आगलागीको जोखिम

कर्णालीले वर्षेनी कुनै न कुनै प्राकृतिक विपद्को सामना गरिरहेको छ । बाढी–पहिरो, आगलागी, चट्याङ होस् या भूकम्प लगायतका प्रकोपले हरेक वर्ष क्षति पु¥याइरहेको हुन्छ । यस्ता विपद्ले एकातर्फ आर्थिक नोक्सानी गरिरहेको हुन्छ भने अर्कोतर्फ मानवीय क्षति पनि पु¥याइरहेको हुन्छ । अन्य विपद्जस्तै आगलागी पनि कर्णालीका लागि चुनौती बनेको छ । आगलागीबाट कर्णालीमा वर्षेनी बस्ती जल्छन् । हरेक वर्ष यहाँका कुनै न कुनै बस्तीमा आगलागी भएकै हुन्छ ।

यस वर्ष पनि त्यही श्रृंखला दोहोरिन सुरु भइसकेको छ । गत शनिवार बिहान कालीकोटको तिलागुफा नगरपालिका–४ राचुँली गाउँमा आगलागी भयो । तीन घर जलेर नष्ट भए । एउटा घरमा लागेको आगो अर्को घरमा सल्किँदा सँगै रहेका दुई घर जलेका हुन् । आगलागीले अन्य १८ घरमा क्षति पु¥यायो । १३ घरपरिवारका ४१ जना प्रभावित भए । उनीहरू अहिले खुला आकाशमुनी बसिरहेका छन् । यो त एक उदाहरण मात्रै हो । कालीकोटकै पलाँता गाउँपालिका–१ को न्यौपाने बस्तीमा दुई वर्षअघि भएको आगलागीले सिङ्गो बस्तीनै जलेको थियो । त्यहाँ खरले छाएका ३० घर जलेका थिए । उक्त बस्तीमा पनि एउटा घरबाट आगो अरू घरमा सल्किँदै जाँदा ठूलो क्षति भएको थियो । एकपछि अर्को गर्दै आगलागीका घटना थपिदै गएका छन् । आगलागीले बस्ती नै सखाप भएपछि नागरिकहरू घरबासविहीन हुने गरेका छन् । साविक कर्णालीका जिल्लाहरूमा अधिकांश बस्तीका घरहरू खरले छाएका र एकअर्कोसँग जोडिएर बनाइएका छन् । जसका कारण एउटा घरमा आगो लाग्ने बित्तिकै बस्तीमै ठूलो क्षति पुग्ने गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार गएको पाँच वर्षयताको तथ्याङ्क हेर्दा यहाँ आगलागीका सात सय ९६ घटना भएका छन् । आगलागीमा परेर यस अवधिमा १८ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । यी घटनामा ४१ जना घाइते भएका छन् भने यस अवधिमा करिब एक अर्ब ७० करोड ३७ लाख बराबर धनमालको क्षति भएको छ । आगलागीका अनेक कारण छन् । जसमध्ये प्रमुख मानवीय कमजोरी पनि हो । आगलागीको अवस्था हेर्दा खाना पकाउँदा, बालबालिकाले जथाभावी आगो बाल्दा र चुरोट खाएर सामुदायिक वनहरूमा फाल्दा आगो लाग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ग्रामीण भेगमा कमजोर संरचना, कच्ची घरहरू हुुँदा र भौगोलिक विकटताका कारण आगलागीले बढी क्षति पु¥याउने गरेको छ । खरले छाएका, काठले बनाएका कच्ची घरहरू छन् ।

आगो लाग्न बित्तिकै तत्काल नियन्त्रणमा लिन सम्भव हुँदैन । भौगोलिक विकटता र स्रोतसाधनको अभाव छ । जसले गर्दा बस्ती नै जल्ने अवस्था छ । आगलागीको जोखिम कम गर्न एकातर्फ हरेक व्यक्ति सजग हुनु अपरिहार्य छ भने अर्कोतर्फ यदि आगलागी भइहालेमा त्यसको नियन्त्रणका लागि आवश्यक संरचना, पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्न राज्यले ध्यान दिनुपर्दछ ।

प्रकाशित मितिः   १६ मंसिर २०७७, मंगलवार ०६:००