उपेक्षामा खेलकुद

पूर्वाधार विकासमा पछि परेको प्रदेश हो, कर्णाली । अन्य पूर्वाधारहरूजस्तै खेलकुदका पूर्वाधार निर्माणमा पनि पछि नै परेको छ । आवश्यक खेल संरचनाहरू निर्माण भएका छैनन् । जसका कारण कर्णालीको खेलकुदले पनि अपेक्षाकृत रूपमा गति लिन सकेको छैन । यद्यपि सीमित स्रोत र साधनकैबीच नेपाली राष्ट्रिय खेलकुद जगतमा कर्णालीको उपस्थिति र प्राप्त नतिजा उच्चस्तरको रहँदै आएको छ । उदाहरणका लागि हालै मात्रै सुर्खेतकै श्रीष कार्कीले भारतमा भएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाएर स्वर्णपदक जितिन् । यो त पछिल्लो उदाहरण मात्रै हो विगतदेखि नै कर्णालीले खेलकुदमा आफ्नो दरिलो र परिणामयुक्त उपस्थिति जनाउँदै आएको छ । यति हुँदाहुँदै पनि पूर्वाधार विकासका हिसाबले कर्णाली नाजुक अवस्थामा रहेको यथार्थ हाम्रासामू छ ।

सबैभन्दा पहिलो त प्रदेशमा पर्याप्त खेल मैदानहरू छैनन् । फुटबल र क्रिकेटजस्ता खेलहरूका लागि ठूला मैदान आवश्यक पर्दछन् । यसका लागि फ्याराफिटसहितको ठूला रङ्गशाला र मैदान निर्माण जरुरी हुन्छ । तर कर्णालीमा हालसम्म एउटा प्रदेशस्तरीय रङ्गशाला निर्माण भएको छैन । क्रिकेट मैदानको त कुरै छोडौं । अन्य इन्डोर गेमहरूका लागि आवश्यक भौतिक संरचनाहरूको पनि अभाव नै छ । राज्यको उपेक्षाका कारण पनि खेल क्षेत्र फैलिन नसकेको हो । त्यसो त बजेट नै नभएको पनि होइन । तर कर्णालीको अर्को समस्या के छ भने भएको बजेट पनि खर्च गर्न नसक्दा संरचना निर्माणमा पछि परेको छ । उदाहरणका लागि पछिल्ला वर्षहरूमा विनियोजित बजेट हेरे पुग्छ । कर्णाली प्रदेश सरकारले प्रदेश रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७५÷७६ मा सात करोड रूपैयाँ विनियोजन ग¥यो । उक्त बजेट खर्च हुन सकेन । त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा समेत दुई करोड ५० लाख रूपैयाँ विनियोजन गरियो । सो रकमसमेत खर्च नभइ फ्रिज भयो । चालु आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारले दुई करोड रूपैयाँ विनियोजन गरेको छ । तर, यो आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि बजेट खर्च गर्ने तरखर देखिएको छैन । अर्थात् यो वर्ष पनि रङ्गशाला निर्माणको काम नहुने देखिएको छ । वर्षेनी बजेट विनियोजन गरेपनि रकम भने फ्रिज हुँदै जाने गरेको हो ।

प्रदेश रङ्गशाला मात्र नभइ जिल्लामा निर्माण गर्ने भनिएका रङ्गशालाहरूसमेत बन्न सकेका छैनन् । केही जिल्लाहरूमा निर्माण थालिएका रङ्गशालाहरूमा समेत विवाद बढेको छ । हालसम्म रङ्गशाला निर्माणका लागि कुनैपनि काम अगाडि बढेको छैन । कतिपय टेण्डर भइसकेको कामसमेत अन्तिममा आएर रद्द भएका छन् । अर्कोतर्फ राजनीतिक खिचातानीका कारण पनि रङ्गशाला निर्माण हुन नसकेकोे सरोकारवालाहरू बताउँछन् । प्रदेशको खेलकुद परिषद् गठन हुन सकेको छैन । यस्ता अनेक समस्याका कारण वर्षेनी बजेट खर्च नभएर फिर्ता हुने गरेको छ । यसले एकातिर बजेट कार्यान्वयन हुन सकिरहेको छैन भने अर्कोतर्फ बनाइनुपर्ने खेल संरचनाहरू समेत बन्न सकेका छैनन् । यो प्रदेशको खेलविकासका लागि नोक्सान हो ।

प्रकाशित मितिः   २८ मंसिर २०७७, आईतवार ०९:१७