प्रहरीलाई दश करोड बजेट
कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीलाई झन्डै दश करोड बजेट उपलब्ध गराउने भएको छ । भौतिक संरचना निर्माणका लागि सरकारले प्रदेश प्रहरीलाई नौ करोड ९३ लाख रूपैयाँ दिने निर्णय गरेको हो । बिहीवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संरचना निर्माणका लागि उक्त रकम खर्च गर्न प्रहरीलाई अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता बिमला केसीले बताइन् ।
भवन निर्माण र पर्वतीय प्रहरी प्रतिष्ठान निर्माणको लागि तीन करोड ९३ लाख, प्रदेश प्रहरी संरचना निर्माणका लागि पाँच करोड र प्रहरी तालिम केन्द्र निर्माणका लागि एक करोड बजेट दिइएको हो । प्रहरीले बजेट खर्च गर्ने अख्तियारी पाएसँगै अब पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्माण हुने भएको छ । उच्च हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई तालिम दिने उद्देश्यले पर्वतीय प्रहरी प्रतिष्ठान निर्माण गर्न लागिएको हो । प्रतिष्ठानमार्फत उच्च हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई तालिम दिइनेछ ।
कर्णालीका अधिकांश प्रहरी चौकी भाडाको घरमा छन् । बजेट अभावका कारण सीमित स्रोतसाधनबाट सेवा प्रवाह गर्नुपरेको प्रहरीले बताउँदै आएको छ । भौतिक संरचनाको अभावमा प्रदेश प्रहरीका कतिपय युनिट अझैं पनि लुम्बिनी प्रदेशमा नै छन् । प्रदेश प्रहरी तालिम केन्द्र, दंगा नियन्त्रण गण र कुकुर शाखा तथा संघीय प्रहरी इकाई कार्यालय कर्णालीमा सारिएको छैन । यी कार्यालय अहिले पनि लुम्बिनी प्रदेशको नेपालगञ्जमै रहेका छन् ।
यस्तै, मन्त्रिपरिषद् बैठकले सडक दुर्घटना लगायतका घटनामा मृत्यु भएका मृतक २३ घरपरिवारलाई ४६ लाख राहत रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयलमार्फत उपलब्ध गराउने निर्णय गरेको छ । मृतकको एकीन गरी दोहोरो नपर्ने शर्तमा प्रशासन कार्यालयले राहत सुविधा उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने निर्णय भएको हो । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रस्तावित गरेको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बिहीवारको बैठकले गरेको सरकारका प्रवक्ता केसीले बताइन् ।
प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार ०९:००
साझा बिसौनी ।