उत्कृष्ट उद्यमीलाई सम्मान गरिँदै

स्थानीय तहहरूले पालिकाभित्र उत्कृष्ट उद्यम गर्ने एक जनालाई सम्मान गर्ने भएका छन् । सरकारले आफ्नो पालिकाभित्र उत्कृष्ट उद्यम गर्ने एक जना उद्योगीलाई सम्मान गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । छैटौं उद्योग दिवस सबै स्थानीय तहमा मनाउन र आफ्नो पालिकाभित्र उत्कृष्ट उद्यम गर्नेलाई सम्मान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको हो ।

उद्योग दिवस मनाउन र आफ्नो क्षेत्रको उत्कृष्ट उद्यमीलाई प्रोत्साहन स्वरूप सम्मान गर्न आग्रह भएको मन्त्रालयले जनाएको छ । उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न देशभरका स्थानीय तहमार्फत सम्मान गर्न लागिएको हो । उद्योग र रोजगारः समृद्धिको आधार भन्ने नाराकासाथ आज (मंसिर ९) गते सरकारले छैटौं उद्योग दिवस मनाउँदै छ । सोही अवसरमा उद्यमीहरूलाई सम्मानित गरिने पालिकाहरूले जनाएका छन् ।

प्रकाशित मितिः   ९ मंसिर २०७७, मंगलवार ०६:०२