सिँचाइका संरचना अलपत्र

स्थानीय तहमा सिँचाइका लागि निर्माण गरिएका संरचना प्रयोगविहीन हुने गरेका छन् । निर्माणपछि संरक्षण र मर्मतमा ध्यान नदिँदा यस्ता संरचना अलपत्र पर्ने गरेका हुन् । दैलेखको चामुण्डाबिन्द्राशैनी नगरपालिका–८ खारस्थित नावधारा नजिकै रहेको पानी पोखरी निर्माण गरिएको एक वर्षमै प्रयोगविहीन भएको छ । पोखरी निर्माण गरिएको जमिननै भास्सिएपछि स्थानीयले विगत तीन वर्ष यता सिँचाइ सुविधा पाउन सकेका छैनन् ।

खम्बैडाँडा पिपल चौतारी कृषि समूहले निर्माण गरेको उक्त पोखरीमा अहिले धान खेती गर्ने गरिएको छ । समूहले आर्थिक वर्ष २०७३÷७४ मा तत्कालीन लयाँटीबिन्द्राशैनी गाविसबाट प्राप्त भएको एक लाख ५० हजार रूपैयाँको लगानीमा पोखरी निर्माण गरेको थियो । वर्षायाममा नजिकै रहेको खोलाको बाढीले जमिननै भास्सिएपछि स्थानीय सिँचाइ सुविधाबाट वञ्चित भएका हुन् । प्राविधिक अध्ययनविनै हचुवाका भरमा निर्माण गरिएका कारण पोखरी भत्किएको स्थानीयको आरोप छ ।

पिपल चौतारी कृषि समूहकी अध्यक्ष पवित्रा बुढाले पोखरी निर्माण भएको एक वर्षपछिको वर्षायाममा भास्सिएर प्रयोगविहीन भएको जनाइन् । पाँच÷पाँच मिटर लम्बाइ र चौडाइ रहेको पोखरी सामान्य भत्किए पनि सरोकारवालको बेवास्ताका कारण मर्मत नहुँदा प्रयोगविहीन भएको हो । झण्डै तीन वर्ष पुग्दा पनि त्यसको मर्मत सुधारको लागि कुनै पनि काम भएका छैनन् । स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए पनि पोखरी मर्मत सुधारको लागि पहल नै नगरेको स्थानीयको गुनासो छ ।

कृषि समूहकी अध्यक्ष बुढाले मर्मत सुधारको लागि सम्बन्धित निकायमा कुनै पनि पहल गर्न नसकिएको बताइन् । उनका अनुसार हाल उक्त कृषि समूह नै निश्क्रिय छ । चामुण्डाबिन्द्राशैनी नगरपालिका र वडा नं. ८ कार्यालयले स्थानीय र कृषि समूहको बेवास्ताका कारण पोखरीलाई प्रयोगमा ल्याउन नसकिएको बताएका छन् । वडा अध्यक्ष वीरबहादुर शाही भन्छन्, ‘हामीले केही दिन अघि पोखरीको अनुगमन गरेका छौँ । वडाले अब तत्काल पोखरी मर्मत गर्नेछ ।’ नगरपालिकाले पनि आवश्यकताका आधारमा मर्मत सुधारको लागि बजेट व्यवस्थापन गर्न सकिने बताएको छ । नगरपालिका कृषि शाखा प्रमुख गणेश रेग्मीले समूहको सक्रियता र स्थानीयको माग आए नगरले बजेट उपलब्ध गराउने जनाए ।

प्रकाशित मितिः   २८ मंसिर २०७७, आईतवार ०९:२३