कोरोनाबाट १५ सय बढीको मृत्यु

कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार थप २९ जनाको ज्यान गएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय आठ पुगेको हो ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार सोमवार देशभर थप एक हजार चार सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३३ हजार चार सय ५२ छ । जसमध्ये दुई लाख १४ हजार पाँच सय २१ ज्ना निको भएका छन् भने १७ हजार चार सय २३ सक्रिय संक्रमित छन् ।

यस्तै, कर्णाली प्रदेशमा सोमवार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार दुई सय दुई जनामा परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो । महाशाखाले दिएको जानकारीका अनुसार सुर्खेतका १५, सल्यानका पाँच, जुम्लाका चार, दैलेख र हुम्लाका एक/एक र अन्य प्रदेशका तीन जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ६ हजार नौ सय दुई पुगेको छ ।

कर्णालीमा सोमवार २० जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । हुम्लाका १५, सुर्खेतका तीन र कालीकोटका दुुई जना कोरोना संक्रमणमुक्त भएका हुन् । हालसम्म प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार तीन सय तीन पुगेको छ । सक्रिय संक्रमितको संख्या पाँच सय ९९ रहेको छ । प्रदेशमा अहिलेसम्म ९३ हजार दुई सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेशमा कोरोना संक्रमण देखिएका १९ जनाको ज्यान गएको छ ।

प्रकाशित मितिः   १६ मंसिर २०७७, मंगलवार ०६:००