भेरीको पानी तीन वर्षभित्र उपत्यकामा
मेलम्चीपछिकै दोस्रो ठूलो आयोजना, सात अर्ब लगानी, तीस वर्षलाई पुग्ने
तीन वर्षभित्र भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याइने भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्न ‘भेरी पम्पिङ’ आयोजना निर्माण गरी पानी ल्याउन लागिएको हो । भेरीको पानी उपत्यकामा ल्याउने गरी खानेपानी तथा ढल व्यवस्थापन विभागले काम अघि बढाएको छ । आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्यालाई आधार मानी आयोजनाको काम अगाडि बढाइएको हो ।
भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने चर्चा चार वर्षदेखि चलेको हो । अहिलेसम्म उक्त आयोजना कार्यान्वयनमा आउन नसक्दा नागरिकले पानीको हाहाकार झेल्दै आएका छन् । अब भने विभागले खानेपानी समस्या समाधान गर्न दीर्घकालीन योजनासहित अघि बढेको दाबी गरेको छ ।
हालसम्म वीरेन्द्रनगर उपत्यकामा भेरीको पानी ल्याउन संघीय र प्रदेश सरकारले पटक–पटक बजेट विनियोजन गरे पनि योजना कार्यान्वयन नहुँदा रकम फ्रिज जाने गरेको थियो । खानेपानी आयोजनाको दीर्घकालीन योजना बनाउन खानेपानी तथा ढल व्यवस्था विभागको प्राविधिकसहितको टोली अहिले सुर्खेतमा छ । विभागले प्राविधिक टोली बनाएर हाल आयोजना निर्माण र वितरणबारे डिजाइन बनाउने काम गरिरहेको छ । पहिले भएको अध्ययन अनुसार भेरी पुुल र झुप्रा खोलाको दोभान बीचबाट पानी पम्पिङ गरेर ल्याइने भनिए पनि उक्त ठाउँ उपयुक्त नभएपछि पुनः पाँच सय ७४ मिटर माथिबाट पानी ल्याउने गरी अध्ययन अघि बढाइएको विभागले जनाएको छ ।
त्यहाँबाट वीरेन्द्रनगर उपत्यकामा पानी ल्याउन सात किलोमिटर पाइपलाइन निर्माण गरिनेछ । विभागका अनुुसार भेरीको पानी पम्पिङ गरेर अमृतडाँडा ल्याउने र त्यहाँबाट उपत्यकामा पानी वितरण गरिनेछ । अमृतडाँडा उपत्यकाको दक्षिण पूर्वी भागमा रहेको अग्लो डाँडा हो । त्यहाँ १२ हजार क्यूफिट लिटरको ट्याङ्की निर्माण गरिनेछ । यसका लागि अमृतडाँडासम्म मात्र पानी ल्याउन करिब दुई अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान विभागले गरेको छ । अमृतडाँडामा पानी ल्याइसकेपछि वीरेन्द्रनगर उपत्यकामा वितरण गर्नका लागि संरचना तयार गर्न चार अर्ब ६३ करोड ७९ लाख नौ हजार पाँच सय ८९ रूपैयाँ लागत लाग्ने अनुमान छ । यस हिसाबले भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन झण्डै सात अर्ब रूपैयाँ खर्च हुनेछ ।
विभागका महानिर्देशक सूर्यराज कँडेलले वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्नेगरी योजना बनाइएको बताए । धेरै लगानीमा ठूलो योजना बनाउनुपर्ने भएकाले प्राविधिक कारण र कोरोनाका कारण ढिला भए पनि अब यो आयोजनालाई अघि बढाउन थालिएको उनी बताउँछन् । महानिर्देशक कँडेलका अनुसार यो आयोजनालाई बहुप्रतिक्षित एवम् चर्चित मेलम्ची खानेपानी आयोजना पछिको दोस्रो ठूलो आयोजनाको रूपमा हेरिएको छ । उनी भन्छन्, ‘लागत र संरचनाका हिसाबले यो मेलम्चीपछिको आयोजना हो । त्यसैले यसलाई कसरी दीर्घकालीन रूपमा प्रयोग गर्नेगरी अघि बढाउन सकिन्छ भनेर योजना बनाइएको छ ।’
