बालबालिका
पुनम बिसी |
विकासोन्मुख देशको संज्ञा पाएको नेपालको अवस्थाको भविष्यवाणी सायद जो कोहीले सजिलै गर्न सक्दैन । देशको वर्तमान अवस्थालाई मध्यनजर गर्ने हो भने देश तथा नेपालका नागरिकको भविष्य माथि शंकाका किरणहरू छाउँछन् । वर्तमान राजनीति, समाज तथा व्यवहारको कुनै भरोसा छैन । देशमा बढिरहेको भ्रष्टाचार तथा अनियमितताले पनि यसलाई प्रष्टाउँछ । बेरोजगारी समस्या पनि उस्तै, दिनहुँ सयौंको संख्यामा नेपाली युवाहरू विदेशीरहेका छन् । स्वदेशी लगानीकर्ता पनि स्फूर्त रूपमा लगानी गर्न इच्छुक छैनन् । युवाहरूको अन्यौल भविष्य सँगसँगै प्रभाव, अवोध बालबालिकाहरूमा पनि परिरहेको छ । पारिवारिक कारण, देशको आन्तरिक युद्ध तथा समाजको कारण पनि बालबालिकाहरूको सुनौलो भविष्यमा छायाँ परिरहेको छ ।
सन्दर्भ एक बालक कमल शाही, घर दैलेख । केही वर्ष पहिले सुर्खेत बसपार्क नै उसको घर बनेको थियो । बस तथा जीपका चालक अनि सहचालकहरूका लागि मनोरञ्जनको साधन । उनीहरू उसलाई प्रयोग गर्थे । दिनभरको तनाव मेटाउनलाई बाटो । कमलको हसिलो मुहार तथा उसको ठट्यौली पनले जो कोहीलाई पनि आकर्षित गर्ने गर्दथ्यो । आमा तथा बाबुको सहाराविना बाटोको बसाइँ त्यति सहज थिएन । जहाँ पायो त्यहीं सुत्ने, जे पायो खाने, नपाए भोकै पनि ।
द्वन्द्वकालमा आमा तथा बाबुको दोस्रो फरक–फरक विहेको कारण ऊ घरवारविहीन बनेको रहेछ । उमेरको हिसाबले साढे एकको परिधिमा पनि उसले आफ्नो नाम लेख्न सक्दैन । विस्तारै बसपार्कको बसाइँले उसलाई रमाइलो बनाउन थालिसकेको थियो । गाडीका चालक तथा सहचालकसँगको रमाइला गफगाफ, तरुनीका कुरा, चोरी तथा डकैतीका प्रसंगहरू अनि मद्यपान सेवन । यी विषयहरूको आगमन तथा बढ्दो उमेरको कौतुहलताले आफूलाई जवान महसुस गर्नु पनि ठीकै हो । बाटोबाटोमा बसेर आफूभन्दा पनि दोब्बर उमेर जतिका केटी जिस्काउँदै आफूलाई ‘चरी डन’को नामले बोलाउन लगाउने बानी उसमा वरपरको वातावरणले सिर्जना गरिदिएको हो ।
न बाउको भरोसा न आमाको मायाको आशा, बाटोको जीवन कहाँ सहज छ र ? तै पनि बाध्यताको अगाडि कसको के नै लाग्न सक्छ ? हाम्रो भविष्य उही हो, जसले आफ्नो नाम समेत लेख्न सक्दैन, जसले लागूपदार्थलाई आफ्नो साथी बनाएको छ, जसले आफूलाई डनको संज्ञा दिन्छ । उही नै हो हाम्रो भावी पुस्ता । वर्तमानमा
डनको संज्ञा दिने बालकले भविष्यमा ऊ कसरी महात्मा बन्नसक्छ । मकैको बीऊले मकै नै उम्रन्छ ।
कमल त एउटा प्रतिनिधि पात्र मात्र हो । नेपालमा द्वन्द्वकाल समयमा थुप्रै बालबालिकाहरू सडकमा आएका छन् । बाटोको जीवन जिउन उनीहरू बाध्य छन् । बाँच्नुलाई नै आफ्नो लक्ष्य बनाएका उनीहरूको भविष्य के ? देश विकास भनेको पुल पुलेसो बन्नु, बाटोघाटो निर्माण हुनु, ठूलाठूला भवनहरू बन्नु मात्र होइन । भविष्य बोकेका बालबालिकाहरूको जीवन सुरक्षित हुनु पनि देश विकास हो । अर्को अर्थमा लगानी हो ।
नेपालको संविधान २०७२ को धारा ३९ को बालबालिकाको हकको उपधारा ९ बमोजिम असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवम् जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ भन्ने रहेको छ । के यी हकहरूबाट बाटोका बालबालिकाहरू वञ्चित रहने
हुन् ? तथ्याङ्क हेर्ने हो भने नेपालभर पाँच हजार भन्दा बढी बालबालिकाहरू अझै सडकमा डेन फुकिरहेका छन् ।
सरोकारवाला निकायको यसतर्फ पनि ध्यानाकर्षण नभएको भने होइन । केही ग्रैहसरकारी संस्थाद्वारा उपयुक्त माध्ययममा काम पनि गरिएको छ भने केहीले बालबालिकालाई प्रयोग गरिरहेका छन् । बालबालिकाहरू सडकमा रहनु पनि उनीहरूलाई फाइदाको विषय बन्न जान्छ । कोही यहाँ यी अवोध बालबालिकाहरूको धर्म परिवर्तन गराइ धार्मिक संख्या बढाउने चेष्ठामा पनि रहेका छन् ।
नेपालको संविधान २०७२ को धारा २६ को धार्मिक स्वतन्त्रताको हकको उपधारा ३ बमोजिम कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ भनी स्पष्ट लेखिएको छ । तर नेपालमा अझै पनि केही यस्ता संस्थाहरू छन् जसले अनाथ तथा गरीब बालबालिकाहरूलाई पुनस्र्थापन तथा सहयोगको वहाना अनि आश्वासन देखाउँदै उनीहरूको धर्म परिवर्तन गराइरहेका छन् । अझै पनि नेपालका केही गरीब बस्तीहरूमा गयौं भने घरमा बालबच्चाहरूको संख्या अत्यन्तै न्यून देखिन्छ । सोध्दा, संस्थाले लगेको जवाफ पाउँछौं ।
खोज्दा बच्चाको हातमा धर्म ग्रन्थ थमाइएको
हुन्छ । सुन्दामा स–साना लाग्ने यी पक्ष तथा विषयहरूले देशको भविष्य निर्धारण गरिरहेका छन् । यत्रो करोडौंको जनसंख्या भएको देशमा सडक बालबालिकाहरू पाँच हजारको संख्यामा रहनु पनि कुनै असामान्य विषय होइन होला तर भविष्यमा यी पाँच हजारमध्ये एक जनाले पनि देशलाई दुर्गतिको बाटोमा धकेल्न सक्छ । सहयोगको नाममा भइरहने धर्म परिवर्तनले पनि एकदिन धार्मिक युद्ध निम्त्याउन सक्छ ।
माथि उल्लेखित प्रतिनिधि पात्र कमल शाहीलाई वर्तमान समयमा सहयोगको निकै खाँचो छ । कखरा पनि नजानेको ऊ र उसको हक तथा अधिकारको कार्यान्वयनको लागि सम्बन्धित निकायको समयमै ध्यानाकर्षण हुन जरुरी छ ।
साझा बिसौनी संवाददाता ।