एकीकृत विकास अपरिहार्य
विकासका दृष्टिले सिङ्गो कर्णाली प्रदेश नै पछाडि छ । प्रदेश राजधानीमा समेत आवश्यक पूर्वाधार निर्माण भएका छैनन् । विकासका आधारभूत पूर्वाधारमै पछि परेको छ । विगतमा केन्द्रीकृत राज्य व्यवस्थाको उपेक्षामा परेको कर्णाली अहिलेको संघीय राज्य व्यवस्थासम्म आइपुग्दा पनि विकट र अविकसित क्षेत्रको रूपमा कायमै छ । त्यसो त यहाँ समस्या एक होइन अनेक छन् । निर्माण हुनुपर्ने थुप्रै पूर्वाधारहरू बनेका छैनन् । भएका संरचनाहरू पनि पर्याप्त छैनन् । कमजोर र जीर्ण छन् । व्यवस्थित बस्ती विकासको अभावमा अस्तव्यस्त बन्दै गएको नगरलाई बढ्दो जनघनत्वको व्यवस्थापन थप चुनौती भएको छ । यहाँका सडक साँघुरा, जीर्ण र जोखिमपूर्ण छन् । वीरेन्द्रनगरको अर्को ठूलो समस्या खानेपानीको हो । पर्याप्त खानेपानीको सुविधा उपलब्ध नहुँदा राजधानीबासीले हैरानी खेप्दै आएका छन् । त्यस्तै सुर्खेत विमानस्थलको धावनमार्ग छोटो भएकाले ठूला जहाज सञ्चालन भएका छैनन् । जसका कारण प्रदेश राजधानीदेखि संघीय राजधानी पुग्न समेत अन्य प्रदेशबाट जहाज चढेर जानुपर्ने बाध्यता छ । केही वर्ष पहिलेसम्म सुन्दर नगरको पहिचान बनाएको वीरेन्द्रनगर पछिल्लो समय कुरूप देखिन थालेको छ ।
पूर्वाधार विकासका लागि वर्षेनी छुट्याइने बजेट पनि पूरै खर्च नभएर फिर्ता हुने अर्को विडम्बनाका कारण पनि पूर्वाधार निर्माणमा पछि परेको हो । यद्यपि कुनै न कुनै रूपमा राजधानी विकासका योजना भने बनिरहेका हुन्छन् । यसैक्रममा तीनै तहका सरकारले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको समग्र विकासका लागि सहकार्य गर्ने भएका छन् । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका रूपमा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा एकीकृत विकासका लागि हातेमालो थालिएको हो । त्रिपक्षीय सहकार्यमा वीरेन्द्रनगर नगरपालिकाका सडक, खानेपानी, विमानस्थल विस्तार, पर्यटन विकासका साथै वातावरणमैत्री हरियाली नगर बनाइने भएको छ । जसका लागि चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले एक अर्ब एक करोड तथा संघीय सरकारले ५१ करोड बजेटसमेत विनियोजन गरिसकेको छ ।
एकीकृत विकासका लागि छनौट गरिएका योजना महŒवपूर्ण छन् । जसको विकास र स्तरोन्नति अपरिहार्य छ । सुर्खेत विमानस्थलको विस्तारका लागि प्रदेश सरकारले ५० करोड तथा संघीय सरकारले ५१ करोड रकम विनियोजन गरेका छन् । चालु आर्थिक वर्षमा वीरेन्द्रनगरको सहरी ढल, पर्यटन लगायतको विकासका लागि प्रदेश सरकारले एकमुष्ट ५१ करोड रकम विनियोजन गरेको छ । खानेपानी समस्याको हल गर्न दीर्घकालीन योजनासहित भेरी तथा झुप्राखोलाको पानीलाई लिफ्टिङ्ग प्रविधिमार्फत वीरेन्द्रनगरमा ल्याइ वितरणको व्यवस्था मिलाइने भएको छ । नगरका सबै सडकहरू कालोपत्रे गर्ने, हरियाली नगरको रूपमा विकास गर्ने, ढललाई व्यवस्थित गर्ने, प्रमुख पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने र विमानस्थलको स्तरोन्नति योजनासहित काम अघि बढाइएको हो । राजधानीको विकासका लागि तीनै तहका सरकारले सक्रियता देखाउन थालेसँगै अब वीरेन्द्रनगरले भौतिक पूर्वाधारमा काँचुली फेर्ने अपेक्षा गर्न सकिन्छ । प्रदेश राजधानीको पूर्वाधार विकासमा तीन वटै तहको सहकार्य अपरिहार्य थियो । जसको सुरुवात भएको छ ।
प्रकाशित मितिः ११ मंसिर २०७७, बिहीबार ०६:०१
साझा बिसौनी ।