बिमा भुक्तानीमा झमेला

विश्वभर एकाएक कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलियो । ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाए । कोरोनाले विकराल रूप लिँदै गर्दा यसबाट बच्न अनेक सुरक्षा सतर्कता अपनाइयो । सँगसँगै संक्रमितहरूको उपचारमा आर्थिक समस्या नहोस् भन्ने ध्येयका साथ कोरोना संक्रमित भएका उपचारका लागि बिमा गर्न थालियो । जस अन्तर्गतले धेरै नागरिकले बिमा गराए । बिमाको अर्थ हो, आर्थिक सुरक्षा । किनभने बिमा नै यस्तो साधन हो, जसले बिमित वा उसको परिवारको आर्थिक सुरक्षाको माध्यमका रूपमा काम गरेको हुन्छ । त्यसकारण पनि यसप्रति आकर्षण बढ्दै गएको छ । कोरोना बिमा गर्नेहरूको संख्या पनि ठूलो छ । तर बिमा रकम भुक्तानीमा भने नागरिकले सास्ती भोग्नुपरिरहेको छ ।

कोरोना संक्रमण भइहाले उपचार तथा चेकजाँचमा लाग्ने खर्च जुटाउन सहज हुने आशमा नागरिकले बिमा गरेका हुन् । तर बिमा भुक्तानी प्रक्रिया झण्झटिलो छ । नागरिकले सजिलै भुक्तानी पाउँदैनन् । बिमा गरेपछि कोरोना संक्रमित भएको व्यक्तिहरूले धमाधम भुक्तानीका लागि बिमा कम्पनीमा कागजात बुझाए । लामो समयदेखि बारम्बार धाए पनि बिमावापतको रकम पाउन नसक्नेको संख्या धेरै छ । ‘कोरोना चेकचाँज र उपचारमा थुप्रै रकम खर्च भयो । ऋण सापट गरेर तिरियो । आवश्यक पर्ने सबै कागजात कम्पनीमा बुझाएको छु । अहिलेसम्म भुक्तानी पाएको छैन,’ धेरैले यस्तै गुनासो गर्ने गरेका छन् । मापदण्ड पुगेका बिमितले महिनौंसम्म पनि दाबी भुक्तानी नपाएको गुनासो गरेका छन् । बिमा रकम भुक्तानीमा सर्वसाधारणलाई मात्र नभइ कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने कर्मचारीलाई पनि उत्तिकै सास्ती खेप्नु परेको छ ।

देशभर विभिन्न २० वटा कम्पनीले कोरोना बिमा गर्दै आएका छन् । बिमा गरेका व्यक्तिलाई कोरोना संक्रमण देखिए कम्पनीले एक लाख रूपैयाँ भुक्तानी दिनुपर्ने व्यवस्था छ । कर्णालीमा कतिले कोरोना बिमा गरेका छन् भन्ने एकिन तथ्याङ्क नभए पनि बिमा गरेका अधिकांशले भुक्तानी भने पाएका छैनन् । कोरोना बिमा मापदण्ड २०७७ का अनुसार सबै कागजातसहित बिमा भुक्तानी दावी पेश गरेको सात दिनभित्र भुक्तानी दिनुपर्ने व्यवस्था छ । तर कम्पनीहरूले भुक्तानीका लागि कागजात पेश गरेको दुई महिनासम्म पनि भुक्तानी नदिएको पाइएकोे हो । सरकारले पटक–पटक समय नै तोकेर बिमा रकम भुक्तानी गर्न निर्देशन दिए पनि बिमा कम्पनीले अटेर गरिरहेका हुन् । सुरूमा कागजपत्र नपुगेर र पछि बिमा समितिमा धेरै फाइलहरू भएकाले बिमा समितिले स्वीकृत नगर्दा ढिलाइ हुन गएको कम्पनीहरूको भनाइ छ । भुक्तानीमा ढिलाइ हुँदा अधिकांशले बिमावापतको रकम पाउन नसकेका हुन् । बिमा भुक्तानीको प्रक्रिया नै लामो छ । भुक्तानीका लागि आवश्यक कागजात सम्बन्धित कम्पनीले संकलन गरेर राष्ट्रिय बिमा समितिमा पठाउने गरेको छ । कागजात हेरेर समितिले स्वीकृत गरेपछि मात्र भुक्तानी हुन्छ । तर समितिबाट स्वीकृत भएर आउँदा ढिला हुने गरेको छ । यो ढिलासुस्ती अन्त्य गरेर नागरिक सहज रूपमा बिमा भुक्तानी पाउने व्यवस्था गर्न जरुरी छ ।

प्रकाशित मितिः   २५ मंसिर २०७७, बिहीबार ११:३०