वनभोजमा स्वास्थ्यको छलफल

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ चैत ।
वनभोजलाई भेटघाट र रमाइलोको रूपमा उपयोग गर्ने गरिन्छ । तर मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतको स्वास्थ्य शिक्षा सङ्कायका विद्यार्थीहरूले पनि वनभोजलाई स्वास्थ्य प्रवद्र्धनबारे छलफल गर्ने जनचेतना जगाउने कार्यमा उपयोग गरेका छन् । 
विश्वविद्यालयको स्वास्थ्य शिक्षा सङ्कायले शनिवार गढीको गोठीकाँडामा वनभोज कार्यक्रमको आयोजना गरेको थियो । तर कार्यक्रममा खानपिन र रमाइलो मात्र गरिएन वनभोजमा प्रयोग हुने खाना र क्रियाकलापले मानव स्वास्थ्यमा पार्ने असरका बारेमा बृहत छलफल समेत गरिएको छ । कार्यक्रममा विश्व–विद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले वनभोजका नाममा गरिने तडक भडक र खानपिनमा वेवास्ता गर्दा त्यसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने भन्दै सचेत हुनुपर्ने बताए । स्वास्थ्य शिक्षा सङ्कायका विद्यार्थी गंगा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ल, स्वास्थ्य शिक्षा सङ्कायका उपप्राध्यापकहरू विक्रम खड्का लगायतको सहभागिता रहेको कोमल शाहीले जानकारी दिइन् । 
प्रकाशित मितिः   ७ चैत्र २०७२, आईतवार ११:२३