‘मेरो चौतर्फी भूमिका हुनेछ’
झकबहादुर मल्ल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् । वि.सं. २०५० सालमा अनेरास्ववियु क्रान्तिकारीबाट विद्यार्थी राजनीति सुरू गरेका उनले लामो समय तत्कालीन नेकपा माओवादी केन्द्रमा विभिन्न तहका जिम्मेवारीमा रहेर काम गरे । जनमुक्ति सेनाको ब्रिगेट कमीसारका रूपमा पनि काम गरेका मल्ल द्वन्द्वकालमा चर्चित ‘सुर्खेत जेल बे्रक’का कमाण्डर हुन् । केही दिन पहिले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समन्वय विज्ञका रूपमा नियुक्त भएका उनै मल्लसँग सरकारले नियुक्त गर्ने विज्ञ तथा सल्लाहकारको भूमिका, नेकपा कर्णाली प्रदेश दलभित्रको जारी कलहलगायतका विषयमा हाम्रा सहकर्मी सीता वलीले गरेको कुराकानी :

-
मुख्यमन्त्रीको समन्वय विज्ञका रूपमा नियुक्त हुनुभएको छ । तपाईंको भूमिका के हुन्छ ?
मुख्यमन्त्रीज्यूले निर्वाह गर्नुपर्ने सम्पूर्ण भूमिकामा विशेषगरी मैले नै समन्वय गर्ने हो । मलाई त्यहीँ जिम्मेवारी दिएर नियुक्त गरिएको हो । पार्टी र सरकारको सम्बन्ध, सचिवालय, कार्यालयलगायत सम्पूर्ण क्षेत्रमा मेरो भूमिका रहन्छ । तीनै तहका सरकारका बीचमा समेत समन्वयकारी भूमिकाका साथै कतिपय असमझदारीका विषयमा समेत समाधान निकाल्ने गरी मैले काम गर्ने छु । मेरो काम र क्षेत्र यहीँ नै हो भन्ने भन्दा पनि मुख्यमन्त्रीसँग जोडिएका सम्पूर्ण काममा सहजता र समन्वयका लागि मैले विशेष भूमिका खेल्ने छु ।
-
तपाईंलाई जुन पदमा नियुक्ति दिइयो त्यो आवश्यकताभन्दा पनि मुख्यमन्त्रीले पैंचो तिरेको भन्ने चर्चा नेकपाका नेता–कार्यकर्तामा छ नि ?
त्यसो होइन । कानुनी रूपमा व्यवस्था र आवश्यकता भएअनुरूप नै मैले नियुक्ति पाएको हुँ । एउटा राजनीतिक आन्दोलनमा लामो समयदेखि सक्रिय छु । यस्तो व्यक्तिलाई सरकारले आवश्यक ठान्नु स्वाभाविकै लाग्छ । म समन्वय विज्ञका रूपमा नियुक्ति हुँदा पैंचो तिर्नुपर्ने भन्ने हुँदैन । सरकारले आवश्यकता ठानेरै मलाई नियुक्ति दिएको हो । प्रदेश सरकारको अहिलेको आवश्यकता, पार्टीको योजना र सरकारलाई समेत समन्वय विज्ञको खाँचो खड्किएको कारण म यो पदमा छु । बजारमा चर्चा भएजस्तो गुनको पंैचो तिर्नकै लागि मैले नियुक्ति पाएको भने होइन ।
-
नेकपा कर्णाली दलभित्रको विवादले मुख्यमन्त्रीको पद धरापमा परिरहेका बेला यहाँको महत्वपूर्ण भूमिका रह्यो भन्ने छ । के पूर्व एमालेको एउटा समूहलाई मुख्यमन्त्रीको पक्षमा ल्याउन तपाईंको भूमिका थियो ?
होइन, त्यस्तो विशेष भूमिकामा म थिइँन् । पार्टीको जिम्मेवार नेता भएकाले चासो र चिन्ता राख्नु स्वाभाविक नै थियो । म नेकपाको केन्द्रीय सदस्य पनि छु । यस हिसाबले पार्टीमा देखिएको विवाद समाधानको लागि काम गर्नु सैद्धान्तिक धर्म हो । पार्टी र सरकारबीचको संकटमा एउटा जिम्मेवार कार्यकर्ताको हैसियतले मैले विवाद समाधानका लागि सक्दो प्रयत्न गरेको भने सत्य हो ।
-
सरकारले आवश्यकता ठानेरै मलाई विज्ञका रुपमा नियुक्ति दिएको हो ।
-
मुख्यमन्त्रीसँग जोडिएका सम्पूर्ण काममा सहजता र समन्वयका लागि मैले विशेष भूमिका खेल्ने छु ।
-
मलाई विश्वास छ, केही दिनमै समाधान निस्कनेछ र नेकपा एकताबद्ध भएर अघि बढ्नेछ ।
-
कम्युनिष्ट आन्दोलन र राजनीतिमा यहाँ पनि सक्रिय र अनुभवी नेतामा पर्नुहुन्छ । कर्णाली प्रदेश सरकारले तपाईंलाई दिएको जिम्मेवारी उपयुक्त हो ?
