राजधानीको विकासमा हातेमालो

वीरेन्द्रनगरको मुहार फेर्न कस्सिए तीनै तहका सरकार

वीरेन्द्रनगरको मुहार फेर्न कस्सिए तीनै तहका सरकार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको समग्र विकासका लागि तीन वटै तहका सरकार जुटेका छन् । संघ, प्रदेश र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा एकीकृत विकासका लागि हातेमालो थालिएको हो । त्रिपक्षीय सहकार्यमा वीरेन्द्रनगर नगरपालिकाका सडक, खानेपानी, विमानस्थल विस्तार, पर्यटन विकासका साथै वातावरणमैत्री हरियाली नगर बनाइने भएको छ । जसका लागि चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले एक अर्ब एक करोड तथा संघीय सरकारले ५१ करोड बजेटसमेत विनियोजन गरिसकेको छ । सुर्खेत विमानस्थलको विस्तारका लागि प्रदेश सरकारले ५० करोड तथा संघीय सरकारले ५१ करोड रकम विनियोजन गरेका छन् ।

वीरेन्द्रनगर साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम र देशकै पुरानोमध्येको नगरपालिका भए पनि भौतिक विकासको अवस्था भने नाजुक छ । हाल प्रदेशको केन्द्र अर्थात राजधानी रहेको वीरेन्द्रनगरमा पूर्वाधार विकासको आवश्यकता झनै टड्कारो बनेको छ । व्यवस्थित बस्ती विकासको अभावमा अस्तव्यस्त बन्दै गएको नगरलाई बढ्दो जनघनत्वको व्यवस्थापन थप चुनौती भएको छ । राजधानीको विकासका लागि तीनै तहका सरकारले सक्रियता देखाउन थालेसँगै अब वीरेन्द्रनगरले भौतिक तथा जनजीविकाका अन्य सवालमा काँचुली फेर्ने देखिएको हो ।

अहिले यहाँका सडक साँघुरा, जीर्ण र जोखिमपूर्ण छन् । वीरेन्द्रनगरको अर्को ठूलो समस्या खानेपानीको हो । पर्याप्त खानेपानीको सुविधा उपलब्ध नहुँदा राजधानीबासीले हैरानी खेप्दै आएका छन् । त्यस्तै सुर्खेत विमानस्थलको धावनमार्ग छोटो भएकाले ठूला जहाज सञ्चालन भएका छैनन् । जसका कारण प्रदेश राजधानीदेखि संघीय राजधानी पुग्न समेत अन्य प्रदेशबाट जहाज चढेर जानुपर्ने बाध्यता छ । केही वर्ष पहिलेसम्म सुन्दर नगरको पहिचान बनाएको वीरेन्द्रनगर पछिल्लो समय कुरूप देखिन थालेको छ । नगर वातावरण तथा पर्यटकमैत्री नहुँदा यसको सौन्दर्य हराउँदै गएको हो ।

चालु आर्थिक वर्षमा वीरेन्द्रनगरको सहरी ढल, पर्यटन लगायतको विकासका लागि प्रदेश सरकारले एकमुष्ट ५१ करोड रकम विनियोजन गरेको छ । खानेपानी समस्याको हल गर्न दीर्घकालीन योजनासहित भेरी तथा झुप्राखोलाको पानीलाई लिफ्टिङ्ग प्रविधिमार्फत वीरेन्द्रनगरमा ल्याइ वितरणको व्यवस्था मिलाइने भएको छ । नगरका सबै सडकहरू कालोपत्रे गर्ने, हरियाली नगरको रूपमा विकास गर्ने, ढललाई व्यवस्थित गर्ने, प्रमुख पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने र विमानस्थलको स्तरोन्नति योजनासहित काम अघि बढाइएको हो ।

