जिल्ला अनुगमनमा लेखा समिति

कर्णाली प्रदेश सभाको सार्वजनिक लेखा समिति नागरिकका गुनासा सुन्न जिल्ला जाने भएको छ । समितिको आइतवारको बैठकले विभिन्न जिल्लामा पुगि नागरिकसँग विकास निर्माणमा आर्थिक पारदर्शिता भए/नभएकोबारे अन्तरक्रिया गर्ने निर्णय गरेको हो । आगामी २५ गते रुकुम–पश्चिममा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको समितिले जनाएको छ ।

जिल्लाका विकास कार्यालय, कार्यालय प्रमुखको कार्यप्रगति रिपोर्टसहित राजनीतिक दलका प्रतिनिधि, नागरिक संघ–संस्थाका अगुवा तथा स्थानीय तहका जनप्रतिनिधिसँग समितिले अन्तरक्रिया गर्नेछ । विकास निर्माणका गतिविधिमा निगरानी गर्न तथा पारदर्शिताका लागि उक्त कार्यक्रमको आयोजना गर्न लागेको सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले बताए । ‘कतिपयलाई आर्थिक गतिविधिको निगरानी गर्ने समिति छ भन्ने पनि जानकारी छैन,’ उनले भने, ‘लेखा समितिको काम, कर्तव्यको बारेमा नागरिकलाई जानकारी गराउन समेत हामी जिल्ला–जिल्ला जाँदै छौँ ।’

समितिले जिल्लामा पुगेर कार्यालयका प्रमुखलाई चालु आर्थिक वर्षको कार्यप्रगतिसहित कार्यक्रममा उपस्थित गराउने तयारी गरेको छ । नागरिकका गुनासाका आधारमा समितिले आयोजनाहरूको अनुगमन समेत गर्नेछ । आइतवार बसेको समितिको बैठकले प्रदेशका सबै मन्त्रालयहरूलाई चालु आर्थिक वर्षको यो अवधिको कार्यप्रगति रिपोर्ट पनि माग गरेको छ । सामाजिक विकास मन्त्रालयलाई कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा भएको खर्चको विवरणसमेत माग गरेको समितिका अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मितिः   २२ मंसिर २०७७, सोमबार ०८:५७