वास्तवमै हामी ‘झुर’ छौं
दिनेश गौतम |
के यस्तो दिन कहिल्यै नआउला जहाँ हामी नेपाली हुँ भनेर गर्व गर्न सकियोस् ? के यो यस्तो दिन कहिल्यै नआउला जहाँ हामी नेपाल र नेपालीको पहिचानबाटै सारा संसार भरिनै चर्चा कमाउन सकेको हौं ? के यस्तो दिन कहिल्यै नआउला जहाँ हामी सूचना प्रविधिको पहिलो प्रयोगकर्ता मात्र होइन, सूचना तथा प्रविधिको जन्मदाता बन्न सकेको हौं ? के यस्तो दिन कहिल्यै नआउला जहाँ हामी हाम्रो देशको भौगोलिक सुन्दरताका कारण संसारकै सुन्दर देश मध्ये एक हुन सकौं ? के यस्तो दिन कहिल्यै नआउला जहाँ हामी पर्यटन, जलविद्युत, शान्ति र प्रविधिको क्षेत्रमा संसारलाई नेतृत्व गर्ने ठाउँमा पुगेका हौं ? खै, केही भन्न सकिन्न । आखिर चाहे अनुसार त केही पनि हुँदैन यहाँ । धेरै त हुँदैन, फाट्टफुट्ट भएको पनि चाँडै सकिन्छ, भत्किन्छ । कहिले काहीं राम्रै भए गराइएका भए पनि ती अत्यन्त आकस्मिक विषय हुन् । मात्र क्याजुअल गेन ।
समृद्धिको नारा बोकेर कति सरकारमा गए । समृद्धिकै नारा लगाएर कतिले संसदमा पकड जमाए । समृद्धिकै नारा बोकेर कति प्रधानमन्त्री हुनसके, कति मन्त्री वा माननीय भए । समृद्धिको नारा केन्द्रमा मात्र सीमित रहेन । समृद्धिको नारा गाउँ छि¥यो । गाउँमा त यसले एकप्रकारको उथलपुथल नै ल्यायो भनौं । प्रजातान्त्रिक र राजावादी भनिएकाहरू क्रान्तिकारी भए । ती क्रान्तिकारीहरूको क्रान्तिकारिता पनि त्यति लामो समय टिकेन । त्यसपछि पनि समृद्धिको बहस अगाडि बढ्दै गयो । क्रमशः अगाडि बढिरह्यो । यसका लागि धेरैजसो व्यक्ति वा निकायबाट कोशिस भएन । कसै–कसैबाट हुन थालेको भए पनि त्यो पर्याप्त भएन वा भनौं त्यसमा बल पु¥याउन सक्ने कोही भएन । त्यसपछि पनि समृद्धिको नारा त लाग्दै नै
गयो । फेरि युद्ध लडेका क्रान्तिकारीहरू समेत प्रजातान्त्रिक हुनेगरी परिवर्तन भयो । परिवर्तन त भयो, भइनै रह्यो, त्यस्ता व्यक्तिको विचार, पार्टी र आदर्श परिवर्तन भयो । दुःखको कुरा, उनीहरूको काम कहिल्यै परिवर्तन भएन । दुनियाँका अब्बल गफाडि देखिन थाले । र आज संसार यन्त्रबाट संसार चलाउने बनिसक्दा हामी भएको दिमागले समेत राम्ररी देशको बारेमा सोच्न सकेनौं । हामीले ठूला योजना त बनाएनौं, बनाउन सकेनौं, राज्य सञ्चालनका क्रममा आएका वा बनाइएका साना–साना योजना समेत पूरा गर्नसक्ने हाम्रो क्षमता भएन । हामी पछाडि परेका होइनौं, पछाडि पारिएको हो । हामी आफैले आफैलाई पछाडि पारेका हौं । के यसमा हामी सबैलाई अपसोच हुँदैन ?
