मालपोतको सेवा आलोपालो

सेवाग्राहीको अत्यधिक चाप हुन थालेपछि मालपोत कार्यालय सुर्खेतले स्थानीय तहअनुसार सेवाग्राहीलाई आलोपालो सेवा दिन सुरू गरेको छ । कार्यालयले आइतवारदेखि स्थानीय तहअनुसार सेवा दिन थालेको छ । कोरोना संक्रमणको जोखिम र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै सेवा प्रवाहमा सुधार ल्याइएको हो ।

कार्यालयले आइतवारदेखि शुक्रवारसम्म सेवा प्रवाहको कार्यतालिका बनाइ सार्वजनिक गरेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये सात वटाका नागरिकहरूलाई छुट्टाछुट्टै समयमा सेवा दिने व्यवस्था मिलाइएको कार्यालय प्रमुख लक्ष्मी खत्रीले बताइन् ।

सेवा प्रवाह तालिका अनुसार आइतवार र सोमवार चौकुने गाउँपालिका, लेकवेशी नगरपालिका, पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका र चिङ्गाड गाउँपालिकाका नागरिकका जग्गा सम्बन्धी कामहरू हुनेछन् । त्यस्तै मंगलवार, बुधवार, बिहीवार र शुक्रवार वीरेन्द्रनगर नगरपालिकाका नागरिकहरूलाई सेवा प्रवाह गरिनेछ ।

सधैँजसो सेवाग्राहीको भिड लाग्ने मालपोतको सेवाप्रति पछिल्लो समय नागरिकका गुनासा पनि बढ्दै गएका छन् । समयमै सेवा लिन नसकिएको गुनासोपछि सेवा प्रवाहमा सुधार ल्याउन स्थानीय तहअनुसार समय निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   २२ मंसिर २०७७, सोमबार ०९:०१