सुधार्नुपर्ने सडक

सडक विकासको आधारभूत पूर्वाधार हो । अन्य पूर्वाधारको विकासका लागि पनि सडकको भूमिका महŒवपूर्ण छ । यसबाहेक मानिसको जीवनशैलीलाई सहज बनाउनका लागि त छँदैछ । तर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सडकले सुविधा सँगसँगै सास्ती दिइरहेका छन् ।

वीरेन्द्रनगर बजार क्षेत्रका सडक साँघुरा छन् । त्यसमाथि चाप बढ्दो छ । सवारी–साधनको संख्या दिनप्रति दिन थपिँदै गएका छन् । वीरेन्द्रनगर प्रदेश राजधानी तोकिएपछि यहाँ दिनप्रति दिन जनसंख्या र सवारी साधनको चाप बढ्दो क्रममा छ । प्रहरीका अनुसार सुर्खेतमा हाल २१ हजार तीन सय ८५ सवारी साधन छन् । जिल्ला ट्राफिक कार्यालयका अनुसार मोटरसाइकल १५ हजार तीन सय ७८, ट्रक र टिप्पर चार सय ३२, बस पाँच सय २८, ट्याक्टर चार सय ७४, अटोरिक्सा एक हजार एक सय, जीप तथा कार तीन सय ९४, पावर टेलर एक सय ८५, निर्माणका साधनहरू ७९ वटा रहेका छन् ।

एकातर्फ सडकमा चाप बढ्दै भएको छ भने अर्कोतर्फ भएका सडक पनि जीर्ण र पूराना छन् । बजार क्षेत्रमा सवारी–साधन पार्क गर्ने स्थानसमेत छैनन् । अधिकांश सडक स्तरोन्नति भइरहेकाले धुँलो धुँवाको समस्या उस्तै छ । वीरेन्द्रनगर नगरपालिकाको उदासिनताका कारण बढ्दो सवारी साधनको चाप थेग्न नसक्ने स्थितिमा यहाँका सडक पुगेका हुन् । फुटपाथ व्यवस्थापन र जीर्ण सडकको मर्मत तथा स्तरोन्नतिमा नगरको ढिलासुस्तीले राजधानीबासी आजित बनेका छन् । व्यस्त बजार र अव्यवस्थित सडक संरचनाका कारण ट्राफिक प्रहरीलाई समेत व्यवस्थापनमा हम्मे–हम्मे परेको छ ।

सडकको क्षमताभन्दा सवारी साधनको चाप अधिक छ । पार्किङ्ग व्यवस्था पनि यहाँको प्रमुख चुनौती हो । नगरपालिकाले बजार क्षेत्रमा पार्किङ्गको लागि जग्गा छुट्याउनु पर्ने हो । तर सम्बन्धित पक्षले पनि चासो नदिँदा अहिले बजार क्षेत्रका सडक अस्तव्यस्त बनेको छ । साँघुरा सडक त्यसमाथि सडक छेउमै पार्किङ्ग गर्नुपर्ने हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सवारी साधन जहाँ पायो त्यही पार्किङ्ग गरिँदा सवारी दुर्घटनासमेत बढेको प्रहरीको तथ्यांकले देखाउँछ । अव्यवस्थित सडकका कारण पैदल यात्रीसमेत मारमा छन् ।

अहिले बलियो स्थानीय तह छ । वीरेन्द्रनगर नगरपालिका आफैले व्यवस्थित नगर बनाउने योजना पटक–पटक सार्वजनिक गर्दै आएको छ । तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन । प्रदेश राजधानीमै प्रदेश सरकार छ । राजधानीको विकासमा प्रदेशको भूमिका पनि उत्तिकै महŒवपूर्ण छ भने संघीय सरकारले पनि यसको दायित्व लिनुपर्दछ । गर्नुपर्ने काम धेरै छन् । राजधानी सहरको पार्किङ्गको समस्यालाई दीर्घकालीन समाधान गर्नु अपरिहार्य भइसकेको छ । नगरमा गतिलो पार्किङ्गको व्यवस्था नहुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । यसका साथै बजार क्षेत्रको फुटपाथ व्यवस्थापन पनि अर्को महŒवपूर्ण काम हो । सडक सुरक्षा, नगरको सुन्दरता र व्यवस्थित राजधानी निर्माणका लागि तीनै तहका सरकारबीच हातेमालो जरुरी छ ।

प्रकाशित मितिः   १२ मंसिर २०७७, शुक्रबार ०६:०१