कर्णालीमा ७७ जनप्रतिनिधिको पद रिक्त

डोल्पामा ३० पद खाली, हिमाली जिल्लाका स्थानीय तहमा दलित सदस्यमा उम्मेदवारी नै परेन, जनप्रतिनिधिको पद छोडेर शिक्षक र वैदेशिक रोजगारीमा

प्रदेशका विभिन्न स्थानीय तहमा गरी ७७ जनप्रतिनिधिको पद रिक्त छ । पाँच वडा अध्यक्ष र ७२ वडा सदस्यको पद खाली भएको हो । केही जनप्रतिनिधिको मृत्यु भएको, कोही जिल्ला समन्वय समितिमा निर्वाचित भएको र कतिपयले राजीनामा दिएर वैदेशिक रोजगारीमा गएका तथा केहीले जागिरमा नाम निकालेकाले पद रिक्त भएका हुन् ।

स्थानीय तहका वडाहरूमा अधिकांश दलित महिला सदस्यहरूको पद रिक्त छ । दलित महिला सदस्यमा उम्मेदवारी नै नपरेकोले धेरैजसो पद खाली रहेको हो । जिल्ला निर्वाचन कार्यालय र जिल्ला समन्वय समितिहरूका अनुसार हिमाली जिल्लामा दलित महिला सदस्यको उमेदवारी नै नपरेकाले धेरैजसो दलित महिला सदस्यको पद रिक्त भएको हो ।

रिक्त पदका लागि सरकारले उपनिर्वाचन गर्छ । अघिल्लो वर्ष केही तहमा उपनिर्वाचन भए पनि यसवर्ष भने निर्वाचनको टुुङ्गो लागेको छैन । स्थानीय तहका जनप्रतिनिधिहरूको मृत्यु भए वा खाली भएमा पुनः उपनिर्वाचन गर्ने व्यवस्था छ । कुनै अवस्थामा प्रमुख, उपप्रमुुख, वडा अध्यक्षहरूले राजीनामा दिएमा, मृत्युु भएमा र पदावधि सकिएमा मात्र पद रिक्त हुने संविधानमा उल्लेख छ ।

कालीकोटमा पाँच जना वडा सदस्यको पद रिक्त रहेको छ । तिलागुफा नगरपालिका–९मा एक जना वडा सदस्यको मृत्यु भएको र वडा नं. १० मा दलित सदस्यमा उम्मेदवारी नै नपरेका कारण पद रिक्त छ । यस्तै, नरहरिनाथ गाउँपालिकाको वडा नं. ९ मा पनि दलित सदस्यमा उम्मेदवारी नै परेन । पलाँता गाउँपालिका–४ र ८ मा पनि दलित सदस्यमा उम्मेदवारी नपरेको हो । यी पालिकाका वडाहरूमा केहीमा दलित बस्ती नै नभएको र भएका बस्तीमा पनि उम्मेदवारी नपरेको पाइएको छ ।

मुगुका स्थानीय तहमा ११ जना जनप्रतिनिधिहरूको पद खाली छ । छायाँनाथ रारा नगरपालिकामा तीन जना वडा सदस्य जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि उक्त पद रिक्त रहेका हुन् । यस्तै, खत्याड गाउँपालिकामा पनि तीन जना जिल्ला समन्वयमा निर्वाचित भएर र एक जनाको मृत्यु भएपछि चार वडा सदस्यको पद रिक्त छ ।

मुगम कार्मारोङ गाउँपालिका–९ मा एक जना वडा सदस्यको पद खाली छ । सोरु गाउँपालिकामा तीन जना वडा सदस्यको पद रिक्त रहेको त्यहाँँस्थित जिल्ला समन्वय समितिले जनाएको छ । एक जनाको मृत्यु भएको र दुई जना समन्वय समितिमा निर्वाचित भएपछि वडा सदस्यको पद खाली भएको हो ।

डोल्पामा सबैभन्दा बढी जनप्रतिनिधिको पद रिक्त छ । त्यहाँका स्थानीय तहमा जनप्रतिनिधिका ३० पद रिक्त रहेका हुन् । अधिकांश पालिकामा दलित महिला सदस्यको पद खाली भएको हो । जिल्लाको ठूली भेरी नगरपालिका वडा नं. १, ४ र ११ मा एक÷एक जना दलित महिला सदस्यको पद रिक्त छ । काइके गाउँपालिका–१, २ र ३ मा एक÷एक जना दलित महिला सदस्यको पद रिक्त रहेको हो । डोल्पोबुद्ध गाउँपालिकामा वडा नं. १ देखि ६, मुड्केचुला गाउँपालिकामा वडा नं. ५, त्रिपुरा सुन्दरी नगरपालिकामा वडा नं. ७, १० र ११ मा एक÷एक जना दलित महिला सदस्यको पद खाली छ ।