मलाई कर्णाली प्रदेश सरकारले जुन जिम्मेवारी प्रदान गरेको छ, त्यो नै अहिलेको अवस्थामा उपयुक्त हो । सरकारले आवश्यकता ठानेरै जिम्मेवारी दिने हो । सोही अनुसार म यो पदमा आएको हुँ । ठूलो पद पाउनुपर्ने भन्ने मेरो कुनै महŒवाकांक्षा पनि छैन । जुन पद पाएको छु । त्यसैलाई जिम्मेवारीपूर्वक निभाउने कोशिस गर्नेछु ।
-
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वसाधारणको पहुँच नै छैन भन्ने आम गुनासो छ । तपाईं समन्वय विज्ञ भएपछि यस्तो अवस्थामा सुधार ल्याउने के योजना छन् ?
यो कुरा सत्य पनि हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भनेकै एक हिसाबले सिङ्गो प्रदेशको सरकार हो । त्यसैले नागरिकहरूको पहुँच यहाँसम्म पु¥याउनको लागि सरकारले मलाई समन्वय गर्ने जिम्मेवारी दिएको हो भन्ने म ठान्छु । अब कर्णालीवासी नागरिकहरूको यस कार्यालयमा पहुँच हुने कुरा सम्बोधन हुने गरी नै मैले कार्ययोजना बनाएको छु । अबको केही दिनमै यस्ताखाले गुनासामा कमी आउने छ । आम कर्णालीवासीले सुधारको अनुभव गर्ने गरी काम हुने कुरामा विश्वस्त पनि छु ।
-
तपाईंजस्तो राजनीतिक नियुक्ति पाएर सत्ताको नजिक पुग्नेहरूले नेतृत्वलाई सही सुझाव दिनुको साटो आफ्ना अनुकूल प्रयोग गरेका थुप्रै उदाहरण छन् । यसमा तपाईंको धारण के छ ?
मैले पार्टी राजनीति होस् वा अन्य कुनै सामाजिक अभियान जहिले पनि इमान्दारिताका साथ आफ्नो भूमिका निर्वाह गर्ने गरेको छु । लामो समय विभिन्न तहका नेतृत्वमा रहेर काम गर्दा मैले सफलतापूर्वक जिम्मेवारी पूरा गरेको छु । राजनीतिक नियुक्ति पाएर सत्ताको नजिक जानेभन्दा पनि नागरिकलाई बढी भन्दा बढी हित हुने काम गर्ने छु । विगतभन्दा वर्तमानलाई हेरी भविष्यको लागि राम्रो काम गर्न सके मात्रै नागरिकको पक्षमा हुन्छ । त्यसैले मैले गलत सुझाव भन्दा पनि नीति–नियममा रहेर आफ्नो काम, कर्तव्य निभाउने छु ।
-
तपाईंहरूको पार्टीमा प्रदेशदेखि केन्द्रसम्मै किचलो छ । राजनीतिक जानकारहरू पार्टी फुटको संघारमा छ भन्छन् । सत्तारुढ दलभित्रको विवाद लामो समय रहँदा सरकार सञ्चालनमा समेत बाँधा पुगेको छ । यसमा तपाईंको केही भन्नु छ ?
अहिलेको अवस्थामा देश तथा विदेशमा समेत नेकपा फुट्छ कि भन्ने हरेकलाई परेको छ । आम सर्वसाधारणदेखि नेता–कार्यकर्तासम्मलाई त्यस्तो लाग्नु स्वाभाविक नै हो । यसमा हामी तल्लो तहका नेताभन्दा शीर्ष नेतृत्वको भूमिका महŒवपूर्ण हुन्छ । यद्यपि म नेकपाको केन्द्रीय सदस्य समेत भएको नाताले केही दिनमा हुने केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछु । पार्टीभित्रको विवाद समाधानका लागि सुझाव दिने प्रयास हुनेछ । मलाई विश्वास छ, केही दिनमै समाधान निस्कनेछ । नेकपा एकताबद्ध भएर अघि बढ्नेछ ।
प्रकाशित मितिः १८ मंसिर २०७७, बिहीबार १२:३८
साझा बिसौनी ।