ठूलो लगानी हुने आयोजना भएकाले दिगो योजनासहित अघि बढ्न विभागले विज्ञहरूसँग समेत छलफल गरिरहेको जनाएको छ । ‘कोरोनाका कारण केही ढिला भयो । अब यसलाई तीव्र गतिका साथ अघि बढाइनेछ,’ महानिर्देशक कँडेलले भने ।
वीरेन्द्रनगर उपत्यकामा बढ्दो जनसंख्यासँगै पानीको संकट चुलिँदो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगर उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले झुप्रा बृहत खानेपानी आयोजना बनाउँदादेखि नै भेरीको पानी दीर्घकालीन विकल्पको रूपमा हेरिएको बताए । वर्षौं पहिलेदेखि भेरीको पानी ल्याउने योजना बनेपनि अब भने त्यसले सार्थकता पाउन लागेको उनको भनाइ छ । उपत्यका आसपासका विभिन्न स्रोत गरेर अहिले वीरेन्द्रनगरमा एक सय ५७ लिटर प्रतिसेकेण्ड पानी आउँछ । तर, पानीको माग भने आपूर्तिभन्दा बढी छ । जबकी उपत्यकामा दुई सय ५७ लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्छ ।
उपत्यकामा वर्षेनी आठ सयदेखि एक हजारसम्म घरधुरी थपिने गरेका छन् । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अझैं १८ हजार घरधुरीलाई खानेपानीका धारा अपुग छ । पाँच हजार घरका लागि धाराको माग गरी निवेदन परेको संस्थाले जनाएको छ । वीरेन्द्रनगरमा अहिले १८ हजार आठ सय ५० धाराहरूमार्फत पानी वितरण हुँदै आएको छ । गर्मीयाममा पानी आपूर्तिमा ५० प्रतिशतले कमी आउने गरेको छ । जसका कारण उक्त सिजनमा ९६ घण्टाको पालो लगाएर पानी वितरण गर्ने गरिरएको छ ।
यसै वर्ष टेण्डर
खानेपानी आयोजना यस वर्षदेखि नै अघि बढाउन टेण्डरमा जाने गरी विभाग अघि बढेको छ । अबको ३० वर्षलाई लक्षित गरी वीरेन्द्रनगर उपत्यकामा खानेपानी योजना निर्माण गरिने महानिर्देशक कँडेल बताउँछन् । एक हप्ताभित्र भेरीमा इन्टेक बनाउने स्थानमा गहिराइ नाप्ने र संरचना डिजाइनको काम दुई महिनाभित्र सक्ने गरी प्राविधिक टोली खटिएको छ । यसका लागि विभागको प्राविधिकसहितको टोलीले सोमवार सरोकारवालासँग छलफलसमेत गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राजधानीको खानेपानी समस्या समाधान प्रदेश सरकारको पहिलो प्राथमिकतामा परेको बताए । उनले संघीय र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने तथा बजेट व्यवस्थापनमा समेत प्रदेश सरकार तयार रहेको जनाए । प्रदेशले अघिल्लो वर्ष सोही आयोजनाका लागि विनियोजन गरेको बजेट फ्रिज गएको स्मरण गर्दै उनले भने, ‘बजेट नपुगे प्रदेश सरकारले दिन्छ । हामी एक अर्बसम्म बजेट दिन सक्छौँ ।’ यद्यपि उनले आयोजनालाई संघीय सरकारले नै अघि बढाउँदा उपयुक्त हुने बताए । वीरेन्द्रनगरको जनसंख्या हाल करिब डेढ लाख रहेको र अबको ३० वर्षमा चार लाख पुग्ने अनुमान गरिएको छ । सोही अनुसार नै दीर्घकालीन रूपमा यो योजनालाई अघि बढाइने गरी विभाग लागेको हो ।
प्रकाशित मितिः ३० मंसिर २०७७, मंगलवार ०८:४२
साझा बिसौनी ।