संसदीय समितिको प्रभावकारिता
प्रदेशसभाका तीन वर्षः भाग–चार
संविधानको भाग १४ को धारा १९३ मा प्रदेशसभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न प्रदेश सभाले नियमावली बमोजिम आवश्यकता अनुसार समिति वा विशेष समिति गठन गर्न सक्ने उल्लेख गरिएको छ । सोही व्यवस्था अनुसार कर्णाली प्रदेशसभामा चार वटा विषयगत समितिहरू छन् ।
सभाको २०७४ चैत २६ गतेको दशौं बैठकले समितिहरू गठन गरेको थियो । प्रदेशसभा नियमावलीको नियम १ को उपनियम ४५ अनुसार अर्थ तथा प्राकृतिक स्रोतसाधन समितिले आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कामको अनुगमन गर्दछ ।
यस्तै विधायन तथा प्रदेश मामिला समितिले प्रदेश मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश लोक सेवा आयोग र सरकारका कामकाजहरूको अनुगमन गर्छ भने सामाजिक विकास समितिले सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, श्रम, सामाजिक न्याय र मानव अधिकारका विषयको अनुगमन गर्दछ ।
यसैगरी सार्वजनिक लेखा समितिलाई प्रदेश लोक सेवा आयोग र प्रदेश मानव अधिकार आयोगबाहेक प्रादेशिक संवैधानिक आयोगका प्रतिवेदन, सार्वजनिक लेखा तथा प्रदेश लेखापरीक्षक कार्यालयको प्रतिवेदन र बेरुजु फछ्र्यौट सम्बन्धी कामको अनुगमन गर्ने अधिकार छ ।
प्रदेशसभाले संसदीय समिति गठन गरेपनि त्यसको नेतृत्व छनौट भने निकै ढिला भयो । २०७७ असार २९ गतेमात्रै समितिले नेतृत्व पाएका थिए । त्यसभन्दा अगाडि ज्येष्ठताका आधारमा संसदीय समितिको प्रदेशसभा सदस्यहरूले नेतृत्व गरिरहेका थिए । हाल सामाजिक विकास समितिको अध्यक्षमा देवी वली, अर्थ तथा प्राकृतिक श्रोत समितिको अध्यक्षमा गणेशप्रसाद सिंह, सार्वजनिक लेखा समितिको अध्यक्षमा दिनबन्धु श्रेष्ठ र विधायन तथा प्रदेश मामिलाको अध्यक्षमा दानसिंह परिवार अध्यक्ष छन् ।
‘मिनी संसद्’का रूपमा चिनिने कर्णाली प्रदेशसभाका संसदीय समितिहरूले समिति गठन भएको दुई वर्षपछि नेतृत्व पाए । नेतृत्वमा नै ढिलाइ भएपछि कार्यसम्पादनमा पनि अवश्य ढिलाइ हुने नै भयो ।
विषयगत समिति गठन भएको पनि साढे दुई वर्ष बितिसक्यो । तर यहाँका सत्तारुढ राजनीतिक दलको आन्तरिक किचलोका कारण समितिले दुई वर्षसम्म निर्वाचित नेतृत्व पाउन सकेन । त्यसले पनि समितिको काममा पक्कै पनि असर गर्याे किनभने ज्येष्ठताको आधारमा संसदीय समितिको नेतृत्व गरिरहेका सांसदहरूको काम निर्वाचित जसरी प्रभावकारी नहुन सक्थ्यो । प्रदेश सरकारको खबरदारीको जिम्मा पाएका समितिहरू केही मुद्दाहरूमा सक्रिय देखिए पनि यो साढे दुई वर्षको अवधिमा अपेक्षाकृत रूपमा सक्रिय देखिएका छैनन् ।
कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिको अहिलेसम्म ७९ वटा बैठक बसिसकेको छ । संसदीय समितिको पहिलो बैठक २०७५ वैशाख १७ गते बसेको थियो । कार्यक्षेत्र सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहेको समितिसँग सम्बन्धित पाँच वटा विधेयक अहिलेसम्म प्रदेश सभाबाट पारित भइसकेका छन् । अहिले उक्त समितिमा कुनै पनि विधेयक छलफलमा छैनन् । नीति निर्माणमा सरोकारवालाहरूको सुझाव अनिवार्य समेट्नुपर्छ । यसर्थ सामाजिक विकास समितिले केही समयअघि प्रविधिको प्रयोग गर्दै विधेयकबारे सार्वजनिक रूपमै छलफल पनि गरेको थियो । समितिले हाल डोल्पा, जुम्ला, हुम्ला र मुगुमा काम गरिरहेको छ । केही समयअघि सुर्खेतमा भएको अनुदानको चामलको हिनामिनाबारे अध्ययन समेत समितिले सुरु गरेको छ ।
