पाँच औद्योगिक ग्राम बन्ने

कर्णाली प्रदेशमा नौ वटा औद्योगिक ग्राम बन्ने भएका छन् । संघीय सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार औद्योगिक ग्राम बन्ने भएका हुन् । हालसम्म सरकारले ५८ वटा औद्योगिक ग्राम घोषणा गरेको छ, जस अन्तर्गत कर्णालीका नौ वटा छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा ग्राम बन्नेछन् । यस्तै जाजरकोट शिवालय गाउँपालिका तथा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा पनि औद्योगिक ग्राम स्थापना हुने जनाइएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा ४५ र चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनासम्म १३ वटा गरी जम्मा ५८ वटा औद्योगिक ग्राम नेपाल सरकार तथा मन्त्रिपरिषद्बाट घोषणा भएको छ । घोषणा भएका ५८ मध्ये ४५ वटा उद्योग ग्रामका लागि ९२/९२ लाख हस्तान्तरण गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्यालले जानकारी दिए । ‘केही स्थानीय तहले निर्माणका काम सुरू गरेको जानकारी आएको छ,’ उनले भने ।

चालू आर्थिक वर्षमा घोषणा भएका १३ औद्योगिक ग्रामका लागि भने पैसा दिने तयारी भइरहेको छ । केन्द्र सरकारले पूर्वाधार बनाउन सघाए पनि ग्रामको सम्पूर्ण जिम्मेवारी स्थानीय तहको हुने उनले जानकारी दिए । ‘औद्योगिक ग्रामलाई प्राथमिकता दिने, उद्योगको सम्भावना, कसरी चलाउने भन्ने कुरा स्थानीय सरकारले हेर्छ’ उनले भने । कुन स्थानीय तहले औद्योगिक ग्रामको काम कहाँ पु¥याए भन्ने चाहिँ केन्द्रले निरन्तर अनुगमन गरिरहेको जनाइएको छ ।

प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने नेपाल सरकारको निर्णयअनुसार स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भइ निर्माण चरणमा रहेको मन्त्रालयले जानकारी दिएको छ । संघ, प्रदेश र स्थानीय तीनै तहको सहभागितामा औद्योगिक ग्राम बन्नेछ । त्यसका लागि केन्द्र सरकारले प्रत्येक स्थानीय तहलाई ९२ लाख रूपैयाँसम्म बजेट दिने छ । उक्त रकम स्थानीय तहले औद्योगिक ग्रामको डीपीआरपछि भौतिक पूर्वाधार बनाउन खर्च गर्नेछन् । डिपिआर भने स्थानीय तह आफैंले बनाउन पर्नेछ ।

प्रकाशित मितिः   २५ मंसिर २०७७, बिहीबार ११:३१