चालकसँग एक मिनेट
प्रहरीले चालकसँग एक मिनेट अभियान सुरू गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सडक दुर्घटना न्यूनीकरण गर्न सवारी चालकका लागि जानकारीमूलक कार्यक्रम थालेको हो । मंगलवारदेखि सुरू गरिएको उक्त अभियान एक सातासम्म चल्ने छ ।
अभियानमार्फत सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न चरणमा चालक, सहचालक र पैदलयात्रीलाई समेत सडक नियमबारे जानकारी गराइनेछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख (प्रहरी निरीक्षक) उपेन्द्रप्रसाद आचार्यले सुर्खेतमा सवारीको चाप सँगै दुर्घटना पनि बढेकोले न्यूनीकरणको प्रयास स्वरूप ‘चालकसँग एक मिनेट’ अभियान थालिएको बताए ।
मंगलवार वीरेन्द्रनगरका मुख्य सवारी आवत–जावत हुने स्थानहरूमा एक जना चालकसँग एक मिनेट समय दिएर प्रहरीले सडक तथा सवारी नियम र दुर्घटनाबाट जोगिने उपायबारे जानकारी गराइएको थियो । पछिल्लो समय सवारी चालकहरूमा लापरबाही गर्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ । ‘ठूलो दुर्घटनाबाट नागरिकलाई बचाउन यस्तो अभियान सञ्चालन गरिएको प्रहरीको भनाइ छ ।
अभियानको पहिलो दिन केही सवारी चालकले ट्राफिक नियमको पालना नगरी जथाभाबी बाटो काट्ने र ओभरट्याक गर्ने गरेको पाइएको प्रहरी निरीक्षक आचार्यले जनाए । उनले त्यस्ता चालकलाई ट्राफिक सिङ्गनल, साइन तथा नियम सम्बन्धी सुझाव तथा जानकारी दिइएको बताए ।
प्रकाशित मितिः १७ मंसिर २०७७, बुधबार ११:४३
साझा बिसौनी ।