सामाजिक विकास समितिले कर्णाली प्रदेशका सबै स्थानीय तहका न्यायिक समितिका संयोजकहरूसँग त्रैमासिक बैठक गर्दैछ । यसैगरी नागरीक समाज, गैैरसरकारी संस्था र अन्य सम्बन्धित सरोकारवालाहरूसँग त्रैमासिक रूपमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ ।
अर्को महŒवपूर्ण समिति होे अर्थ तथा प्राकृतिक स्रोत समिति, जसको हालसम्म ६६ वटा बैठक बसेका छन् । संसदीय समितिको पहिलो बैठक २०७५ वैशाख १७ गते बसेको थियो । हाल यस समितिमा विभिन्न विधेयकहरूमाथि छलफल भइरहेको छ । समितिले हाल खुला संसदको अभ्यास गर्ने प्रयत्न गरिरहेको छ । समितिले जुम्ला जिल्लामा सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयकमाथि छलफलको आयोजना गरेको थियो । समितिको कार्यक्षेत्र भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय हो । समितिले पाँच जिल्लामा अनुगमन गरिसकेको छ भने बाँकी पाँच जिल्लामा अनुगमन गर्ने योजना बनाएको छ । विषयगत विज्ञहरूको अभावको समस्या सामना गरिरहेको समयमा समितिले दिएको सुझाव कार्यान्वयन नभएको समस्या थपिएको समितिका पदाधिकारीहरूले बताउने गर्छन् । मुख्य कुरा समितिका पदाधिकारीले बताए अनुसार सरकारले ल्याउने विधेयक परिपक्व नभएका कारणले उनीहरूको समय खेर गएको छ । त्यसैगरी बजेटको अभाव र विद्यमान बजेटको भुक्तानी प्रणालीमा समस्या भएका कारणले समितिले प्रभावकारी ढङ्गले काम गर्न सकिरहेको छैन ।
विधायन तथा प्रदेश मामिला समितिका अहिलेसम्म जम्मा ३१ वटा बैठक बसेका छन् । संसदीय समितीको पहिलो बैठक २०७५ वैशाख १७ गते बसेको थियो । यो समितिको कार्यक्षेत्र आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हो । समितिले विभिन्न मन्त्रालयले बनाएको कानुन तथा प्रक्रियाहरू विद्यमान कानुन बमोजिम छ कि छैन भनेर हेर्ने काम गर्छ । हाल समितिले आफ्नो सक्रियता बढाउँदै लगेको छ ।
कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितीले अहिलेसम्म ७६ बैठकहरू गरिसकेको छ । समितिको पहिलो बैठक २०७५ वैशाख १७ गते बसेको थियो । रारा पर्यटन वर्षको अनियमितता सम्बन्धी समितिले लिएको निर्णय र बजेट स्थानान्तरण सम्बन्धी निर्णय सर्वविदितै निर्णयहरू हुन् । समितिले आफ्नो अढाइ वर्षको अनुभवबाट कार्यविधि पनि तर्जुमा गरेको छ । रारा पर्यटन वर्षको उद्घाटनमा भएको अनियमितताको छानविनदेखि मन्त्रालयको रकमान्तरको विषयमा समितिले गरेको निर्णयहरू निकै चर्चित निर्णयहरू हुन् ।
यसर्थ संसदीय समितिका कामकारवाही सरकारसँग प्रत्यक्ष जोडिएका छन् । अनुगमनको पाटोमा होस् या छानविन, मूल्यांकनको पाटोमा होस्, संसदीय समितिको कामकारवाहीले संसद्को गतिलाई मार्गनिर्देश त गर्छ नै, सार्वजनिक नीति निर्माण र सार्वजनिक सेवा प्रवाहमा नागरिक सहभागिताको लागि पनि यस्ता समितिहरूको भूमिका महŒवपूर्ण हुन्छ । संसदीय समितिहरूले प्रभावकारी रूपमा कार्य सम्पादन गर्न खोजे पनि सरकारको असहयोग भएको उनीहरूको अनुभवको पाटोले देखाउँछ । समितिको लागि विषयगत विज्ञहरूको अभाव हुनुलाई उनीहरूले आफ्नो कार्यसम्पादनमा मुख्य चुनौतीको रूपमा ठान्दै आएका छन् । अनुगमन तथा नागरिक छलफलको लागि पर्याप्त बजेट नहुनुका साथै अनुगमनको क्रममा आवश्यक पर्ने विज्ञको अभावले गर्दा समितिले जुन गतिमा काम गर्नुपर्ने हो, त्यो गतिमा गर्न नसकिरहेको समितिका सदस्यहरूको बुझाई छ । यसरी हेर्दा कर्णाली प्रदेशसभा अन्तर्गतका संसदीय समितिहरूको सक्रियता अपेक्षाकृत नभए पनि विभिन्न चुनौतीकाबीच उनीहरूले काम गर्न भने खोजिरहेको देखिन्छ ।
प्रकाशित मितिः ३० मंसिर २०७७, मंगलवार ०८:४४
साझा बिसौनी ।