गढीको पुनर्निर्माणमा सेना

सुर्खेतको वीरेन्द्रनगर–१४ मा रहेको भग्नावशेष बयलकाँडा गढी ।

सुर्खेतको बयालकाँडामा रहेको ऐतिहासिक गढी र दैलेखको कोतगढीको संरक्षण तथा पुनर्निर्माण गरिने भएको छ । नेपाली सेनाले स्थानीय तहसँगको सहकार्यमा रणनीतिक महŒव बोकेका ऐतिहासिक गढी तथा किल्लाहरूको संरक्षण गर्न लागेको हो । देशभर ‘राष्ट्रिय एकीकरण मार्ग’ अन्तर्गत कोतगढी र गढीको संरक्षण गर्ने अभियान थालिएको सेनाले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१४ गोठीकाँडामा अवस्थित बयलकाँडा गढी पाँच कट्ठा १३ धुर जग्गामा फैलिएको छ । नेपाल एकीकरणको दौरान उक्त क्षेत्रको सुरक्षाको लागि बहादुर शाहको पालामा गोर्खाली फौजले गढी निर्माण गरेको हुनसक्ने ऐतिहासिक दस्ताबेजहरूमा पाइन्छ । ‘हालसम्मको खोज तथा अनुसन्धानबाट बहादुर शाहको पालामा गढी बनेको खुल्न आएको छ । थप खोज–अनुसन्धान पनि भइरहेका छन्,’ नेपाली सेनाका उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डेले भने । गढी पुनर्निर्माणबारे छलफल गर्न आयोजित अन्तरक्रियमा गढीको संरक्षणबाट गोठीकाँडा क्षेत्रको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महŒव बढ्ने विश्वास लिइएको उनले बताए । पृतनापति पाण्डेका अनुसार बयलकाँडाका साथै दैलेखको कोतगढीको पनि नेपाली सेनाले संरक्षण गर्नेछ ।

चालु आर्थिक वर्षमा बयलकाँडा गढी संरक्षणको लागि सेनाले पाँच लाख रूपैयाँ छुट्याएको थियो । उक्त बजेटबाट गढी संरक्षणबारे अन्तरक्रिया, स्थलगत अध्ययन र गढीको स्केच (डिजाइन) बनाउने काम सम्पन्न भएको पृतनापति पाण्डेले बताए । सेनाले तयार पारेको स्केचलाई पुरातत्व विभागले स्वीकृत गरेपछि मात्र गढी संरक्षण र पुनर्निर्माणको काम थालिनेछ । गढी पुनर्निर्माण र संरक्षणको लागि स्थानीय तह र पुरातत्व विभागसँग सहकार्य गर्ने नेपाली सेनाले जनाएको छ ।

अन्तरक्रियामा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बयलकाँडा गढी पुनर्निर्माण कार्यलाई गोठीकाँडाको पर्यटकीय विकाससँग जोड्ने बताए । गोठीकाँडामा अहिले नगरपालिकाले पार्क, धार्मिकस्थल पुनर्निर्माण र पर्यटकीय पूर्वाधारका काम गरिरहेको प्रमुख सुवेदी बताउँछन् । ‘नेपाली सेनाले गढी पुनर्निर्माण र संरक्षणको काम थालेपछि हाम्रो अभियानमा थप सहयोग पुगेको छ,’ उनले भने, ‘सेना र स्थानीय सरकारको साझेदारीमा बयालकाँडा गढी र गोठीकाँडाको विकास गरिनेछ ।’

हाल गढी रहेको पूर्वतर्फ सडक खनिएको छ । गढीका पर्खाल भत्किनुका साथै ढुङ्गाहरू छरपष्ट अवस्थामा छन् । साविकको गढी गाविसले तारबार तथा गढी जाने बाटोमा पक्की पर्खाल लगाएको भए पनि गढी जीर्ण अवस्थामा छ । गढी नजिकै पुरातत्व विभागले बटुक भैरव मन्दिर निर्माण गरिरहेको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ऐतिहासिक महŒवका सम्पदाहरू अनुमानको भरमाभन्दा खोज तथा अनुसन्धानबाट प्राप्त तथ्यको आधारमा पुनर्निर्माण र संरक्षण गरिनुपर्ने बताएका छन् ।

प्रकाशित मितिः   २८ मंसिर २०७७, आईतवार ०९:१९