हामी कुनै पनि कार्यक्रम आयोजना हुँदा तोकिएको समयभन्दा एकदुई घण्टा ढिलो पुग्छौं किनभने हामीलाई तोकिएको समय ‘नेपाली टाइम’ भन्ने भान परेको छ । हो, त्यस्तै हामी प्रगतिको पथमा असामान्य सफलता हाँसिल गरिरहेका सारा दुनियाँको अगाडि नै दुई शताब्दी पछाडि पछाडि दौडिरहेका छौं, त्यो पनि उनीहरूको भन्दा निकै कम गतिमा । तर पनि हामी उनीहरूलाई भेट्टाउन सक्छौं र उनीहरूलाई पनि जितेर अगाडि बढ्ज सक्छौं भनिरहेका छौं । आफूभन्दा अगाडि दौडिरहेकालाई भेट्टाउन उनीहरूको जति गति बनाएर मात्रै हुँदैन, उनीहरूको भन्दा दुई गुणा बढी विकासको गति बनाउन सक्नुपर्दछ । हाम्रो विकासको गति उनीहरूको भन्दा कैयौं गुणा कम छ । यसले त उनीहरूको र हाम्रो समृद्धिको बीचको दूरी झनै लम्बाउने काम गरिरहेको छ ।
पहिलो संविधानसभाको निर्वाचन हुँदै गर्दा सारा नेपालभरी एउटा भनाइ निकै चर्चित थियो, ‘अब नेपाल ‘नयाँ नेपाल’ हुन्छ । नेपाललाई हामी १० वर्षमा स्वीट्जरल्याण्ड बनाइदिन्छौं ।’ पछि एकजना अर्थशास्त्रका विद्यार्थीले दाबी गरेका थिए, ‘यदि नेपाल १० वर्षभित्र स्वीट्जरल्याण्ड जस्तो हुने हो भने १० वर्ष नेपालको आर्थिक वृद्धिदर स्वीट्जरल्याण्डको आर्थिक वृद्धिदरको जस्तो गतिमा बढेर मात्र हुँदैन, स्वीट्जरल्याण्डको आर्थिक वृद्धिदर लगातार १० वर्षसम्म घट्दै जानुपर्छ ।’ नेपाललाई १० वर्षसम्ममा स्वीट्जरल्याण्ड बनाउने भनेर योजना सुनाउने त्यतिबेलाका र अहिले पनि ठूलै अर्थशास्त्री थिए, छन् । उनीपछि अर्थमन्त्री पनि भए । उनी सामेल भएको सरकार छिट्टै ढल्यो, नत्र ६५ सालको त्यो योजना पूरा हुन अर्थात् नेपाल स्वीट्जरल्याण्ड बराबरको हुन अब तीन वर्ष मात्र बाँकी हुने थियो । ती महामहिम अर्थविज्ञ सही थिए वा ती अर्थशास्त्रका विद्यार्थी, त्यो त समय र अहिलेको नेपालको अवस्थाले नै बताइरहेको छ । देश सम्झेर दुःख मान्नुपर्ने दिन अन्त्य भएर छिट्टै नै देश सम्झेर गौरव गर्ने दिन आउँछ भन्ने हामी सबैको अपेक्षा रचाहना त छँदैछ, थियो, हुनेछ, साथसाथै समृद्ध मुलुक निर्माणमा आफ्नो भूमिका पनि नागरिकहरू खोज्दैछन्, खोजिरहेछन् ।
तमाम समस्या, राजनीतिक अस्थिरता, अराजकता, असहज परिस्थितका बाबजुत पनि नेपालीको खुशीपना वा सन्तुष्टि भने अलि फरक देखिन्छ । ‘वल्र्ड ह्यापिनेस इन्डेक्स’मा नेपाल विश्व भरीमध्ये एक सय सातौं स्थानमा रहेको भनेर भर्खर सार्वजनिक भएको छ । ता कि संसारका धेरै भौतिक र विकासका मामलामा उत्कृष्ट भनिएका देशहरू पनि छन् जो ह्यापिनेस इन्डेक्समा नेपालभन्दा पछाडि छन् । भौतिक रूपमा देखिने विकास त सबैथोक होइन तर त्यसलाई ‘इग्नोर’ गरेर अन्य विषयलाई अगाडि लैजाँदा कसरी देश समृद्ध भएको देख्न सकिन्छ र ? मानिसहरूमा भाइचारा, आफ्नोपना, मित्रता, सद्भाव, एकता जस्ता विषयहरू त समावेश छँदैछन् र यसका साथसाथै राज्यका सम्पूर्ण नागरिकले नेपाली हुनुमा गर्व गर्ने दिन आउनै सकेनन् ।
विकासको नारा लगाएर सरकारमा जाने र विकास बिर्सने, समृद्धिको मन्त्र फलाक्दै मन्त्री हुने र समृद्धि बिर्सने, एक सम्पन्न गाउँको निर्माण गर्ने सपना देखाउने र सहरमा बसेर राजनीति गर्ने, यी र यस्ता अनेकन उदाहरणीय व्यक्तिहरू देखेका छौं हामीले समाजमा, हाम्रै वरिपरि । धेरै चुनाव पनि यही हुन्छन् । विडम्बना पटक–पटक कानुनको निर्माण गर्ने, योजना बनाउने र समृद्ध मुलुक निर्माण गर्ने ठाउँमा हामी एउटै व्यक्तिलाई पु¥याउँछौं । विकासको एजेण्डा बोकेको र मुलुकको लागि केही गर्नसक्ने मान्छे आफ्नै पार्टी भित्रबाटै पाखा लगाइन्छ, लगाएको दृष्टान्त पनि हामीसँगै छ । क्षमता भएका व्यक्तिहरू त्यस्ता निकायमा पुग्नै सक्दैनन् । पुगेकाको पनि अस्तित्व स्वीकार गरिँदैन । अनि हामी चिया पसलमा बसेर समृद्ध नेपालको कल्पना गर्छौं । साँच्चै हो, हामी नेपालीहरू महान छौं जसलाई आफ्नो बारेमा राम्रो कुरा गर्न र अर्काको बारेमा नराम्रो कुरा गर्न बाहेक थप केही पनि आउँदैन । हामी यसैमा पारंगत छौं । हामी यसैमा ‘फर्वाड’ छौं । हामी धेरै हदसम्म विशेषज्ञ छौं चिया पसलमा तर हाम्रो विशेषज्ञता त्यहीं चिया पसलमै सीमित रहन्छ । कमसेकम आफू संलग्न राजनीतिक चुनाव वा संसदीय चुनाव वा स्थानीय चुनावमा त्यो बौद्धिकता वा त्यो विशेषज्ञता प्रदर्शन हुन पाएको भए त्यसपछि फेरि चिया पसलमा बसेर देशलाई धिक्कार्नुपर्ने दिन आँउदैन थिए कि ? कतिन्जेल हामी नेपाली झुर भइराख्ने र, ख्वै ?
प्रकाशित मितिः ८ चैत्र २०७२, सोमबार ०३:२९
साझा बिसौनी संवाददाता ।