कोरोना प्रभावित पर्यटन

कोरोना महामारीले सबै क्षेत्र प्रभावित बने । धेरै प्रभावित हुनेमध्येको एक हो, पर्यटन । पर्यटन उद्योग व्यक्तिमा निर्भर हुन्छ । मानिसहरूको आवत–जावत र घुमघाममा आधारित हुन्छ । जति धेरै मानिसहरूको आवागमन हुन्छ त्यत्ति नै पर्यटन व्यवसाय फस्टाउँछ । तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयसम्म त्यही आवागमन ठप्प रह्यो । कतिसम्म भने व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम गर्नुपर्ने बाध्यतात्मक परिस्थितिबाट गुज्रिनुप¥यो । भिडभाड गर्न नपाइने भयो । समूहमा हिँड्डूल गर्न रोक लाग्यो । केही समय सरकारले नै लकडाउन गरेर अत्यावश्यक कामका लागि बाहेकको अवस्थामा नागरिकलाई घरबाट बाहिर निस्कन समेत रोक लगाइयो । सबैखाले सार्वजनिक यातायात ठप्प भयो । होटल, रेष्टुरेण्ट लगायतका क्षेत्र पनि बन्द नै रहे । यी यावत कारणले केही महिना पर्यटन उद्योग पनि ठप्प हुनपुग्यो ।

अहिले पनि कोरोना कहर कायमै छ । जोखिम घटेको छैन । संक्रमण बढिरहेकै छ । तर अन्य विभिन्न क्षेत्रहरूजस्तै पर्यटन क्षेत्र पनि विस्तारै जुर्मुराउन थालेको छ । पर्यटकीय स्थलहरूमा रौनक बढेको छ । मानिसहरू सामान्य अवस्थामा फर्किदैछन् । पहिलेजस्तै जीवनशैलीमा फर्किन थालेका छन् । घुमघामका योजना बनाएर हिँड्न थालेका छन् । जसका कारण पर्यटन क्षेत्र आफ्नै लयमा फर्किन थालेका संकेत देखिन्छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा पछिल्लो समय देखिन थालेको दृष्यले पनि यही संकेत गरेको छ । अहिले बुलबुलेमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । स्थानीय हुन वा केही दिनका लागि वीरेन्द्रनगर आउनेहरूको प्रमुख पर्यटकीय गन्तव्य बुलबुले नै हो । यहाँ आउने पर्यटक काँक्रेविहार घुम्न र देउतीबज्यै मन्दिर दर्शन गर्न पनि छुटाउँदैनन् । यी तीनवटै प्राकृतिक, धार्मिक र पुरातत्व क्षेत्रमा दैनिक पर्यटकको भिड लाग्ने गर्छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि केही महिना सुस्ताएको यहाँको पर्यटन पुनः जुर्मुराउन थालेको छ । पहिले जसरी नै मानिसहरू पर्यटकीय क्षेत्रहरूमा भिड लाग्न थालेका हुन् । मंसिर लागेयता नजिकका पर्यटकीय क्षेत्रमा घुम्न जानेको भिड निकै बढेको हो । प्रमुख पर्यटकीय स्थानमा पहिलेभन्दा पर्यटकको संख्या निकै बढेको छ । लकडाउनका बेला सुनसान रहेका पर्यटकीय क्षेत्रमा पछिल्लो समय चहलपहल छ । खासगरी बिदाको दिन यी स्थानमा आन्तरिक पर्यटकको अत्याधिक चाप रहन्छ । कोरोना संक्रमणको त्रासले बाह्य पर्यटक भने निकै कम आउने गरेका छन् । पर्यटकीय क्षेत्रमा भिडभाड बढेको छ । जहाँ स्वास्थ्य सावधानी भने अपनाइएको पाइँदैन । दैनिक सैयौं पर्यटक घुम्न जाने स्थानमा भिडभाडका कारण कोरोना संक्रमणको जोखिम भने उच्च छ । भौतिक दूरी, मास्क तथा सेनिटाइजरको प्रयोगविना पर्यटकहरू निर्बाध रूपमा घुमफिर गर्दा संक्रमणको जोखिम बढेको हो । यसतर्फ भने ध्यान दिनुपर्ने हुन्छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी अपरिहार्य छ ।

प्रकाशित मितिः   २२ मंसिर २०७७, सोमबार ०८:५४