२३ करोड ३६ लाख बजेट माग
साझा बिसौनी संवाददाता
सुर्खेत, ६ चैत ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयको सुविधासम्पन्न केन्द्रीय कार्यालयको भवन निर्माणका लागि प्रस्ताव अघि बढाइएको छ । नयाँ भवन निर्माणका लागि सरकारसँग २३ करोड ३६ लाख ३८ हजार रूपैयाँ माग गरिएको छ । सरकारबाट बजेट स्वीकृत भएमा निर्माणको काम अघि बढाइने विश्वविद्यालयले जनाएको छ ।
भवन निर्माणको योजनासहितको बजेट प्रस्ताव सरकारलाई पेश गरिसकिएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । उनका अनुसार भवन वीरेन्द्रनगरस्थित कुइनेपानीमा निर्माण गरिनेछ । चालु आर्थिक वर्षदेखि नै काम अघि बढाउने गरी प्रस्ताव गरिएको र सरकारको निर्णयको पर्खाइमा विश्वविद्यालय रहेको उनले जनाए । सधैं भाडा तिरेर विश्वविद्यालय सञ्चालन गर्न नसकिने भन्दै आफ्नै भवन निर्माणका लागि विश्वविद्यालयले प्रक्रिया अघि बढाएको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय तथा डीनको कार्यालयहरू अहिले भाडामा सञ्चालन हुँदै आएका छन् ।
नयाँ भवन विश्वविद्यालयको नाममा रहेको कुइने पानी क्षेत्र निर्माण गरिनेछ । कुइनेपानीको १७ विगाहा जमिन विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । तर कुइनेपानीको अस्तित्वलाई समेत नामेट हुन नदिने गरी भवन निर्माण गरिने विश्वविद्यालयले जनाएको छ । केन्द्रीय कार्यालय पाँच विगाह क्षेत्रफलमा मात्र निर्माण गर्ने योजना रहेको खड्काले जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।