प्रदेश राजधानीको पूर्वाधार विकासमा तीन वटै तहको सहकार्य भइरहेको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । ‘वीरेन्द्रनगरलाई पूर्वाधार सम्पन्न र सुन्दर सहरका रूपमा विकास गर्न लागिएको मन्त्री ज्वाला बताउँछन् । ‘राजधानीको विकास भए मात्रै अन्यत्र विकासको सुरूवात हुन्छ,’ उनले भने, ‘हामी पहिले राजधानी हेर्न लायक बनाउँदै छौँ ।’ मन्त्री ज्वालाले पहिलो चरणमा पाँच वटा क्षेत्रको विकासका लागि काम थालेको जनाए । उनका अनुसार खानेपानीको व्यवस्था, नगरका सबै मुख्य सडक कालोपत्रे, पर्यटन पूर्वाधार, हरियाली तथा ढल निकास र विमानस्थलको विस्तारको काम तत्काल अघि बढ्नेछन् । सुरक्षित र सुन्दर सहर निर्माणका लागि तिनै तहका सरकारले मिलेर काम गर्न लागेको मन्त्री ज्वालाको भनाइ छ ।

एकीकृत विकास गर्न १८ निर्णय

मन्त्री ज्वालाको संयोजकत्वमा मंसिर ३ र ८ गते बसेको त्रिपक्षीय बैठकले राजधानीको एकीकृत विकासका लागि विभिन्न १८ वटा निर्णय गरेको छ । वीरेन्द्रनगरलाई सुन्दर सहरका रूपमा विकास गर्नका लागि तत्काल कार्यान्वयन गर्नेगरी यतिधेरै निर्णयहरू गरिएको हो । बैठकले सुर्खेत उपत्यकामा खानेपानीको दिगो आपूर्तिका लागि प्रतिक्षारत भेरी लिफ्ट आयोजनाको सम्बन्धमा कर्णाली प्रदेश सरकारको सम्बन्धित मन्त्रालय तथा कार्यालयका प्रतिनिधिसहित शीघ्र छलफल गर्ने निर्णय गरेको छ । समितिले सडकको स्तरोन्नतिको कार्यलाई हालसम्मको प्रगति समीक्षासहित प्रमुख सहरी क्षेत्रका बाँकी सडकको कालोपत्रे गर्ने कार्यलाई तत्काल अघि बढाउने, सुर्खेत पर्यटकीय क्षेत्रको विकासका लागि सम्बन्धित प्रदेश मन्त्रालय तथा कार्यालय र नगरपालिकासहितको सहभागितामा छलफल गरी एकीकृत अवाधारणा विकास गरिने निर्णय गरेको हो ।त्यस्तै वीरेन्द्रनगरका प्रमुख सडक धुलियाविट–बाङ्गेसिमल, गणेशचोक–मंगलगढी प्लानिङ्ग क्षेत्रका सडकमा हरियाली फुटपाथ र बिजुली तार, सीसी क्यामरा, सोलार लाइटको कार्य नगरपालिकाको नेतृत्वमा गरिने जनाइएको छ । साधन–स्रोतका लागि नगरले प्रदेश सरकारसँग साझेदारी गर्ने, उल्लेखित कार्यका लागि नगरपालिकाले ठोस प्रस्ताव तयार गर्ने, प्रदेश सरकारले विनियोजन गरेको एकीकृत कार्यक्रमबाट सम्बन्धित मन्त्रालय कार्यलयसँग छलफल गरी थप स्रोतसमेत पहिचान गर्ने निर्णय समितिले गरेको छ । केन्द्र सरकार र प्रदेश सरकारबीच भएको सम्झौता बमोजिम सुर्खेत विमानस्थलको स्तरोन्नति र विस्तार कार्यलाई आवश्यक सहजीकरण गर्ने निर्णय पनि भएको छ  । त्यस्तै, मंगलवार तीन तहका प्रतिनिधिबीच अर्को संयुक्त बैठक बसेको छ । बैठकले पूर्ववत् निर्णय र समझदारी कार्यान्वयनमा जोड दिनुपर्नेलगायतका निर्णय गरेको छ । मंसिर १३ गते पुनः बैठक बस्ने, संघीय र प्रदेश सरकारको सह–लगानीमा समपूरक आयोजनाको रूपमा अघि बढेको वीरेन्द्रनगरको प्लानिङ्ग क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिने, गुणस्तरको अनुगमन गर्दै एक महिनाभित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने निर्णय समन्वय बैठकले गरेको हो ।

प्रकाशित मितिः   १० मंसिर २०७७, बुधबार ०६:०५