विशेष कक्षा सञ्चालनमा कठिनाइ

देशभरका अधिकांश शैक्षिक संस्थाहरूले शैक्षिक गतिविधि सञ्चालन गरिरहेका बेला अपाङ्गता भएका विद्यार्थीहरूलाई भने पठनपाठनमा कठिनाइ भएको छ । कोरोना महामारीपछि विशेष तथा स्रोत कक्षा सञ्चालन नभएका हुन् । लामो समय बन्द रहेका विद्यालय पुनः सञ्चालन गर्न भने पनि कर्णाली प्रदेशमा अपाङ्गता भएका विद्यार्थीले पढ्ने विशेष कक्षा सुरू भएका छैनन् । कोरोना जोखिमकैबीच प्रदेशमा रहेका अन्य विद्यालयहरूले पठनपाठन थालेका छन् । विशेष तथा स्रोत कक्षामा पढ्ने विद्यार्थी भने कक्षा लिनबाट वञ्चित भएका हुन् ।

कर्णालीमा एक विशेष विद्यालयसहित ३९ विद्यालयमा दृष्टिविहीन र बहिरा विद्यार्थीका लागि अपा·मैत्री स्रोत कक्षा सञ्चालन गरिँदै आएको छ । ती विद्यालयमा ६ सय ५२ जना विद्यार्थी अध्ययनरत छन् । अपा·ता भएका विद्यार्थीलाई स्वास्थ्य सुुरक्षाका दृष्टिकोणले बढी जोखिम भएको भन्दै पठनपाठन सुरू गरिएको छैन ।

यस्ता विद्यालयमा आवासीय रूपमा बसेर पढ्दै आएका विद्यार्थी लकडाउन हुनुअघि नै आ–आफ्नो घर गएका थिए । उनीहरू अहिलेसम्म घरबाट फर्किएका छैनन् । प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार कर्णालीमा एक विशेष विद्यालयसहित ३९ विद्यालयमा दृष्टिविहीन र बहिरा विद्यार्थीको लागि अपाङ्गमैत्री स्रोत कक्षा सञ्चालन गरिने व्यवस्था छ । ती विभिन्न विद्यालयमा गरी ६ सय ५२ जना विद्यार्थी अध्ययनरत छन् । अपाङ्गता भएका विद्यार्थीलाई स्वास्थ्य सुरक्षाका दृष्टिकोणले बढी जोखिम भएको भन्दै स्रोत कक्षाहरू सञ्चालन गरिएको छैन ।

जोखिम निम्तिन सक्ने भएकाले विद्यालयहरूले कक्षा सञ्चालन नगरिएको जनाएका छन् । वीरेन्द्रनगरस्थित सिद्ध बहिरा स्कुल (विशेष विद्यालय) का प्रधानाध्यापक चन्द्रबहादुर कार्कीले विद्यालय सञ्चालन कसरी गर्ने भन्ने निर्णय लिन नसकेको बताए । ‘कोरोनाको जोखिम उस्तै छ । अपाङ्गता भएका विद्यार्थीलाई थप जोखिम होला भनेर शैक्षिक गतिविधि सुरू गरेका छैनौं,’ उनले भने । उक्त विद्यालयमा १६ जिल्लाका विद्यार्थीहरू विद्यालयकै होस्टेलमा बसेर पढ्दै आएका थिए । प्रधानाध्यापक कार्की भन्छन्, ‘सबै विद्यार्थीको पीसीआर परीक्षण गरेर ल्याउने विषयमा छलफल भए पनि टुङ्गो भने लागिसकेको छैन ।’ नगरपालिकाले विद्यालय सञ्चालनमा सहयोग नगरेका कारण थप चुनौति भएको उनी बताउँछन् । हाल सरकारले जोखिमको आकलन गरी सम्बन्धित पालिकालाई विद्यालय सञ्चालनको जिम्मेवारी दिएको छ । अभिभावकहरूले पनि विद्यार्थीहरूलाई पठाउन असहज मानिरहेको विद्यालयहरूले जनाएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका लेखाजोखा केन्द्र संयोजक विष्णु भट्टराईले पनि सुर्खेतमा रहेका एक विशेष विद्यालयसहित आठ वटा स्रोत कक्षा सञ्चालन गर्न नसकिएको जनाए । कोरोना संक्रमणको जोखिमकै कारण यस्ता विद्यालय सञ्चालन नभएको उनी बताउँछन् । अपाङ्गता भएका विद्यार्थीहरूलाई विशेष निगरानी गर्नुपर्ने भएकाले पनि तयारी गर्न समय लागेको उनको भनाइ छ ।

यस्तै, दैलेख, कालीकोट र सल्यानमा पनि श्रोत कक्षाहरू सञ्चालन हुन सकेका छैनन् । पठनपाठन सुरू गर्नेबारे टुङ्गो नलागेको त्यहाँस्थित शिक्षा विकास तथा समन्वय इकाईले जनाएका छन् । सल्यानमा अपाङ्गता भएका विद्यार्थीहरूका लागि तीन वटा विद्यालयमा स्रोत कक्षा सञ्चालन गर्ने गरिएको छ । तर कोरोना संक्रमण जोखिमकै डरले कक्षा सुरू नभएको लेखाजोखा केन्द्रका संयोजक कल्पना रेग्मीले बताइन् । उनले भनिन्, ‘सल्यान पनि कोरोना संक्रमणको उच्च जोखिममा छ । त्यसैले हामीले अन्य विद्यालय जसरी पठनपाठन सुरू गर्न सकिरहेका छैनौं ।’ विद्यालय बन्द रहँदा अन्य विद्यार्थीले वैकल्पिक माध्यमबाट सिकाइ अभ्यासहरू गर्न पाए पनि अपाङ्गता भएका विद्यार्थीहरू भने वञ्चित भएका थिए ।

प्रकाशित मितिः   २० मंसिर २०७७, शनिबार ०९:५३