स्थानीय तहमा आधारभूत अस्पताल

हचुवामा शिलान्यास

स्थानीय तहमा आधारभूत अस्पताल


विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विनै स्थानीय तहमा अस्पतालहरूको शिलान्यास गरिएको छ । मंसिर १५ गते देशैभरका तीन सय ९६ स्थानमा एकैसाथ अस्पताल भवन निर्माणको शिलान्यास गरिएको थियो । कर्णाली प्रदेशका ४२ स्थानीय तहमा समेत अस्पतालको शिलान्यास भइसकेको छ । तर, ती अस्पताल कस्ता बन्ने भन्नेबारे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने बनेको छैन । पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पतालहरूको शिलान्यास गर्न संघीय सरकारका मन्त्री, राज्यमन्त्री, मुख्यमन्त्री र प्रदेश तथा प्रतिनिधिसभाका सांसदहरू स्थानीय तहमा पुगेका थिए ।

सुर्खेतको चौकुने गाउँपालिकामा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले मंसिर १३ गते नै १५ शैयाको अस्पताल भवनको शिलान्यास गरे । पालिकाको वडा नं. ४ बिजौरामा भवन निर्माणको शिलान्यास गरिएको हो । उक्त अस्पतालको समेत विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको छैन । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकेन्द्रबहादुर बुढाले डीपीआर निर्माणका लागि काम अगाडि बढाउने तयारी मात्र भएको जनाए । ‘डीपीआर बनाएर निर्माण कार्यको शिलान्यास गर्दा सहज हुन्छ,’ उनले भने ‘तर सबै स्थानीय तहमा यस्तै गरिएको छ । कसैले पनि डीपीआर गरेका छैनन् ।’

दैलेखको गुराँस गाउँपालिका–४ मा प्रतिनिधिसभा सांसद पार्वती बिसुन्केले मंसिर १५ गते १५ शैयाको अस्पताल निर्माणको शिलान्यास गरिन् । उक्त अस्पतालको पनि डीपीआरविनै शिलान्यास भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराम चौलागाईंले शिलान्यास भएकै जमिनमा पछि भवन निर्माण गर्ने तयारी भएकोले डीपीआर नभए पनि फरक नपर्ने जिकिर गरे । ‘सबै प्रक्रिया पूरा गरेरै काम अगाडि बढ्छ,’ उनले भन्छन्, ‘हामी डीपीआर निर्माणको अन्तिम तयारीमा छौं ।’

यस्तै, आठबिसकोट नगरपालिका रुकुम–पश्चिममा १५ शैयाको अस्पताल निर्माणको नगर प्रमुख गोरखबहादुर केसीले शिलान्यास गरेका छन् । नगरको वडा नं. ९ मा अस्पताल निर्माणका लागि शिलान्यास भए पनि डीपीआर बनाइएको छैन । इन्जिनियर राजेश गौतमले सबै स्थानीय तहमा डीपीआरविनै शिलान्यास गरिएको सुनाए । ‘आठबिसकोटमा पहिले नै अस्पताल निर्माणका लागि काम हुँदैछ,’ उनले भने, ‘यसैलाई १५ शैयाको निर्माण गर्नको लागि अर्को डीपीआर बनाउने तयारी गरेका छौं ।’

सामान्यतया कुनै पनि भौतिक संरचना निर्माणको सुरुवात गर्नुपूर्व कुन स्थानमा, कति लागतमा, कस्तो खालको कार्य गर्ने र कहिलेसम्म गरिसक्ने जस्ता सम्पूर्ण प्राविधिक विधि पुरा गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्ने गरिन्छ । तर नेपाल सरकारले देशैभरका स्थानीय तहमा आधारभूत अस्पतालहरू निर्माण गर्ने र स्तरोन्नति गर्ने गरी शिलान्यास गरे पनि डीपीआर भने निर्माण गरिएको छैन । डीपीआर गरेकै योजनाहरू अलपत्र परेको बेला हचुवाका भरमा अस्पतालहरूको शिलान्यास गरिएको हो ।

गत कार्तिक २५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर ५, १० र १५ शैयाको अस्पताल निर्माण गर्न सम्बन्धित स्थानीय तहलाई पत्र पठाइसकेको र अर्थ मन्त्रालयमार्फत जग्गा प्राप्तिका लागि रकम समेत पठाइसकेको भए पनि स्थानीय तहले डीपीआर तयार नगरेका हुन् । कार्तिक २८ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवस्तरीय बैठकले देशभरका तीन सय ९६ वटा स्थानमा एकैसाथ अस्पताल भवन शिलान्यास गर्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो । सोही बैठकको निर्णय बमोजिम कर्णालीका ४२ वटा पालिकामध्ये अधिकांशमा अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ । शिलान्यास गरिएका कुनै पनि अस्पतालको डीपीआर गरिएको छैन ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले डीपीआरको काम सम्बन्धित स्थानीय तहले गर्ने बताए । ‘मापदण्ड स्वास्थ्य मन्त्रालयले तोकेको छ,’ उनले भने, ‘तर माटो परीक्षणदेखि सबै प्रक्रिया भने स्थानीय तहले नै पूरा गर्छन् ।’ उनले हालका जनप्रतिनिधिको कार्यकालमा अस्पताल भवन निर्माणको काम सकिने दाबी गरे । मन्त्री रावत भन्छन्, ‘डीपीआर नगरी शिलान्यास गर्दा पनि केही बिग्रदैन । हामीलाई जनतालाई सेवा दिन हतार छ । त्यसैले शिलान्यास गरिहाल्यौँ ।’ कर्णालीमा ४२ वटा आधारभूत अस्पताल निर्माण तथा स्तरोन्नतिका लागि संघीय सरकारले पहिलो चरणमा ५२ करोड ७६ लाख २० हजार बजेट विनियोजन गरेको छ । पाँच शैयाका लागि ७० लाख, १० शैयाका लागि ८५ लाख र १५ शैयाका अस्पतालका लागि एक करोड बजेट सम्बन्धित पालिकामा पठाइएको छ ।

