुतिजस्ता खेलाडीलाई सरकारले उचित सम्मान गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
सम्मान कार्यक्रममा बोल्दै श्रुतिका प्रशिक्षक हमालले राज्यले अब खेलाडीको व्यवसायिकताबारे सोच्नुपर्ने बताए । श्रुतिको आगामी खेलयात्रामा सरकारको सहयोग आवश्यक रहेको हमालले बताए । हमालले २०७३ देखि सुर्खेतमा व्यवसायिक रूपमा मिड वेस्र्टन फिटनेश सेन्टर स्थापना गरी पावर लिफ्टिङ्गको व्यवसायिक प्रशिक्षण दिइरहेका छन् ।
प्रकाशित मितिः १ पुष २०७७, बुधबार ११:१७
साझा बिसौनी ।