बढ्दैछन् कुष्ठरोगी
नेपालमा कुष्ठरोग निवारणको घोषणा गरेको ११ वर्ष बितिसक्दा कुष्ठरोगीको संख्या घट्नुको साटो बढ्दै गएको छ । कर्णाली प्रदेशमा मात्रै हरेक वर्ष ६० देखि ७० जना कुष्ठरोगका बिरामी फेला पर्ने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई २०१० मा कुष्ठरोग निवारण भएको मुलुक घोषणा गरेको थियो । कुष्ठरोगका बिरामीको संख्यामा भने अझै कमी आएको छैन । कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र कालीकोटमा कुष्ठरोगका बिरामीको संख्या धेरै छ । आइएनएफ सुर्खेतले दिएको जानकारी अनुसार गत वर्ष साइनिङ् अस्पतालमा आएर परीक्षण गरेकामध्ये ४९ जनामा कुष्ठरोगको संक्रमण देखिएको थियो ।
कर्णालीमा प्रत्येक वर्ष भेटिन्छन् ६० देखि ७० कुष्ठरोगका बिरामी
अस्पतालका व्यवस्थापक मंगलबहादुर थारुले गएको आर्थिक वर्षमा सुर्खेतमा १४, जाजरकोटमा १३, दैलेखमा नौ, कालीकोटमा ६, सल्यानमा दुई, जुम्लाका एक र अन्य प्रदेशका चार जनामा कुष्ठरोग देखिएको बताए । कोरोनाका कारण जाँच तथा सेवा लिन आउनेको संख्या कम भएकाले गत वर्ष नयाँ बिरामी पनि कमै भेटिएको भन्दै उनले प्रदेशमा सरदर ६० देखि ७० जनामा प्रत्येक वर्ष कुष्ठरोग देखिने गरेको जनाए ।
चालु आर्थिक वर्षका चार महिनामा १४ जनामा कुष्ठरोग पुष्टि भइसकेको छ । अस्पतालमा सेवा लिन आएका मध्ये ३५ प्रतिशतमा कुष्ठरोग देखिने गरेको छ । गत वर्षको अन्तिम चौमासिकमा लकडाउनका कारण नयाँ थपिने रोगीको संख्या कम देखिए पनि यो वर्ष संख्या बढेको आइएनएफले जनाएको छ । ‘गत वर्ष पहिलो चौमासिकमा साइनिङ् अस्पतालमा जाँच गर्न आएकामध्ये तीन जनामा कुष्ठरोग पुष्टि भएको थियो । विगतका केही वर्षयता कुष्ठरोगीको संख्या बढ्दोक्रममा रहेको तथ्याङ्कले देखाएको छ ।
हाल नेपाल पनि विश्वमा धेरै कुष्ठरोगी भएका व्यक्तिहरू भएको देशको सूचिमा छ । नेपालमा वर्षमा तीन हजार जनामा कृष्ठरोग देखिने गरेको छ । कर्णालीमा दश हजारमा एक जनाभन्दा कम व्यक्तिमा कुष्ठरोग देखिने गरेको छ । रोग लुकाउने र समयमै उपचारका लागि अस्पताल नआउँने चलनका कारण बिरामीलाई थप समस्या हुने गरेको व्यवस्थापक थारू बताउँछन् ।
प्रकाशित मितिः २३ मंसिर २०७७, मंगलवार ०८:३१
साझा बिसौनी ।