विवरण संकलन सुरु

जिल्ला प्रशासन कार्यालय सुर्खेतले राष्ट्रिय परिचय–पत्र वितरणका लागि विवरण संकलन सुरू गरेको छ । नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको वायोमेट्रिक सुविधायुक्त परिचय–पत्र वितरणका लागि आइतवारदेखि काम थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राष्ट्रिय पहिचानसहितको परिचय–पत्रमा पहिलो नाम समावेश गरेर विवरण संकलनको शुभारम्भ गरेका हुन् । विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण, व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने गरी सरकारले यो सेवाको सुरूवात गरेको प्रजिअ रेग्मीले बताए । राष्ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी परिचय–पत्रको सुर्खेतमा पहिलो पटक बाँड्न लागिएको हो । यसअघि देशका विभिन्न जिल्लामा पत्र वितरण गरिसकिएको छ ।

राष्ट्रिय परिचय–पत्रले जन्म, मृत्यु, बसाइसराइँ, विवाह, सम्बन्ध विच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापनलगायत पञ्जीकरण सम्बन्धी काम गर्नमा सहज हुने अपेक्षा गरिएको छ । सरकारबाट नागरिकहरूलाई प्रदान गर्ने सेवा सुविधाहरूलाई राष्ट्रिय परिचय–पत्र प्रणालीमा आवद्ध गर्नुका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेखलाई नीति र योजना निर्माणमा प्रयोग गर्न सकिने सरकारी अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मितिः   २२ मंसिर २०७७, सोमबार ०८:५६