हटारुका कथा
व्याकग्राउण्डमा उफरको धुनले पञ्चेबाजालाई ओझेल पारेको छ । चलिआएको चलन भनी बुढापाकाहरूले बाजा टोलीलाई बोलाउँछन् ।
केटाहरू उफ्री–उफ्री नाँच्नलाई डिजे ल्याउँछन् । विवाह, व्रतबन्ध, दान लगायतका उत्सवभरीमा यी दुइको लडाइँ चलिरहन्छ, भारत–पाकिस्तान जस्तै, लद्दाका चिनियाँ र भारतीय सेना जस्तै ।
उसो त पञ्चेबाज हार्ने स्थितिमा छ । दमाह, ट्याम्को, नरसिंह, सहनाई र झ्यालीमा, नरसिंह लगभग लोप हुने स्थितिमा छ । पञ्चेबाजा, चौबाजा वा त्रिबाजा भएपछि जित्नु पनि कसरी ?
जसरी हतियारले सुसज्जित अंग्रेजसँग नेपालले सकेन, त्यसरी आयतित डिजेसँग पञ्चेबाजाले सक्ने कुरा भएन । परिणाम नेपालले आधा भू–भाग गुमाउँदाको अवस्था जस्तै छ पञ्चेबाजाको हालत ।
ब्याकग्राउण्डको धुमिल बाजाको धुनाबाट प्रष्ट बोलिरहेको छ आइते, ‘हेलो गाइज !’
‘हाइ आइते’ बाँकी सबैको आवाज ।
‘के हो बे, बिहे गर्न लागिसि कि क्या हो, बाजा बजेजस्तो छ त ?’ रहिना हतारमै बोलीहाली ।
‘ह्याँ तल्लो घरमा बिहे छ क्या । रमाइलो छ । काँ मेरो बिहे हुनु । दुलही हुन योग्य मान्छे तँ यता छैनस् के को बिहे हुनु नी ?’ आइतेले मौका छोप्यो ।
‘ओइ आँखो नलगा भेटलास नि फेरि । रहिनासँग दोस्ती मेरो पक्का छ’ महाशंकरको धम्की आयो ।
‘पुग्यो पुग्यो केटाहरू मेरो लागि झगडा नगर । तिमीहरू भन्दा बक्राम नजिकै छ यार । म यसैसँग बिहे गरुला नी, गर्नै परे’ रहिनाले बक्रामलाई पनि विवादमा तानि ।
‘रामराम ! योसँग बिहे गर्नेले त दुख पाउँछ । म त यो झमेलामा फस्डिन । उटै जा छ्यापुल्ली’ बक्राम पन्छियो ।
‘ल ल भैगो अब । मजाक धेरै नगर । अनि आइते विवाह कत्तिको भइरहेका छन् तिम्रागाउँतिर ?’ पहिलो पटक झुमाले केटाकेटीहरूलाई नियन्त्रण गरि ।
‘यो पाली बिहे धेरै भए । रमाइलो पनि बढी भइरहेको छ । यतिबेला हाट जानेहरू कोरोनाले खासै जान पाएनन् । केटाहरू यतै छन् । एउटा बिहे हेर्न गएको केटा आफू पनि बिहे गर्नेगरी केटी लिएर आउँछ । मलाइलो छ दिदी ।’
‘वाओ, आइते ! यो बिहे–सिहेको छोडौं यार । हाट जानेको कथा सुनाउनु प¥यो । तँलाई केही थाहा छ कि नाइ ? नभए दिदी हुनुहुन्छ नी । दिदी प्लिज आज यही विषयमा छलफल गरौं न’ रहिनाले झुमालाई फकाई ।
‘ठीक छ । आज हाटकै विषयमा छलफल गरौं । पहिला भोट र हाटको कुरा उत्तिकै हुन्थ्यो । अहिले हाट जाने काम बढी हुन्छ । यो विषयमा आइतेलाई थाहा छ । उसको घरका धेरै सदस्यहरू हाट जान्थे । उसको घरमा जतिपनि जग्गा जमिन थपियो त्यो सबै हाटकै करामत हो । हाट जानलाई तयारी कस्तो गरिन्छ त्यो म भनुँला बरु ।’
‘ल ठिक छ मैले थाहा पाएजति म भनुँला । बाँकी दिदीले थपिदिनु पर्छ । सबै त मलाई पनि कहाँ थाहा छ र ? अब त विस्तारै घरका सदस्य पनि जान छोडिसके केरे ।’