शे–फोक्सुण्डो गाउँपालिका वडा नं. १, २, ३, ६, ७, ८ र ९ मा दलित महिला सदस्यको पद रिक्त छ । जहाँ महिला सदस्यका लागि उम्मेदवारी नै नपरेको हो । डोल्पाकै छार्काताङसोङ गाउँपालिका वडा नं. १ देखि ६ सम्म र जगदुल्ला गाउँपालिका वडा नं. २ मा दलित महिला सदस्यको पद खाली छ ।

हुम्लामा एक वडा अध्यक्षको पद रिक्त छ । जिल्ला समन्वय समितिका अनुसार वडा अध्यक्षको मृत्यु भएका कारण पद रिक्त भएको हो । जुम्लामा एक जना वडा अध्यक्षसहित २२ जना जनप्रतिनिधिहरूको पद रिक्त छ । हिमा गाउँपालिका वडा नं. १ का वडा अध्यक्षको मृत्यु भएपछि उक्त पद खाली भएको हो । चन्दनाथ नगरपालिका वडा नं. ८ मा निर्वाचित वडा सदस्यको मृत्यु भएको र वडा नं. ३ र ४ मा जिल्ला समन्वय समितिमा निर्वाचित भएकाले एक÷एक जना वडा सदस्यको पद खाली छ । तातोपानी गाउँपालिका वडा नं. १ र ५ मा जिल्ला समन्वय समितिमा निर्वाचित भएकाले वडा सदस्यको खाली भएको छ भने वडा नं. ३ मा एक जना दलित महिला सदस्यसहित दुई जना वडा सदस्यको मृत्यु भएको छ ।

यस्तै, जुम्लाकै सिंजा गाउँपालिका वडा नं. ३ मा वडा सदस्यको मृत्यु भएकाले पद रिक्त छ । कनकासुन्दरी गाउँपालिकामा वडा नं. ७ र ८ मा एक÷एक जना वडा सदस्यको पद खाली छ । त्यहाँ दुवै सदस्यको मृत्यु भएको हो । पातारासी गाउँपालिका वडा नं. ६ को वडा सदस्यमा निर्वाचित व्यक्तिपछि जिल्ला समन्वय समितिको उपप्रमुुखमा निर्वाचित भएपछि वडा सदस्यको पद रिक्त रहेको छ ।

यसैगरी, जाजरकोटमा दुई वडा अध्यक्ष र दुई वडा सदस्य गरेर चार जना जनप्रतिनिधिहरूको पद रिक्त रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुशे गाउँपालिका वडा नं. ७ मा वडा अध्यक्षको मृत्यु भएको हो । जुुनीचाँदे गाउँपालिका वडा नं. ११ का वडा अध्यक्षको मृत्यु भएपछि उक्त पद रिक्त छ । छेडागाड नगरपालिका वडा नं. ७ का एक जना वडा सदस्य समन्वय समितिमा निर्वाचित भएपछि पद खाली रहेको छ ।

सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नंंं. ४ का वडा अध्यक्षले शिक्षकमा नाम निकालेपछि वडा अध्यक्षको पद खाली रहेको छ । रुकुम–पश्चिममा तीन जना वडा सदस्यको मृत्यु भएको छ । ती पद पनि रिक्त छन् । सम्बन्धित जिल्ला निर्वाचन कार्यालयका अनुसार सुर्खेत र दैलेखका स्थानीय तहमा जनप्रतिनिधिको पद खाली छैन । कर्णाली प्रदेशका ७९ स्थानीय तह छन् ।

जिल्ला तहमा गाउँ र नगरबीच समन्वयको निम्ति जिल्ला समन्वय समिति छन् । जसमा जम्मा ११ प्रतिनिधि रहने व्यवस्था छ । कर्णालीका १० जिल्लामा १० वटै समन्वय समिति छन् । स्थानीय तहमा गाउँसभामा प्रमुख, उपप्रमुख र हरेक वडाबाट पाँचजनाका दरले ४५ जना सदस्य निर्वाचित हुने व्यवस्था छ । नगरसभामा प्रमुख, उपप्रमुख र हरेक वडाबाट पाँच सदस्यका दरले निर्वाचित कम्तीमा ५५ जना सदस्य हुन्छन् । त्यसका अतिरिक्त गाउँमा दुई र नगरपालिकामा तीन जनाका दरले दलित वा अल्पसंख्यक रहने व्यवस्था छ ।

प्रकाशित मितिः   १८ मंसिर २०७७, बिहीबार १२:३३