भयावह तथ्याङ्क

मानिसको मृत्यु शास्वत सत्य हो । यसलाई कसैले नकार्न सक्दैन । मृत्युका अनेक कारण हुन्छन् । कोही उमेरले एउटा कालखण्ड पूरा गरेपछि शारिरिक रूपमै कमजोर हुँदै मृत्युवरण गर्दछन् । कोही रोग–विरामका कारण पनि मृत्यु अङ्गाल्न बाध्य हुन्छन् भने विभिन्न दुर्घटनाहरूमा परेर मृत्यु हुनेको संख्या पनि कम छैन । तर मृत्युका कारण यति मात्रै भने छैनन् । कयौं मानिस यस्ता पनि छन् जो, जानेर मृत्युवरण गरिरहेका छन् । अर्थात् आफैले आत्महत्या गर्दछन् । यसरी आत्महत्या गर्नेहरूको संख्या बढ्दै गएको छ । जुन राम्रो हुँदै होइन ।

कर्णाली प्रदेशमा पनि आत्महत्याको स्थिति भयावह देखिएको छ । वर्षेनी ठूलो संख्यामा मानिसहरू आत्महत्या गरिरहेका छन् । यो संख्या हरेक वर्ष बढ्दो छ । प्रदेशमा पछिल्लो तीन वर्षको अवधिमा ६ सय ८१ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६ देखि २०७७÷०७८ को यो अवधिसम्म झुण्डिएर, विष सेवन गरेर तथा नदीमा हामफालेर यति ठूलो संख्याले जीवन नै त्याग गरेका हुन् । प्रहरीको तथ्याङ्क केलाउँदा कर्णालीमा वर्षमा सरदर दुई सय २७ जना र महिनामा १८ जनाले आत्महत्या गर्ने गरेको देखिएको हो ।

प्रदेशमा प्राकृतिक प्रकोप, सवारी दुर्घटनालगायतका भवितव्यमा परी ज्यान गुमाउनेको भन्दा आत्महत्याका कारण मृत्यु हुनेको संख्या धेरै छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशका दश जिल्लामा दुई सय ५० जनाले आत्महत्या गरेका थिए । घटनाहरू हेदौ विशेष गरी विष सेवन गरेर, झुण्डिएर, हामफालेर आत्महत्या गर्ने गरिएको देखिन्छ । अर्कोतर्फ के छ भने आत्महत्या गर्नेमा बढी पुरूष छन् । एक सय १६ पुरुष, ९९ महिला, १३ बालक र २२ जना बालिकाले त्यो वर्ष आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशमा दुई सय ८६ जनाले आत्महत्या गरेका थिए । जसमा एक सय ६६ पुरुष र ८७ महिलाले आत्महत्या गरेका थिए भने बालक १८ र बालिका १७ जना थिए । प्रहरीका अनुसार अधिकांशले झुण्डिएर आत्महत्या गर्ने गरेका छन् । चालु आर्थिक वर्ष २०७७/७८ को मंसिर पहिलो सातासम्म प्रदेशका १० जिल्लामा एक सय ४५ जनाले आत्महत्या गरेका छन् । पुरुष ६१, महिला ५५, बालक १४ र बालिका १५ जनाले यो अवधिमा आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तथ्याङ्कले भयावह दृष्य देखाउँछ । विभिन्न समयमा देखिने खतरनाक महामारीले भन्दा बढी मानवीय क्षति आत्महत्याबाट भइरहेको छ अधिकांश घटना आर्थिक अवस्था, कमजोर आत्मबल, घरेलुहिंसा लगायतका कारण हुने गरेका छन् । आत्महत्या विगतदेखि नै जनस्वास्थ्यको ठूलो समस्या र चुनौतिका रूपमा देखा पर्दै आएको छ । आर्थिक अवस्थामा सुधार नआएको र सामाजिक असुरक्षाका कारण बढेको चरम निराशाले मानिसहरूले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ । तर आत्महत्याको यो डरलाग्दो तथ्याङ्क घटाउनेगरी गम्भिरपूर्वक कामहरू भने भएका छैनन् ।

प्रकाशित मितिः   १७ मंसिर २०७७, बुधबार ११:४२