‘दोस्रो चौमासिकमा ५० प्रतिशत बजेट खर्च’
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शतप्रतिशत बजेट कार्यान्वयन गर्नेगरी काम गर्न निर्देशन दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारीमा रहेका शाहीले बुधवार मन्त्रालयको चौमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै यस्तो निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनसँग सम्बन्धित धेरै समस्या समाधान भएको बताउँदै चालु आर्थिक वर्षको प्रगति उदाहरणीय हुनुपर्ने बताए । ‘कुनै वहानाबाजी नगर्नुहोस्’ उनले भने ‘संगठन संरचनाको टुङ्गो लागेर मन्त्रालय मातहत हरेक जिल्लामा २ वटा कार्यालय, सेवा करारमार्फत कर्मचारी अभावको समस्या सामाधान भएको र हरेक जिल्लामा प्रदेश सरकारका लेखा इकाई कार्यालय स्थापना भएका छन् । बजेट कार्यान्वयन सही तरिकाले हुनुपर्छ ।’
कार्यालयमा बसेर फाईलमा हस्ताक्षर गर्ने र निर्देशन मात्र दिने कार्यालय प्रमुखको कार्यशैलीसमेत सच्याउनुपर्ने उनको भनाइ थियो । कार्यालय प्रमुख समेत कार्यक्षेत्रमा खटेर परिणाममुखी काम गर्नुपर्छ,’ शाहीले थपे, ‘दोस्रो चौमासिकमा ५० प्रतिशत कार्यप्रगतिसहित समीक्षा गोष्ठीमा आउनुपर्छ ।’
मुख्यमन्त्री शाहीले दोस्रो चौमासिकसम्म बजेट कार्यान्वयनलाई तीव्र बनाउन आग्रह गर्दै विभागीय मन्त्रीको सहमतिविना कोही पनि कार्यालय प्रमुखको बिदा स्वीकृत नगर्न सचिवलाई निर्देशन दिएका छन् । भर्चूअल प्रविधि प्रयोग गरी आयोजना गरिएको प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मा, मन्त्रालयका सचिव धर्मेन्द्र झा, महाशाखा प्रमुखहरू, निर्देशनालयका प्रमुखहरू र १० वटै जिल्लाका कार्यालयका प्रमुखहरूको सहभागिता थियो ।
साझा बिसौनी ।