एमयूमा इमेलबाट परीक्षा
मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‐एमयू)ले वैकल्पिक विधिबाट परीक्षा लिएको छ । सोमवारदेखि सुरू भएको परीक्षामा विद्यार्थीले घरमै बसेर सहभागिता जनाएका छन् । विद्यार्थीलाई ईमेलमार्फत परीक्षामा सहभागि हुने व्यवस्था मिलाइएको छ । कोरोना संक्रमणको जोखिमका कारण विश्वविद्यालयले ईमेलबाट परीक्षामा सहभागी हुने व्यवस्था मिलाएको हो ।
परीक्षा व्यवस्थापन कार्यालयका अनुसार आइतवारदेखि सुरू भएको परीक्षामा स्नातक तह पहिलो, तेस्रो र पाँचौं सेमेस्टर तथा स्नातकोत्तर तह पहिलो सेमेस्टरका सात हजार पाँच सय ५५ विद्यार्थी सहभागी छन् । विकट क्षेत्रका विद्यार्थी पनि प्रविधिको माध्यमबाट परीक्षामा सहभागी भएका छन् । ‘विश्वविद्यालयले जारी गरेको वैकल्पिक परीक्षा कार्यविधिअनुसार परीक्षा सञ्चालन भइरहेको छ,’ परीक्षा व्यवस्थापक आनन्दप्रसाद सुवेदीले भने । उनले कोरोना कहरमा समेत भर्चूअल माध्यमबाट पढाइ भएकाले विद्यार्थीलाई परीक्षामा सहभागी हुन कठिन नभएको बताए । विश्वविद्यालयले यसअघि पहिलो चरणमा असोज १७ देखि कार्तिक ६ गतेसम्म वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा विभिन्न तह र सेमेस्टरका गरी एक हजार तीन सय ३४ विद्यार्थी सहभागी थिए ।
पहिलो चरणको परीक्षा सफलतापूर्वक सम्पन्न भएपछि दोस्रो चरणमा पनि वैकल्पिक विधिबाट परीक्षा लिइएको विश्वविद्यालयले जनाएको छ । परीक्षामा सहभागिता जनाउन सजिलोका लागि विद्यार्थीलाई अभिमुखीकरण गरिएको जनाइएको छ । परीक्षा केन्द्रमा प्रविधिबारे प्रशिक्षित जनशक्ति राखिएको छ । ४ बजेसम्म इमेलमा आएका उत्तरपुस्तिकालाई डाउनलोड गरेर कोडिङ गर्ने व्यवस्था मिलाइएको परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः १७ मंसिर २०७७, बुधबार ११:४४
साझा बिसौनी ।