५३ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा थप ५३ जनामा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलवार प्रदेशका विभिन्न जिल्लामा सो संख्यामा संक्रमित पुष्टि भएका हुन् । मंगलवार दुई सय ३९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलका अनुुसार सुर्खेतका २१, सल्यानका १४, दैलेखका ६, जुम्लाका दुई, कालीकोटका एक र अन्य प्रदेशका १० जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार ६ सय ९६ पुगेको छ । अहिलेसम्म प्रदेशमा ९१ हजार नौ सय ९६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यस्तै, मंगलवार ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सुर्खेतका ४७, जुम्लाका १९ र रुकुम–पश्चिमका एक जना संक्रमणबाट निको
भएका हुन् । योसहित प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार एक सय ५१ पुगेको छ । संक्रमणका कारण १९ जनाको ज्यान गएको छ । सुर्खेतका १०, दैलेखका चार, डोल्पा, रुकुम–पश्चिम, कालीकोटका एक÷एक जना र अन्य प्रदेशका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यस्तै, नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । मंगलवार थप एक हजार सात सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणमुक्त हुनेको संख्या दुई लाख चार हजार आठ सय ५८ पुगेको छ । देशभर १७ हजार आठ सय ५९ जना सक्रिय संक्रमित छन् । संक्रमणबाट एक हजार तीन सय ६१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   १० मंसिर २०७७, बुधबार ०६:०२