सरसफाइमा सचेत बन्दै नगरवासी, फेरिदैंछ वीरेन्द्रनगरको मुहार
सुर्खेत, ६ चैत ।
सुर्खेत उद्योग वाणिज्य संघको अगुवाइमा वीरेन्द्रनगर सरसफाइ अभियान सुरु गर्दा मुख्य बजारकै स्थानीयले साथ दिएनन् । संघलगायत विभिन्न निकायका प्रतिनिधिहरू झाडु लिएर सडक र नाली सफा गरिरहँदा बजार क्षेत्रका व्यवसायीहरू टुलुटुली हेरिबसेका हुन्थे । केही हप्तासम्म उनीहरूलाई सम्झाउनै हम्मेहम्मे भयो । तर अभियान सुरु भएको चार महिना पुग्दा यहाँका स्थानीयहरू सरसफाइप्रति सचेत हुन थालेका छन् । आफ्नो पसल र आँगनको सरसफाइमा उनीहरू आफै जुट्न थालेका छन् ।
‘वीरेन्द्रनगर हाम्रो, स्वच्छ सफा राम्रो’ भन्ने मूल नाराका साथ उद्योग वाणिज्य संघले विभिन्न संघसंस्थाहरूको समन्वयमा हरेक शनिवार नगर क्षेत्रको सरसफाइ गर्दै आएको छ । सुरुवातमा मुख्य बजारका व्यवसायीहरूले नै साथ नदिएपछि निरन्तरको प्रयासपछि अहिले उनीहरू आफै सरसफाइमा जुटेको दृश्य देखिन थालेका छन् । जसले गर्दा नगर क्षेत्रको सरसफाइमा सुधार हुँदै गएको छ । संघले विशेष गरी नगरपालिकाभित्रको मुख्य बजार क्षेत्रको सरसफाइमा जोड दिदैं आएको थियो । हरेक हप्ता उद्योग वाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका लगायत विभिन्न निकायका अगुवाहरू नै झाडु लिएर सडकमा आउन थालेपछि स्थानीयवासीहरू पनि सरसफाइमा सचेत हुन थालेका हुन् । ‘निरन्तर सम्झाएपछि व्यवसायीहरू कम्तीमा आफ्नो पसल र पसल आसपासको क्षेत्र सरसफाइ गर्न थालेका छन्’ सुर्खेत उद्योग वाणिज्य संघका सचिव सुरज गौतमले भने ।
फोहोरको थुप्रोहरू देखिने मंगलगढीचौकदेखि मुख्य बजार क्षेत्र अहिले सफा भएको छ । विगतमा जस्तै प्लाष्टिकलगायत अन्य फोहोर जताततै देख्न पाइँदैन । व्यवसायीहरूले पसलबाट उत्पादन भएको फोहोर निश्चित ठाउँमा सङ्कलन गरेर राख्ने र वीरेन्द्रनगर नगरपालिकाको सरसफाइ गर्ने कर्मचारीहरू फोहोर उठाउन आउँदा उनीहरूलाई दिने गर्नथालेका छन् । यो नै सरसफाइ अभियानको एउटा उपलब्धि भएको गौतमको जिकिर छ । ‘मंगलगढीचौदेखि नेताचौकसम्म अहिले निकै सफा भइसकेको छ’ गौतमले भने, ‘त्यहाँबाट गणेशचौकसम्म पनि विगतको भन्दा सफा भए पनि हुनुपर्ने जति भने भइसकेको छैन ।’ उनले स्थानीयवासी नै सरसफाइप्रति सजग हुन थालेको भन्दै अभियान निरन्तर सञ्चालन भए केही समयभित्रै वीरेन्द्रनगर बजार क्षेत्र सफा र सुन्दर हुने बताए ।
पछिल्लो समय सरसफाइ अभियानमा स्थानीयवासीहरूको पनि सहभागिता बढ्दै गएको छ भने अन्य संघसंस्थाहरूले पनि यसमा चासो दिन थालेका छन् । गैरसरकारी संघसंस्थादेखि
खेलाडी र विद्यार्थीहरूले पनि सरसफाइ अभियानको नेतृत्व गर्न थालेका छन् । अघिल्लो हप्ता जिल्लाका खेलाडीहरू ड्रेससहित वीरेन्द्रनगर सरसफाइमा जुटेका थिए भने यो शनिवार सुर्खेत मोडेल कलेजको नेतृत्वमा सरसफाइ गरिएको छ । यसले पनि यो अभियानलाई प्रभावकारी बनाउन सघाएको संघले जनाएको छ ।
शनिवार सुर्खेत उद्योग वाणिज्य संघको संयोजन तथा सुर्खेत मोडेल कलेजको अगुवाइमा मंगलगढीबाट जुम्लारोड हुँदै यरीचौक र खोर्केलाइनबाट वीरेन्द्रनगर चौकसम्म सरसफाइ गरिएको हो । सुर्खेत मोडेल कलेजका शिक्षक, विद्यार्थी, सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारी, वडा नागरिक मञ्चका पदाधिकारीलगायतको सहभागितामा सरसफाइ गरिनुका साथै विद्यार्थीहरूले पसल–पसल तथा घर–घरमा गएर जथाभावी फोहोर नफाल्न आग्रह गर्दै जनचेतना फैलाउने काम गरेका थिए । सरसफाइमा एक सयभन्दा बढीको सहभागिता रहेको थियो । वीरेन्द्रचौकमा भएको सरसफाइ कार्यक्रमको समापनमा कलेजका क्याम्पस प्रमुख देवेन्द्र वाग्लेले एक दिन बजार सरसफाइ गरेर मात्र पूर्ण सफाइ नहुने भन्दै प्रत्येक व्यक्तिले नियमित सरसफाइ गरेमात्र पूरा नगर क्षेत्र सफा र स्वच्छ हुने बताए ।
साझा बिसौनी संवाददाता ।