निगरानी

बैठकप्रति सदस्यहरु कति उत्तरदायी ?

प्रदेशसभाका तीन वर्षः भाग–एक

दिनेश गौतम/लक्ष्मीप्रसाद पौडेल

यही मंसिर १० गते प्रदेशसभा निर्वाचन भएको तीन वर्ष पुग्दैछ । २०७४ मंसिर १० र २१ गरि दुई चरणमा प्रदेशसभाको निर्वाचन भएको थियो । प्रदेशका १० जिल्लाका २४ प्रदेश निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित २४ जना र समानुपातिक निर्वाचनबाट निर्वाचित १६ प्रदेशसभा सदस्य गरी कर्णाली प्रदेशसभामा ४० जनाले प्रतिनिधित्व गर्छन् । नयाँ संविधानले अङ्गिकार गरेको नयाँ व्यवस्था अन्तर्गत बनेको प्रदेश संरचनाको सांसदको रूपमा ४० जनाले जिम्मेवारी प्राप्त गरेको तीन वर्ष पुग्नै लागेको छ, पाँच वर्षे कार्यकालमध्ये अब दुई वर्ष मात्र बाँकी छ ।

प्रदेशसभाको मुख्य काम नागरिकको बृहत्तर हितका निमित्त असल सार्वजनिक नीतिहरूको निर्माण गर्नु र प्रदेश सरकारको काम–कारवाहीमा आवश्यक खबरदारी गर्नु हो । संविधान, प्रदेशसभा नियमावली तथा दलहरूको संसदीय दलको विधानले सांसदहरूलाई संसद्प्रति जिम्मेवार हुन अभिप्रेरित गरेको छ । संसद्मा रहेर आम सरोकार विषयलाई तथ्यगत रूपमा उठाई नीतिगत सुधारको पहल गर्नु पनि प्रदेशसभा सदस्यको जिम्मेवारी हो । टेलिभिजनमा कति अन्तरवार्ता आए, गाउँघरमा कति उद्घाटन र शिल्यान्यासमा गए, कति कार्यकर्ता भेलामा सहभागी भए भन्नेले होइन, एउटा असल सांसदको परिचय संसद्मा उसको उपस्थिति र योगदानले निर्धारण गर्दछ ।

प्रदेशसभा बैठकमा सबैभन्दा धेरै पटक सहभागी हुने सांसद मीनासिंह रखाल हुन् भने सबैभन्दा कम मुख्यमन्त्री महेन्द्रबहादुर शाही

विभिन्न नीति निर्माण प्रक्रियाहरूको छलफलमा सक्रियतापूर्वक आफ्नो विचार राख्नु पनि उनीहरूको प्रमुख जिम्मेवारी हो । त्योसँगै प्रदेश सरकारसमक्ष आफ्नो निर्वाचन क्षेत्रका नागरिक र सर्वसाधारणका समस्या र समाधानका उपायसहित आवाज राख्ने काम पनि प्रदेशसभा सदस्यहरूकै हो । प्रदेश सरकारको विभिन्न विभाग वा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रदेशसभा सदस्यहरूको जिम्मेवारी उनीहरूको कुरा सुनेर समाधान खोज्नु नै हो ।

प्रदेशसभा सदस्यहरूको जम्मा एक हजार आठ सय २५ दिनको कार्यकालमध्ये एक हजार ८३ दिन आज सकिएको छ । अब करिब सात सय ४२ दिनमात्रै बाँकी छन् । प्रतिशतमा गणना गर्ने हो भने प्रदेशसभा सदस्यहरूको ६० प्रतिशत कार्यकाल सकिसक्यो । अब उनीहरूसँग ४० प्रतिशत कार्यकालमात्रै बाँकी रहेको छ । यो तीन वर्षमा कर्णाली प्रदेशसभामा ६ वटा अधिवेशनहरू सम्पन्न भए । ६ वटा अधिवेशनमा जम्मा एक सय ४५ वटा संसद् बैठक सम्पन्न भए । तर यो बीचको तीन वर्षमा कर्णाली प्रदेश सभाका ६ वटा अधिवेशनका एक सय ४५ वटा बैठकहरूमा कुन सांसद कति दिन उपस्थित भए ? उपस्थितिको विवरणले केही निश्कर्ष पनि निकालेको छ ।

