स्काउटको प्रदेशस्तरीय तदर्थ समिति गठन

अन्तर्राष्ट्रिय स्वयमसेवी तथा सामाजिक संस्था स्काउटको प्रदेशस्तरीय तदर्थ समिति गठन गरिएको छ । आइतवार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच समितिका नवनियुक्त सदस्यहरूको दीक्षान्त एवम् पद तथा गोपनीयताको सपथ ग्रहण गरिएको हो ।

११ सदस्यीय कर्णाली प्रदेश तदर्थ समितिको संयोजकमा कमल बोहरा तथा सदस्यहरूमा गगन बोगटी, गणेश भण्डारी, विष्णुमाया शाही, गोपाल घिमिरे, धमेन्द्र केसी, सृजना परियार, तिलक खत्री, नरेश सिंह, ज्ञानसिंह लोहार र जगत रोका रहेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संरक्षकको भूमिका प्रदान गरिएको छ भने सामाजिक विकास मन्त्री दल रावललाई स्काउटको प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका सबै स्थानीय तहहरूमा स्काउट विस्तार गरिने बताए । समितिका संयोजक तथा सदस्यहरूको दीक्षान्त एवम् पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री शाहीले नकारात्मक चिन्तनलाई सिर्जनात्मक बनाउँदै पालिका र विद्यालयमा स्काउटको विस्तार गरिने बताएका हुन् । ‘स्वयमसेवी संस्था नेपाल स्काउटका गतिविधि मार्फत प्रदेशमा विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यमा योगदान पु¥याइने छ । स्काउट तालिमका लागि आगामी वर्षदेखि बजेट विनियोजन गर्दै स्यवमसेवी कार्यमा स्काउटसँग सहकार्य हुनेछ,’ उनले भने । युवाहरूको व्यक्तित्व विकासका लागि स्काउट अनिवार्य रहेको उनले औंल्याए ।

प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले नेपाल स्काउटको भूमिका सुरुदेखि नै महŒवपूर्ण रहेको चर्चा गर्दै प्रदेशभर विस्तारका लागि काम गरिने जनाए । उनले बालबालिका तथा युवालाई स्काउट मार्फत सहभागी गराइ उनीहरूको शारीरिक, मानसिक एवम् बौद्धिक विकास गरी अनुशासित तथा स्वावलम्बी बनाइने दाबी गरे । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले देश विकासमा युवा शक्ति परिचालन गराउन स्काउटलाई विस्तार गर्ने अभियानमा जुटेको बताए ।

स्काउटका राष्ट्रिय प्रशिक्षक कमल देउजाको अगुवाईमा ६ सदस्यीय कर्णाली प्रदेश सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिमा देउजासहित खगेश्वर गौतम, लालपुरा शाही, राजुशरण न्यौपाने, नैनसिंह खत्री र रूपेश भण्डारी रहेका छन् । स्वयमसेवी संस्था स्काउटको गतिविधि नेपालमा वि.सं. २००९ सालबाट सुरू भएको हो । २०५० सालमा नेपाल स्काउट ऐन आएपछि मात्र कानुनी रूपमा निर्देशित भएर गतिविधि सुरू भएका थिए । विश्वका एक सय ८६ मुलुकमा स्काउटका संगठन छन् ।

प्रकाशित मितिः   २२ मंसिर २०७७, सोमबार ०८:५९