सक्रिय संक्रमित पाँच सय बढी

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) का सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शनिवासम्म प्रदेशमा पाँच सय ३२ कोरोनाका ‘एक्टिभ केस’ छन् । अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ हजार नौ सय ८३ पुगेको छ । त्यसमध्ये ६ हजार चार सय ५१ जना संक्रमणमुक्त भइसकेका छन् ।

शनिवार कर्णालीमा १२ जना नयाँ संक्रमित थपिएका छन् । एक सय ३१ जनामा कोरोना परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो । शनिवार नै २५ जना संक्रमणमुक्त भएको महाशाखाले जनाएको छ । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले सुर्खेतका २१, दैलेखका दुई र जुम्ला तथा रुकुम–पश्चिमका एक÷एक जना संक्रमणमुक्त भएको बताए ।

प्रदेशमा हालसम्म ९३ हजार तीन सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो समय परीक्षण सुस्त भए पनि जोखिम भने बढ्दो छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणका कारण १९ जनाको ज्यान गएको छ ।

यस्तै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या करिब १५ हजार छ । शनिवार दुई हजार दुई सय ६ जना संक्रमणमुक्त भएसँगै सक्रिय संक्रमितको संख्या १४ हजार दुई सय ५५ रहेको हो । अहिलेसम्म नेपालमा दुई लाख २४ हजार ५३ जना कोरोनाबाट निको भइसकेका छन् । नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ३९ हजार आठ सय ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना देखिएका एक हजार पाँच सय ६७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   २१ मंसिर २०७७, आईतवार ०९:००