४२ पालिकामा अस्पताल बनाइँदै
कर्णाली प्रदेशका ४२ स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल निर्माण थालिएको छ । तीमध्ये अधिकांश स्थानमा सोमवार अस्पताल भवनको शिलान्यास गरिएको छ । सरकारले स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ देशभरका तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको थालनी गरेको हो ।
चालु आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरूप चालु आर्थिक वर्षमा तीन सय ९६ पालिकामा अस्पताल भवन निर्माण थालिएको छ । सोमवारमात्रै एकै दिन दुई सय ५० बढी स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय सरकारका मन्त्री, राज्यमन्त्री, मुख्यमन्त्री, प्रदेश सकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलगायतले विभिन्न पालिकामा पुगि अस्पताल भवनको शिलान्यास गरेका हुन् ।
सरकारले पाँच शैयाको अस्पताल निर्माण गर्न आठ करोड, १० शैयाको अस्पतालका लागि ११ करोड र १५ शैयाका अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन गरेको छ । सात सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अस्पताल छैनन् । तीमध्ये पहिलो चरणमा तीन सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ ।
प्रकाशित मितिः १६ मंसिर २०७७, मंगलवार ०६:००
साझा बिसौनी ।