‘न्यायमा सहज पहुँच भएन’

हिंसामुक्त समाज निर्माणका लागि सबै निकायले पहल गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । वीरेन्द्रनगरमा शुक्रवार आयोजित सिमान्तकृत वर्गको न्यायमा पहुँच कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । सिमान्तकृत समुदायको न्यायमा सहज पहुँच नहुञ्जेल हिंसा न्यूनीकरणमा चुनौती भइरहने उनीहरूको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. २ का वडा सदस्य सरिता चौधरीले कानुन बलियो भए पनि फितलो कार्यान्वयनले महिलाहरू घरेलुहिंसाको सिकार बन्दै आएको बताइन् । ‘जमिनमा महिलाको अधिकार छैन । ऐलानी जग्गा हुनेहरूको हकमा मालपोतमा रोक्का समेत गर्न नमिल्ने भएर सबै श्रीमान्ले बेचेका घटना छन्,’ उनले भनिन् । महिलाहरू हिंसाको सिकार हुनुको प्रमुख कारण आर्थिक कारण भएको समेत उनले औंल्याइन् । हिंसामुक्त समाज निर्माणका लागि सबै तहको सरकार जिम्मेवार हुनुपर्ने चौधरीले बताउँछिन् । हिंसाको अर्को कारण बालविवाह पनि भएको कार्यक्रमका सहभागीले बताए । वीरेन्द्रनगर–१ का वडा अध्यक्ष गंगाराम सुनारले वडामा बालविवाहका कारण जन्मदर्ता लगायतका कागजी प्रक्रियामा झन्झट हुने गरेको बताए । ‘बालविवाहले हिंसा समेत निम्त्याउँछ,’ उनले भने ‘अब हिंसामुक्त समाज निर्माणका लागि अभियानै सञ्चालन गर्नुपर्ने अवस्था आएको छ ।’

जातीय विभेदसमेत हिंसाको अर्को रूप भएको सहभागीहरूले बताएका थिए । हिंसामुक्त समाज निर्माणका लागि सबैले पहल गर्नुपर्नेमा उनीहरूको जोड थियो । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जसले सक्दैन उसको लागि न्याय हुनुपर्ने धारण राखिन् । उनले लैंङ्गिक हिंसा, बालविवाह, बहुविवाहजस्ता कुनै पनि क्रियाकलाप सभ्य समाज निर्माणका लागि बाधक हुने बताइन् । आवाज संस्थाका निर्देशक पवित्रा शाहीले महिलाहरू सम्पत्तिको अधिकारबाट वञ्चित हुँदा हिंसामा पर्ने गरेको पाइएको जनाइन् ।

प्रकाशित मितिः   २० मंसिर २०७७, शनिबार ०९:५४