राजधानीमा सडक सास्ती

वीरेन्द्रनगर बजार क्षेत्रका सडक साँघुरा बन्दै गएका छन् । सवारी–साधनको चाप बढेपछि जीर्ण र पूराना सडकमा जाम लाग्न थालेको छ । बजार क्षेत्रमा सवारी–साधन पार्क गर्ने स्थानसमेत छैनन् । अधिकांश सडक स्तरोन्नति भइरहेकाले धुँलो धुँवाको समस्या उस्तै छ । वीरेन्द्रनगर नगरपालिकाको उदासिनताका कारण बढ्दो सवारी साधनको चाप थेग्न नसक्ने स्थितिमा यहाँका सडक पुगेका हुन् । फुटपाथ व्यवस्थापन र जीर्ण सडकको मर्मत तथा स्तरोन्नतिमा नगरको ढिलासुस्तीले राजधानीबासी आजित बनेका छन् । व्यस्त बजार र अव्यवस्थित सडक संरचनाका कारण ट्राफिक प्रहरीलाई समेत व्यवस्थापनमा हम्मे–हम्मे परेको छ ।
वीरेन्द्रनगर प्रदेश राजधानी तोकिएपछि यहाँ दिनप्रति दिन जनसंख्या र सवारी साधनको चाप बढ्दो क्रममा छ । प्रहरीका अनुसार सुर्खेतमा हाल २१ हजार तीन सय ८५ सवारी साधन छन् । जिल्ला ट्राफिक कार्यालयका अनुसार मोटरसाइकल १५ हजार तीन सय ७८, ट्रक र टिप्पर चार सय ३२, बस पाँच सय २८, ट्याक्टर चार सय ७४, अटोरिक्सा एक हजार एक सय, जीप तथा कार तीन सय ९४, पावर टेलर एक सय ८५, निर्माणका साधनहरू ७९ वटा रहेका छन् ।
जिल्ला ट्राफिक प्रमुख उपेन्द्र आचार्य सवारी साधनहरूको चाप बढ्दै गएकाले पार्किङ्ग व्यवस्थित हुनुपर्ने बताउँछन् । ‘सडकको क्षमताभन्दा सवारी साधनको चाप अधिक छ । पार्किङ्ग व्यवस्था पनि यहाँको प्रमुख चुनौती हो,’ उनले भने । नगरपालिकाले बजार क्षेत्रमा पार्किङ्गको लागि जग्गा छुट्याउनु पर्ने उनले जनाए । प्रमुख आचार्यले पार्किङ्गका लागि कुनै पक्षले पनि चासो नदिँदा अहिले बजार क्षेत्रका सडक अस्तव्यस्त बनेको बताए ।
साँघुरा सडक त्यसमाथि सडक छेउमै पार्किङ्ग गर्नुपर्ने हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सवारी सधान जहाँ पायो त्यही पार्किङ्ग गरिँदा सवारी दुर्घटनासमेत बढेको प्रहरीले जनाएको छ । अव्यवस्थित सडकका कारण पैदल यात्रीसमेत मारमा छन् ।
पार्किङ्गका लागि नगरपालिकाले अब भने दीर्घकालीन रूपमा समाधान खोजिने जनाएको छ । त्यसका लागि तयारी थालिसकिएको नगर प्रमुख देवकुमार सुवेदीको दावी छ । ‘ट्राफिक व्यवस्थापनको चुनौती छ,’ यसका लागि हामीले निश्चित पार्किङ्ग क्षेत्र तोक्दै छौँ,’ उनले भने, ‘त्यसका लागि काम समेत थालिएको छ ।’ राजधानी सहरको पार्किङ्गको समस्यालाई दीर्घकालीन समाधान गर्नेगरी नगरले तयारी थालेको हो । वीरेन्द्रनगरमा गतिलो पार्किङ्गको व्यवस्था नहुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । नगरपालिकाले बजार क्षेत्रलाई व्यवस्थित गर्न पार्किङ्ग व्यवस्थापनको लागि जग्गा हेर्ने काम भइरहेको जनाएको छ ।
पालिकाले विशेष गरेर घण्टाघर, अहिले सञ्चालन भएको बसपार्क र नेरा माध्यमिक विद्यालय डाँडास्कुल नजिकको खुला ठाउँमा सम्भाव्यता अध्ययन थालेको छ । सम्भावित ठाउँहरू हेर्ने काम गरिएकाले सबैलाई पायक पर्ने गरी पार्किङ्गको व्यवस्थापन हुने नगर प्रमुख सुवेदी बताउँछन् । प्रदेशको केन्द्र भएकाले यहाँको एकीकृत विकासका लागि पछिल्लो समय प्रदेश र संघीय सरकारले समेत चासो देखाएका छन् । अहिले वीरेन्द्रनगरका अधिकांश सडकहरू निर्माणका क्रममा छन् । ‘सडक निर्माणका काम भइरहेकाले पनि पार्किङ्गमा समस्या छ । सडक निर्माणको काम सम्पन्न पछि पार्किङ्गको उचित व्यवस्थापन हुनेछ,’ नगर प्रमुख सुवेदी भन्छन् । सकभर मुख्य बजार क्षेत्रभित्र नपर्ने गरी निश्चित ठाउँहरूमा पार्किङ्गको व्यवस्थापन गरिने उनले बताए ।
वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापनका लागि प्रहरीले समेत विभिन्न योजना अघि बढाएको छ । प्रत्येक वडाहरूमा ट्राफिक साइन, लाइन, जेब्रा क्रसिङ, इन्फरमेसन बोर्ड र सडक सचेतना सम्बन्धी कार्यक्रम गर्ने योजना रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख आचार्य बताउँछन् । उनले यी कार्यक्रम ट्राफिक प्रहरी आफैंले गर्ने र क्षमताले नभ्याए अन्य निकायको सहयोग लिइने बताए । ‘हामीसँग ट्राफिक व्यवस्थापनका लागि छुट्टै बजेट हुँदैन,’ उनले भने, ‘सम्बन्धित निकायसँग पहल गर्ने नै हो ।’
नगरपालिकाले बजार क्षेत्रको फुटपाथ व्यवस्थापनको काम पनि थालेको जनाएको छ । सडक नै ढाक्नेगरी छेउछाउका गरिने व्यवसायले बजार अस्तव्यस्त भएपछि नगरले यस्ता व्यवसाय र संरचना हटाउन लागेको हो । मंगलवारदेखि फुटपाथका संरचना हटाउन थालिएको छ । नगरपालिकाका वरिष्ठवप्रशासन सहायक यामलाल गिरीले अटेर गर्नेहरूको सामान जफत गर्ने गरिएको बताए । उनले पहिलो चरणमा मुख्य बजार क्षेत्रको फुटपाथ व्यवस्थापन गरिने जनाए । पहिलो चरणमा मंगलगढीदेखि नेताचोक, वीरेन्द्रचोक, यरीचोक, गणेशचोक, नेताचोक र घण्टाघर लाइनमा पर्ने सडक छेउका फुटपाथ हटाउन सुरू गरिएको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मितिः ११ मंसिर २०७७, बिहीबार ०६:००
साझा बिसौनी ।