वातावरणको वार्षिक साधारणसभा

वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर–८ सुर्खेतको १८औं वार्षिक साधारणसभा सोमवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । यसै वर्षदेखि सहकारी ऐन नियम अनुसार एकाई बैठकहरू मार्फत वार्षिक साधारणसभाहरू सञ्चालन गरिएको हो । जसअनुसार यसअघि सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका विभिन्न स्थानमा सातवटा एकाई बैठकहरू सम्पन्न भएका थिए । सो एकाई बैठकहरूबाट चयन भएका प्रतिनिधिहरूको सभामार्फत सोमवार संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामा संस्थाका सल्लाहकार एवम् संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेलले कोरोना महामारीको विषम परिस्थितिमा पनि आफ्ना गतिविधिहरू सुरक्षित ढङ्गले सम्पादन गर्दै वार्षिक साधारणसभा समेत सम्पन्न गरेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा गत आर्थिक वर्ष २०७६/०७७ को अवधिमा उत्कृष्टता हासिल गर्ने संस्थाका उत्कृष्ट पाँच जना कर्मचारीहरूलाई नगद तथा प्रमाण–पत्रका साथ पुरस्कृत गर्नुको साथै शैक्षिक सत्र २०७६ को एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने पाँच जना शेयर सदस्यका छोराछोरीलाई उच्च शिक्षा छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्थाका सचिव राधाकुमारी ढकालले पेश गरेको चालु आ.व. २०७७/०७८ को पाँच अर्ब ९९ करोड ५४ लाख २२ हजार बराबरको संशोधित र आगामी आर्थिक वर्ष २०७८÷०७९ को ६ अर्ब ७३ करोड ९७ लाख दुई हजार आठ रूपैयाँ बराबरको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको संस्थाका कार्यकारी प्रबन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मितिः   ३० मंसिर २०७७, मंगलवार ०८:३४