सुरक्षा निकायकै परीक्षामा नक्कली परीक्षार्थी
प्रहरी जवान पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । प्राविधिक प्रहरी जवान संगीततर्फको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीहरू पक्राउ परेका हुन् । लोक सेवा आयोगको सुर्खेत कार्यालयमा बुधवार सञ्चालन भएको प्रहरी जवानको लिखित परीक्षामा सहभागी भएका सात जना नक्कली परीक्षार्थी र त्यसको व्यवस्थापन मिलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको हो । मंसिर २० गतेदेखि सञ्चालन भइरहेका प्राविधिक प्रहरी जवान संगीततर्फको परीक्षामा हालसम्म ११ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नक्कली परीक्षार्थी र परीक्षा दिन लगाउने दुवैले आयोगका कुनै पनि परीक्षामा तीनदेखि पाँच वर्षसम्म सहभागी हुन पाउँदैनन् । प्रहरीका अनुसार यस्ता व्यक्तिको कसुरको मात्रा हेरी ३० हजार जरिवाना वा तीन वर्ष कैद र दुवै सजाय पनि हुनसक्ने व्यवस्था छ ।
सुरक्षा निकायकै परीक्षामा नक्कली परीक्षार्थी भेटिएको यो पहिलो घटना भने होइन । गत वर्ष सुर्खेतमै प्रहरी जवानकै लिखित परीक्षामा एउटै केन्द्रबाट २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । यसअघि पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको परीक्षामा नक्कली परीक्षार्थी भेटिने गरेका थिए । सुरक्षा निकायमा भर्ना हुन लोक सेवा आयोगले लिने लिखित परीक्षा पास गर्नुपर्ने हुन्छ ।
प्रहरीका अनुसार कमजोर परीक्षार्थीले आर्थिक मिलेमतो गरेर नक्कली परीक्षार्थी पठाउने गरेका छन् । कोही आफन्तको र कसैले पैसा लिएर नै नक्कली परीक्षार्थी बन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कतिपयले भने साथीसंगीलाई पनि यस्तो काममा संलग्न गराउने गरेका छन् ।
प्रहरीमा भर्ना हुनका लागि लिइने परीक्षामध्येको एक लिखित परीक्षामा सहभागि भएका सात जना नक्कली परीक्षार्थीलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी नायव उपरीक्षक) रामप्रसाद घर्तीले बताए । बुधवार १ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको लिखित परीक्षामा पक्राउ पर्ने नक्कली परीक्षार्थीमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का याम पौडेल, सुर्खेतकै पञ्चपुरी नगरपालिका–२ का उत्तम विसी र सोही नगरपालिका–१ का रुद्रप्रसाद शर्मा रहेका छन् ।
त्यस्तै, दैलेखको भगवतीमाई गाउँपालिका–७ का तिलक विक, सोही ठाउँका दीपेन्द्र विक, गुराँस गाउँपालिका–२ का रामबहादुर कार्की र दैलेखकै चामुण्डाविन्द्रासैनी नगरपालिका–५ का रमेशप्रसाद न्यौपाने छन् । उनीहरू नक्कली परीक्षार्थी बनेर अर्कैको नाममा परीक्षामा सहभागी भएका थिए ।
ती नक्कली परीक्षार्थीले जाजरकोटको भेरी नगरपालिका–१० का धनबहादुर डाँगी, दैलेखको भगवतीमाई गाउँपालिका–७ का कमल विक, चक्रराज विक, गुराँस गाउँपालिका–२ का रणबहादुर रावल, दैलेखको नारायण नगरपालिका–७ का चन्द्रबहादुर राना, बर्दीयाको राजापुुर नगगरपालिका–१० का अर्जुन सुनार र सुर्खेतको पञ्चपुरी–२ का यज्ञ विसीको नामबाट परीक्षा दिइरहेका थिए ।
नक्कली परीक्षार्थीको रूपमा व्यवस्था मिलाइदिने एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका–२ का दीपक कँडेललाई नक्कली परीक्षार्थी मिलाउन संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
नक्कली परीक्षार्थी र परीक्षा दिन लगाउनेलाई के कारबाही हुने भन्नेबारे निश्चित कानुन नभएपनि दुवै पक्षले आयोगले लिने कुनै पनि परीक्षामा कम्तीमा तीन वर्षदेखि बढीमा पाँच वर्षसम्म सहभागी हुन पाउँदैनन् । यस्तो खालको गम्भीर किर्ते काम गर्नेलाई आयोगले परीक्षामा पाँच वर्षसम्म सहभागी नगराउन सक्ने लोक सेवा आयोग सुर्खेत कार्यालयका उपसचिव पूर्णमान श्रेष्ठले बताए । ‘विशेषगरी सेना प्रहरीका परीक्षामा नक्कली परीक्षार्थी भेटिने गरेका छन् । यस्ता परीक्षार्थीलाई कारबाही गर्ने आयोगसँग ठ्याक्कै कानुन बनिसकेको अवस्था छैन,’ श्रेष्ठले भने, ‘आयोगले लिने परीक्षामा भने निश्चित समयका लागि रोक लगाउने गरिएको छ ।’ उनका अनुसार परीक्षामा किर्ते काम गर्नेका लागि कानुन बनाउन आयोगले प्रस्ताव गरिसकेको छ ।
हाल यस्ता प्रकृतिका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने गरेको छ । नक्कली परीक्षार्थी र परीक्षा दिन लगाउने व्यक्तिलाई कसुरको मात्रा हेरी ३० हजार जरिवाना वा तीन वर्ष कैद र दुवै सजाय पनि हुनसक्ने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २६ मंसिर २०७७, शुक्रबार ०९:०३
साझा बिसौनी ।