‘अरे भूमिका नबाँध न । छिटो भन, आफूलाई यहाँ कस्तो आतुरी लागिसक्यो ।’
‘एकछिन धैर्य गर न । ऊ भन्न त लागेको छ’ महाशंकर मुख फोर्छ । बक्राम भने रहिनातिर हेर्दै आँखा ठूला बनाउँछ ।
‘ल सुनिहाल उसोभए । सुरुमा एउटा गीत भन्छु है ।’
श्रीमतीः दुल्लू दैलेखका वन, कति राम्रा भैंसा
बाली बैँस बिस्तरा खाली क्या चाहिँदा हुन पैंसा ।
श्रीमान्ः कठै प्यारी नभन त्यस्तो, मन मेरो रुँदोछ
बाली बैँस बिस्तरा खाली, कहिले काहीँ हुँदोछ ।
व्यापारका लागि घर छोडेर परदेशिनु बाध्यता हो । परदेश जाने र धन कमाएर ल्याउने इच्छा लोग्नेको हुन्छ । तर भर्खर बिहे गरेर घर आएकी श्रीमतीलाई यो सैह्य हुँदैन । तैपनि चित्त बुझाउनुपर्ने हुन्छ ।
घरपरिवार, प्राणप्रिय, जहान, बालबच्चा, आफन्त छोडेर परदेश जानु हालसम्म पनि बाध्यता छ । गीत त्यसैको प्रतिबिम्ब हो ।
अहिले जस्तो ठाउँ–ठाउँमा होटल नभएकोले प्राचीन समयमा हाट जाँदा बाटामा चाहिने खानपिनका चिज–वस्तु बोकेर हिँड्नु पर्ने, अर्काले पकाएको खाना नखाने, आफैले पकाउने, पाटामा रात बिताउने गरिन्थ्यो । जुन यहाँको बस्ती विकास भएदेखिकै चलन हो, सायद ।
खस राज्यको बर्खे राजधानी जुम्लाको सिंजा र हिउँदे राजधानी दैलेखको दुल्लू भएका कारण ६ महिना सिंजा र ६ महिना दूल्लुमा राजाहरूको बसोबास हुन्थ्यो । ‘सिंजा हाट, दुल्लू विराट’ भनेर त्यसै भनिएको होइन । त्यसैले यो क्षेत्रका मान्छे व्यापारमा संलग्न थिए र हाट गइरहन्थे ।
सिंजा र दुल्लू आंशिक रूपमा व्यापारिक केन्द्र नै थिए । राजा, शासक र अन्य मानिस सिंजाको केही चिज, वस्तु लिएर दुल्लू र दुल्लूको केही चिज, वस्तु लिएर सिंजामा व्यापार गर्दथे ।
खस राज्यको नजिक हाट लाग्ने भएकाले हालसम्म हाट सिंजा गाउँ जिवित छ । सिंजा राज्य शक्तिशाली भएकै कारण तिब्बत र भारतसँग पनि व्यापारिक सम्बन्ध रहेको इतिहास पाइन्छ ।
यही परम्परा प्राचीनकालदेखि वर्तमानसम्म पनि कर्णालीबासीको मियो बनेको छ । कर्णालीमा उत्पादन गरिएको राडी, पाखी, लिउ, फेरुवा, गलैंचा, बख्खु, घोडा, चमर, काठका थाम, राज बाज, कस्तुरीको विना, मह, सिलाजित, जडिबुटी आदि कर्णाली बाहिर लिने र लत्ताकपडा, घ्यू, नुन, तेल, खाद्यान्न, भाडाकुडा, श्रीखन्ड, सुन, चाँदी, मरमसला, शंख ,घंट, विविध रत्नहरू कर्णाली भिœयाउने काम परापूर्व कालदेखि चलिआएको छ ।
माथिका चिजबिचहरू बेचबिखन गर्ने र आफूलाई चाहिने किनेर हाट बजार गरि आउने नै हटारु परम्परा हो । कर्णालीमा गाडी आउनुभन्दा अगाडि यातायातको साधनको रूपमा भेडा, च्यांग्रा, घोडा, खच्चड, चौंरीको प्रयोग गरिन्थ्यो । कतिले आफ्नो पिठ्युँमा भारी बोकेर एक ठाउँको सामन अर्को ठाउँ पु¥याउने गर्दथे ।
