अवैध काठ बरामद

अवैध रूपमा ओसारपसार गरिरहेको अवस्थामा एक सय तीस क्यू फिट काठ बरामद भएको छ । प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिकाका विभिन्न स्थानबाट अवैध चिरान काठ बरामद गरेको हो । गत मंसिर ६ गते भेरीगंगा नगरापालिका–१० परलेस्थित ठूलाखोलाबाट छिन्चुतर्फ जाँदै गरेको अटो रिक्सामा चार फिटका १३ थान र पाँच फिटका दश थान सालको कडी गरी ८.५ क्यू फिट काठ बरामद भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार काठसहित अटो चालक अलबहादुर पुन मगरलाई नियन्त्रणमा लिइएको छ । उनलाई थप अनुसन्धानका लागि सव–डिभिजन वन कार्यालय छिन्चुमा बुझाइएको छ ।

त्यस्तै सोमवार दिउँसो भेरीगंगा नगरपालिकाकै वडा नं. ४ टुनीखोलाका ४६ वर्षीय उदीराम खत्रीको घरको करेसामा लुकाइ राखेको एक सय ३६ थान सालको चिरान कडी र पाँच थान गोलिया गरी एक सय १४.४७ क्यू फिट काठ बरामद गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय छिन्चुले सालको काठसहित उदीराम खत्रीलाई समेत नियन्त्रणमा लिएको छ । सोमवार नै सोही स्थानका ३८ वर्षीय खिमराज खत्रीको घरभित्र लुकाइ राखेको ४.८६ क्यू फिट सालको काठ र २.२५ क्यू फिट जामुनको काठ पनि प्रहरीले बरामद गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको सव–डिभिजन वन कार्यालयले जनाएको छ । अवैध काठ बरामदपछि संलग्न व्यक्तिसहित वन कार्यालयलाई बुझाइएको सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएस्पी) रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रकाशित मितिः   ९ मंसिर २०७७, मंगलवार ०६:०३