बेसाहाराको उद्धार

मन्दिरमा माग्न बसेका तीन जना बेसाहाराको उद्धार गरिएको छ । मानव सेवा आश्रम सुर्खेत अन्र्तगत मानव सेवा युवा परिवारले शनिवार देउतीबज्यै मन्दिर परिसरमा मागेर छाक टार्दै आएका तीन जनालाई उद्धार गरेर मानव सेवा आश्रममा ल्याइएको हो । सडकमा रहेका असहाय व्यक्तिहरूलाई उद्धार गरेर मानव सेवा आश्रममा आश्रय दिइएको छ ।

गत वर्ष कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरी सकिएको छ । सडकमा रहेका बेसाहारा र असहाय व्यक्तिहरूलाई उद्धार गर्ने, आफन्त खोजेर पारिवारिक पुनर्मिलन गराउनेलगायतका कार्य मानव सेवा आश्रमले गर्दै आएको छ । मानव सेवा युवा परिवारका संयोजक महेन्द्रकुमार थापाले देउतीबज्यै मन्दिरमा पछिल्लो समय पहिलेकै जसरी माग्न बस्नेको संख्या बढेको बताए । आफन्त र घरठेगाना थाहा नभएकालाई उद्धार गर्ने गरिएको उनी बताउँछन् । मागेर हिँड्ने कतिपयलाई उनीहरूको परिवारसँग भेटाएर सम्झाइबुझाइ गरी घर पठाउने गरिएको छ ।

हाल आश्रममा ४५ जनालाई उद्धार गरेर राखिएको मानव सेवा आश्रम सुर्खेत शाखाका संयोजक सञ्जिता गौतमले बताइन् । विभिन्न संघ–संस्था र व्यक्तिहरूको सहयोगमा आश्रम सञ्चालन गरिरहेको उनले जनाइन् ।

प्रकाशित मितिः   २८ मंसिर २०७७, आईतवार ०९:२१