जनहितकारीको साधारणसभा

जनहितकारी बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको २२औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीको समयमा प्रविधिको प्रयोग गरी साधारणसभा गरिएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सबै सदस्यहरू एकै ठाउँमा भेला भएर साधारणसभा सम्पन्न गर्ने अवस्था नहुने भएपछि प्रविधिको उच्चतम प्रयोग गरिएको संस्थाका अध्यक्ष हरिहरनाथ योगीले जानकारी दिए । साधारणसभामा संस्थाका अध्यक्ष योगीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा उनले कोरोना महामारी, जनहितकारीको जिम्मेवारी र एकीकरणको अभियानका बारेमा उल्लेख गरेका छन् ।

यसैगरी संस्थाका कोषाध्यक्ष नवराज कँडेलले आर्थिक वर्ष २०७६/०७७ को वास्तविक आय–व्यय विवरण तथा आव २०७७/०७८ को प्रस्तावित आय–व्यय विवरणसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उक्त प्रतिवेदन अनुसार २०७६/०७७ मा शेयर पूँजीतर्फ चार करोड ९१ लाख ५८ हजार दुई सय रूपैयाँ, जगेडाकोषतर्फ तीन करोड ८० हजार आठ सय २५ गरी कुल सम्पत्ति ५४ करोड १४ लाख १९ हजार एक सय दुई रूपैयाँ रहेको छ ।
यसैगरी संस्थाले ४१ करोड ३६ लाख ६५ हजार आठ सय ७५ रूपैयाँ ऋण लगानी गरेको छ भने ४१ करोड ४० लाख ३८ हजार ३८ रूपैयाँ कुल बचत गरेको कोषाध्यक्ष कँडेलले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले जुम प्रविधिमार्फत साधारण सभालाई सम्बोधन गर्दै सहकारीले प्रविधिलाई जोडेर छरिएर रहेका सदस्यहरूलाई सहकारी संस्थासँग जोड्ने प्रयास गरेकोमा खुशी व्यक्त गरे । यसैगरी कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले कोरोना भाइरसको समयमा समेत सहकारीले आफ्ना सदस्यहरूको हितमा रहेका काम गरेको प्रतिवेदन सुन्दा खुशी लागेको बताए । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, कार्यपालिकाका सदस्य तथा वडा नं. ४ का अध्यक्ष निलकण्ठ खनाल लगायतले सहकारीलाई शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मितिः   २१ मंसिर २०७७, आईतवार ०८:५९