८–१० दिन लगाएर सुर्खेत, नेपालगन्जसम्मको यात्रा हुन्थ्यो । यसरी कोही नेपालका विभिन्न भू–भागमा त कोही भारतका विभिन्न गल्ती र गल्छेडामा पुग्ने गर्छन् ।’ ‘अनि बाटोमा खाने कुरा के–के हुन्थे नि ?’ रहिनाले सोध्दा आइते झुमालाई केही भनिदिन आग्रह गर्छ ।
‘बाटोमा खाने सातु, ढेस्सु (फापरको रोटी), छ्कडी (पुरी), चामल, दाल, नुन, तेल महिलाहरूले कुटिरो (पोको) पारिदिन्छन् । पुग्ने र बोक्न सक्नेसम्म लिएर जाने हो । त्यसबाहेक घरबाट हिँड्ने बेलामा रित्ता भाँडाकुँडा भेटिदा अशुभ हुन्छ भन्ने मान्यता छ । सकेसम्म हिँड्ने बेला भरी गाग्री पानी वा टनाटन भरिएको भारी फेला पार्नुलाई राम्रो साइत मानिन्छ ।’ अरु आइते नै भन न ।
‘महाबु, हाउडी र भर्ता जस्ता ठूलाठूला लेक काटेर आउने जाने गरिन्थ्यो । हटारू घर फर्किदा सबै परिवारलाई लत्ता, कपडा, भाँडाकुँडा विविध सामग्री बोकी ल्याउँछन् ।
आउँदा कालीकोटको डिल्लीकोटमा सामान चोरी भएर पुर्खाहरूले धेरै दुःख पाएका कहानी प्रशस्तै छन् । त्यसैले डिल्लीकोट प्रति जुम्लीको दृष्टिकोण खासै राम्रो छैन ।
आउने बेला घरमा आफन्त, घरपरिवारले बाटो कुर्दै बसिरहेका हुन्थे । अहिलेको जस्तो संचारको र यातायातको विकास नभएकाले काग बासेपछि, कागले चारो बाँडेर खाएपछि, आगो भर्भर भएपछि हटारू आउने अनुमान गरिन्थ्यो ।
मंसिर लागेपछि हटारूको लस्कर उँधो लागेको र फागुन लागेपछि हटारूको लस्कर उभो लागेको देखिन्छ । डोको, झोला, कुम्ला बोकेका हटारू टाढैबाट सेता, सेता भारी बोकेर हसिलो अनुहार लगाएर आउँछन् । बालबालिकाहरू हटारूलाई स्वागत बाटोबाटोमा आउँछन् ।
‘हटारू आया टिटिरा बास्या, कालिका बाबा झ्यालखाना ठास्या’ भन्ने गीत गाउँदै एक हातले सुरुवाल थाम्दै अर्को हातले सिँगान पुच्दै उनीहरू हटारूलाई स्वागत गर्न पुग्छन् ।
पुस माघको चिसोले हात, खुट्टा पट्पटी फुटेका बालबालिकाको आफ्नो बा, दाइ, काका, ठूलो बा, नातेदार, आफन्त हाटबाट आउने र हा (मिठाई) ल्याउने, राम्रो कपडा, मीठो मसिनो खाना प्राप्ति गर्ने अभिलासा राख्छन् । यही चाहना बोकेर हिँडेका बालबालिकाहरू आफ्नो मान्छे आए खुसी हुँदै फर्किन्छ्न् त आफ्नो कोही नआए अरूले दिएको एउटा मिठाईमा चित्त बुझएर घर फर्किन्छन् ।
यो कार्य लगभग हिँउदको समय भरि नै चल्छ । मार्सी धानको बीउ भिजाउने चैत्र १२ गतेसम्म घरमा पुग्नुपर्छ । यदि हटारू आएन भने ‘चैता १२ गते घर नआयाको जुम्ली म¥यो भुनि जान्नु’ भन्ने र हटेरूको काज क्रिया समेत गर्ने प्रचलन थियो । अहिले संचारको विकास भएकाले यस्तो हुँदैन । मेरा कुरा यत्ति हुन । बाँकी केही भए दिदी भन्नुस् ।’
‘अरे वाह ! क्या गज्जबको स्टोरी टेलिङ है दिदी ? लभ यु यार आइते’ रहिना एक्साइटेड भइ ।
प्रकाशित मितिः २० मंसिर २०७७, शनिबार १०:०४
साझा बिसौनी ।