यी हुन् अस्पताल बन्ने पालिका

कर्णालीका ४२ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुँदैछन् । प्रदेशका दशवटै जिल्लाका ४२ वटा स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो ।

रुकुम–पश्चिममा तीन वटा स्थानीय तह आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा १५÷१५ शैयाको अस्पताल निर्माण गरिने भएको छ । जसको लागि संघीय सरकारले प्रत्येक अस्पताललाई एक/एक करोड गरी तीन करोड रकम विनियोजित गरेको छ ।

त्यस्तै, सल्यानका आठवटा तह वनगाड कुपिण्डे नगरपालिका, कपुरकोट गाउँपालिकामा, कालिमाटी गाउँपालिका, कुमाख गाउँपालिका, सिद्धकुमाख गाउँपालिका, दार्मा गाउँपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा अस्पताल निर्माणका लागि जम्मा नौ करोड ७८ लाख ३० हजार बजेट विनियोजन गरिएको छ । सल्यानका दुई वटा स्थानीय तह सिद्धकुमाख गाउँपालिका र बागचौर नगरपालिकामा भने दश÷दश शैयाको अस्पताल निर्माण गरेपनि अन्य स्थानीय तहमा भने १५÷१५ शैयाको अस्पताल निर्माण गरिनेछ ।

त्यस्तै, डोल्पाका तीन वटा पालिका त्रिपुरासुन्दरी नगरपालिकामा १५ शैया, डोल्पोबुद्ध गाउँपालिका दश शैया र मुड्केचुला गाउँपालिकामा पाँच शैयाको अस्पताल निर्माण गर्न लागिएको छ । जसका लागि सरकारले दुई करोड २८ लाख बजेट विनियोजन गरेको छ । जुम्लाको तिला गाउँपालिकामा १० र कनकासुन्दरी गाउँपालिकामा १५ शैयाको अस्पतालका लागि सरकारले चार करोड आठ लाख ३० हजार रूपैयाँ बजेट विनियोजन गरेको छ ।

मुगुका दुईवटा स्थानीय तह मुगुमकार्मारोङ्ग गाउँपालिका र सोरु गाउँपालिकामा १०÷१० शैयाका अस्पताल बनाइनेछ । यी अस्पताल निर्माणका लागि एक करोड ७० लाख बजेट उपलब्ध हुनेछ । हुम्लाका चार वटा स्थानीय तह अदानुचुली गाउँपालिका, नाम्खा गाउँपालिका, सर्केगाड गाउँपालिका र ताँजाकोट गाउँपालिका आधारभूत अस्पताल निर्माण हुने भएका छन् । जसका लागि सरकारले तीन करोड ८५ लाख रूपैयाँ विनियोजन गरेको छ ।
यस्तै, कालीकोटको रास्कोट नगरपालिकामा र नरहरिनाथ गाउँपालिकामा १५/१५ शैयाको अस्पताल निर्माणका लागि चार करोड २३ लाख ३० हजार बजेट दिइएको छ । जाजरकोटका चार वटा स्थानीय अस्पताल बन्दै छन् । छेडागाड नगरपालिका, नलगाड नगरपालिका र बारेकोट नगरपालिकामा १५/१५ शैया र शिवालय गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण हुने भएको हो । ती अस्पताल निर्माणका लागि तीन करोड ८५ लाख बजेट विनियोजन गरिएको छ ।

यसैबीच, दैलेखका सात वटा स्थानीय तह नौमूले गाउँपालिका, चामुण्डा–विन्द्रासैनी नगरपालिका, गुराँस गाउँपालिका, आठबीस नगरपालिका, ठाटीकाँध गाउँपालिका र भैरबी गाउँपालिकामा १५/१५ र महाबु गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण हुने भएको छ । नौ करोड ९६ लाख ३० हजार लागतमा अस्पताल बनाइने छ ।

सुर्खेतका सातवटा स्थानीय तह पञ्चपुरी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, चिङ्गाड गाउँपालिका, चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, सिम्ता गाउँपालिका र लेकवेशी नगरपालिकामा अस्पताल निर्माण गरिदैँछ । यहाँ आधारभूत अस्पताल निर्माणका लागि सरकारले १० करोड दुई लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मितिः   २३ मंसिर २०७७, मंगलवार ०८:३५