अध्ययनबाट वञ्चित

कोरोना भाइरस (कोभिड–१९) को कहरका कारण लामो समयदेखि बन्द भएका शैक्षिक संस्था नियमित सञ्चालनमा आएका छन् । देशभरका अधिकांश शैक्षिक संस्थाहरू सञ्चालनमा आए पनि अपाङ्गता भएका विद्यार्थीहरूका लागि सञ्चालन गरिने विशेष कक्षा भने अझै पनि ठप्प छन् । कोरोना महामारीपछि विशेष तथा स्रोत कक्षा सञ्चालन नभएका हुन् । लामो समय बन्द रहेका विद्यालय पुनः सञ्चालन गर्न भने पनि कर्णाली प्रदेशमा अपाङ्गता भएका विद्यार्थीले पढ्ने विशेष कक्षा सुरू भएका छैनन् । कोरोना जोखिमकैबीच प्रदेशमा रहेका अन्य विद्यालयहरूले पठनपाठन थालेका छन् । विशेष तथा स्रोत कक्षामा पढ्ने विद्यार्थी भने कक्षा लिनबाट वञ्चित भएका हुन् ।

कर्णालीमा एक विशेष विद्यालयसहित ३९ विद्यालयमा दृष्टिविहीन र बहिरा विद्यार्थीका लागि अपाङ्गमैत्री स्रोत कक्षा सञ्चालन गरिँदै आएको छ । ती विद्यालयमा ६ सय ५२ जना विद्यार्थी अध्ययनरत छन् । अपाङ्गता भएका विद्यार्थीलाई स्वास्थ्य सुरक्षाका दृष्टिकोणले बढी जोखिम भएको भन्दै पठनपाठन सुरू गरिएको छैन । यस्ता विद्यालयमा आवासीय रूपमा बसेर पढ्दै आएका विद्यार्थी लकडाउन हुनुअघि नै आ–आफ्नो घर गएका थिए । उनीहरू अहिलेसम्म घरबाट फर्किएका छैनन् । प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार कर्णालीमा एक विशेष विद्यालयसहित ३९ विद्यालयमा दृष्टिविहीन र बहिरा विद्यार्थीको लागि अपाङ्गमैत्री स्रोत कक्षा सञ्चालन गरिने व्यवस्था छ । ती विभिन्न विद्यालयमा गरी ६ सय ५२ जना विद्यार्थी अध्ययनरत छन् । अपाङ्गता भएका विद्यार्थीलाई स्वास्थ्य सुरक्षाका दृष्टिकोणले बढी जोखिम भएको भन्दै स्रोत कक्षाहरू सञ्चालन गरिएको छैन । जोखिम निम्तिन सक्ने भएकाले विद्यालयहरूले कक्षा सञ्चालन नगरिएको जनाएका छन् ।

कोरोनाको कहर कायमै छ । जोखिम उस्तै छ । संक्रमितको संख्या थपिदै गएको छ । पछिल्लो समय बेवास्ता र हेलचक्य्राइँ बढेको छ । यस्तो अवस्थामा अपाङ्गता भएका विद्यार्थीलाई थप जोखिम होला भनेर शैक्षिक गतिविधि सुरू नगरेको सरोकारवालाहरूले बताएका छन् । तर यहाँनिर के भुल्नु हुँदैन भने अहिले सबैजसो क्षेत्र सामान्य अवस्थामा फर्किसकेको छ । जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाएर विद्यालयका शैक्षिक गतिविधि सञ्चालन भइरहेको समयमा अपाङ्गता भएका विद्यार्थीलाई मात्रै पढ्नबाट वञ्चित गर्नु हुँदैन । एउटा ठूलो चुनौती के छ भने विशेष कक्षा सञ्चालित विद्यालयहरूमा विद्यार्थीहरूलाई आवाससहित राख्नुपर्ने हुन्छ । जसका कारण जोखिम बढी हुने बताइएको छ । तर सबै विद्यार्थीको अनिवार्य आरटी–पीसीआर परीक्षण गरेर आवासीय कक्षामा सहभागी गराउन सकिने उपाय छँदैछ । यसतर्फ सम्बन्धितले ध्यान दिन जरुरी छ ।

अहिले सरकारले जोखिमको आकलन गरी सम्बन्धित पालिकालाई विद्यालय सञ्चालनको जिम्मेवारी दिएको छ । जसअनुसार विद्यालय नियमित गरिएका छन् । तर पालिकाहरू विशेष कक्षा सञ्चालनतर्फ भने गम्भिर बनेको देखिदँैन । अभिभावकहरूले पनि विद्यार्थीहरूलाई पठाउन असहज मानिरहेको विद्यालयहरूले जनाएका छन् । तर विभिन्न बहाना बनाएर बस्नुभन्दा पनि जोखिम न्यूनीकरण गरेर विशेष कक्षा सञ्चालनको वातावरण बनाउनु सम्बन्धित निकायको दायित्व हो ।

प्रकाशित मितिः   २१ मंसिर २०७७, आईतवार ०८:५८