सरसफाइमा सुधार
मानवजीवनका लागि सरसफाइ अत्यावश्यक छ । तर यही कुरा अझै पनि सबै नागरिकलाई बुझाउन र त्यसको बोध गराउन नसकिने विडम्बना हो । अहिले पनि सरसफाइको कमीकै कारण नागरिकहरूले ज्यान गुमाउनु परिरहेको छ । सरसफाइमा ध्यान नदिँदा विभिन्न किसिमका रोगको संक्रमण विभिन्न समयमा विभिन्न ठाउँहरूमा फैलिने गरेको छ । यसले धन र जन दुवैको क्षति पु¥याउँछ । त्यसैले सरसफाइ अत्यावश्यक छ र यसतर्फ ध्यान दिन जरुरी छ । सरसफाइ व्यक्तिको शरीरको मात्र होइन घरआँगन र समाजको पनि उत्तिकै जरुरी हुन्छ । घर आँगन र समाज नै फोहोर भए शरीरको सफाइको मात्रै पनि कुनै अर्थ रहँदैन । यही मान्यतालाई आत्मसात् गर्दै सुर्खेतको वीरेन्द्रनगरमा केही महिनाअघिदेखि सरसफाइ अभियान सुरु गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघको अगुवाइमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । अभियान अन्तर्गत हरेक शनिवार स्थानीय मंगलगढीचौकमा जम्मा भएर सरसफाइ गर्ने गरिएको छ । उक्त अभियानको सकारात्मक प्रभाव देखिन थालेको छ । नगरवासी पछिल्लो समय सरसफाइप्रति सचेत हुन थालेका छन् । आफ्नो घर आँगन आफै सफा गर्न जुटेका छन् ।
सरसफाइमा नगरवासी जसरी सचेत हुँदै गएका छन् त्यसैगरी विभिन्न संघसंस्थाहरूले पनि सरसफाइ अभियानलाई प्राथमिकता दिन थालेका छन् । गैरसरकारी संघसंस्थादेखि विद्यालयसम्मले यो अभियानमा सहभागिता जनाउनु स्रहानीय कार्य हो । यसको संयोजनका लागि सुर्खेत उद्योग वाणिज्य संघ बधाईको पात्र बनेको छ । तर अझै पनि उल्लेख्य मात्रामा सहभागिता हुन भने सकेको छैन । व्यापारी तथा व्यवसायीहरूको छाता सङ्गठन उद्योग वाणिज्य संघको पहलमा भइरहेको सरसफाइ अभियानमा अन्य क्षेत्रको उल्लेख्य सहभागिता नहुनु दुर्भाग्य हो । हरेक शनिवार हुने सरसफाइ कार्यक्रममा केही सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू मात्र नभएर स्थानीयवासीको पनि उल्लेख्य मात्रामा सहभागिता गराउन सक्नुपर्दथ्यो । तर त्यसो हुन सकेको छैन । सरसफाइ अभियानमा सबैभन्दा बढी राजनीतिक दलहरूको सहभागिता खड्किने गरेको छ । अरुबेला सुन्दर नगर बनाउने भाषण गर्दै हिँड्ने दलहरू व्यवहारमा भने पछि हट्दै आएका छन् । सरसफाइप्रति उनीहरू गम्भीर छैनन् भन्ने प्रमाण यही हो । अभियानको सुरुवातमा थोरै मात्रामा सहभागी भएको पाइए पनि त्यसपछिका अभियानहरूमा उनीहरूको सहभागिता नगन्य छ । यसले राजनीतिक दलहरू नगरको सरसफाइप्रति गम्भीर नभएका हुन् कि भन्ने सन्देश गएको छ । दलहरूले आफ्ना कार्यकर्ताहरूलाई नै सरसफाइ अभियानमा उतार्ने उद्घोष समेत गरेका थिए तर उक्त उद्घोष कार्यान्वयन गर्न असफल भएका छन् ।
सरसफाइ अभियानको नेतृत्व सुर्खेत उद्योग वाणिज्य संघले गरे पनि यो संघको मात्र सरोकारको विषय होइन । यहाँका सम्पूर्ण सामाजिक संघ–संस्था, सरकारी कार्यालय, नागरिक समाज र स्थानीयवासी सबैको सरोकार हो । त्यसैले ती सबै क्षेत्रको सहभागिता अनिवार्य हुन जरुरी छ । राजनीतिक दलहरूका जिल्लादेखि वडातहसम्म विभिन्न निकायहरू छन् । त्यहाँका कार्यकर्ताहरूलाई अभियानमा समेट्न सकेको खण्डमा सरसफाइ अभियानले थप गति लिन सक्दछ । फोहोर व्यवस्थापनको सबैभन्दा ठूलो जिम्मेवारी यहाँका नागरिकहरूको हो । नागरिकहरू आफै सरसफाइमा सचेत हुन सकेको खण्डमा सरसफाइका लागि यस्ता अनेक अभियानहरू सञ्चालन गरिरहनुपर्ने आवश्यकता नै रहँदैन । तर जनचेतनाको अभावका साथै अटेरिपनका कारण वीरेन्द्रनगर प्रदूषित छ । यसले समग्र जिल्लाको पहिचानमा समेत प्रभाव पार्दछ । त्यसैले यहाँका स्थानीय नागरिकहरूलाई सजग र सचेत बनाउँदै सरोकारवाला सबैले यो अभियानमा हातेमालो गर्नु तत्कालको आवश्यकता हो ।
प्रकाशित मितिः ८ चैत्र २०७२, सोमबार ०३:२५
साझा बिसौनी संवाददाता ।