कोरोना संक्रमण बढ्दो

पछिल्लो समय समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास केही कम भए पनि संक्रमण पुष्टि हुने क्रम भने रोकिएको छैन । बिहीवार कर्णाली प्रदेशमा २५ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेशभर एक सय २० जनाको पीसीआर परीक्षण हुँदा २५ जनामा संक्रमण पुष्टि भएको हो । दैैलेखका नौ, सुर्खेतका आठ, रुकुम–पश्चिमका सात र अन्य प्रदेशका एक जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार सात सय ८३ पुगेको छ ।

यस्तै, बिहीवार २६ जना कोरोना संक्रमणमुक्त भका छन् । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार दुई सय पाँच पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा पाँच सय ७८ जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये हालसम्म १९ जनाको ज्यान गएको छ । महाशाखाका अनुसार सुर्खेतका १०, दैलेखका चार, कालीकोट, डोल्पा, रुकुम–पश्चिमका एक÷एक जना र अन्य प्रदेशका दुई जनाको कोरोनाबाट मृत्यु भएको हो ।

यसैबीच, बिहीवार देशभर एक हजार ६ सय १४ जना कोरोनाका संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको छ । सक्रिय संक्रमितको संंख्या १६ हजार सात सय ९३ रहेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय नाघेको छ । बिहीवार २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय १२ पुगेको हो ।

प्रकाशित मितिः   १२ मंसिर २०७७, शुक्रबार ०६:०३