महिलाको आर्थिक विकासमा जोड

लैंगिक हिंसाबाट मुक्त हुुनका लागि महिलाहरूको आर्थिक विकासमा जोड दिइनुपर्ने सरोकारवालाले बताएका छन् । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको सामाजिक न्याय र मानवअधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो औंल्याएका हुन् । महिलाहरूको शिक्षा र रोजगारको ग्यारेण्टी हुनुपर्ने उनीहरूको भनाइ छ । हिंसा पीडितहरूलाई न्यायसहित उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर गराउन आवश्यक रहेको नवज्योति केन्द्रका कार्यक्रम संयोजक जरमाया बाँठाले बताइन् । अधिकांश हिंसापीडित महिलाहरू आर्थिक रूपमा कमजोर हुने गरेको भन्दै आर्थिक रूपमै सक्षम नहुँदा महिलाहरूले हिंसा भोग्नु परेको पनि उल्लेख गरिन ।

यस्तै, कार्यक्रममा आवाज संस्थाका कृत्रिका सापकोटाले पनि महिलाहरूलाई आत्मनिर्भर बनाउनतर्फ जोड दिनुपर्ने धारणा राखिन । ‘आर्थिक रूपमा कमजोर भएका महिला न्याय लिनसमेत पछि हट्छन् । फेरि श्रीमानकै कमाइले आफू र छोराछोरी पालिनुपर्ने भएकाले किन श्रीमानविरुद्ध मुद्धा हाल्ने भन्ने हुन्छ,’ उनले भनिन्, ‘त्यसले महिलालाई आर्थिक रूपमा सवल र बलियो गराउनुपर्छ ।’

वाम संस्थाक कार्यकारी निर्देशक मधुरानी ढकालले महिलाको शिक्षामा जोड दिनुपर्ने औंल्याइन् । उनले महिलालाई हरेक क्षेत्रमा आत्मनिर्भर गराउनका लागि शिक्षा नै महत्वपूर्ण कडी भएको बताइन् । महिला हिंसाविरुद्धका अभियानहरू शहर केन्द्रित मात्रै भएकाले प्रभावकारी हुन नसकेको उनको भनाइ थियो ।

प्रकाशित मितिः   १० मंसिर २०७७, बुधबार ०६:०३