यी हुन सबैभन्दा धेरै बैठकमा उपस्थित पाँच सांसदहरू

कर्णाली प्रदेशसभाको एक सय ४५ वटा बैठकमा प्रदेशसभाका सभामुख राजबहादुर शाही प्रत्येक बैठकमा उपस्थित भएका छन् । शाही प्रदेशसभाको सभामुख भएको हुनाले उनको उपस्थिति सतप्रतिशत हुनु स्वाभाविक पनि हो । तर प्रदेशसभा सदस्यहरूमध्ये दैलेखकी मीनासिं रखाल सबैभन्दा बढी पटक संसद्को बैठकमा उपस्थित भएकी छन् । कुल एक सय ४५ बैठकमध्ये एक सय ४२ बैठकमा उपस्थित भएकी रखालको उपस्थितिदर ९८ प्रतिशत हो । रखाल समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभा सदस्यमा चुनिएकी हुन् । उनी हालसम्मका बैठकमध्ये जम्मा तीन वटा बैठकमा मात्र अनुपस्थित रहेकी छन् ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबाट नै निर्वाचित सुर्खेतकी सांसद पद्मा खड्का एक सय ४१ वटा बैठकमा उपस्थित भएकी छन् । प्रतिशतमा तुलना गर्दा उनी ९७ प्रतिशत संसद् बैठकमा उपस्थित भएकी छन् । सांसद राजु नेपाली र अमृता शाही समान एक सय ४० वटा प्रदेशसभा बैठकमा उपस्थित भएका छन् । अर्थात उनीहरू ९६ प्रतिशत प्रदेशसभा बैठकमा उपस्थित भएका छन् । जाजरकोटबाट निर्वाचित भएका गणेशप्रसाद सिंह एक सय ३७ पटक संसद्को बैठकमा हाजिर भएका छन् जुन कुल बैठकको ९४ प्रतिशत हो ।

यसरी हेर्दा सबैभन्दा धेरै उपस्थित हुने पाँच जना मध्ये चार जना महिला सांसद छन् र उनीहरूले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका हुन् ।

सबैभन्दा कम उपस्थित हुने सांसद/मन्त्रीहरू

प्रदेशसभा बैठकमा सबैभन्दा कम उपस्थिति प्रदेश सरकारको नेतृत्व गरिरहेका प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको रहेको छ । उनी जम्मा ५३ वटा बैठकमा उपस्थित भएका छन् । प्रतिशतमा तुलना गर्दा उनको उपस्थिति निकै कम देखिन्छ । उनी जम्मा ३६ प्रतिशत प्रदेशसभा बैठकमा उपस्थित भएका छन् ।

प्रदेशसभामा सांसदहरूका जिज्ञासा, प्रश्न र गुनासा सुन्ने मुख्य जिम्मेवारी रहेका मुख्यमन्त्री नै प्रदेशसभाको धेरैजसो बैठकमा अनुपस्थित छन् । कति अधिवेशनमा त उनी जम्मा एउटा बैठकमा मात्र सहभागी भएका छन् ।

प्रदेशसभा बैठकमा सबैभन्दा कम उपस्थित हुने धेरैजसो प्रदेशसभा सदस्यहरू प्रदेश सरकारका मन्त्रीहरू छन् । मन्त्रीहरूमध्ये सल्यानबाट प्रत्यक्ष निर्वाचत प्रणालीमार्फत निर्वाचित भएर आएका प्रदेशसभा सदस्य प्रकाश ज्वाला, जो आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा छन्, उनको संसद्मा उपस्थिति अन्य मन्त्रीको भन्दा बढी नै देखिन्छ ।

प्रदेशसभा बैठकमा सरकार र सत्तापक्षको खबरदारीसहित सुझाव दिने जिम्मेवारी लिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको प्रतिनिधित्व गरिरहेका सांसद जीवनबहादुर शाही पनि प्रदेशसभा बैठकमा जम्मा एक सय १४ पटक उपस्थित भएका छन् । कुल संसद् बैठकमध्ये जम्मा ७८ प्रतिशत ७८ प्रतिशत प्रदेशसभा बैठकमा उनी उपस्थित भएका छन् । त्यस्तै सत्तापक्षका प्रभावशाली नेतासमेत रहेका सुर्खेतबाट निर्वाचित प्रदेशसभा सदस्य यामलाल कँडेल जम्मा एक सय नौ पटक संसद्मा उपस्थित छन् ।

सामाजिक विकासमन्त्री दल रावल ७४ प्रतिशत अर्थात एक सय आठ वटा बैठकमा, सांसद खड्कबहादुर खत्री एक सय ६ बैठकमा हाजिर भएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी ७१ प्रतिशत अर्थात् एक सय तीन वटा बैठकमा उपस्थित भएका छन् भने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा एक सय एक दिन अर्थात ६९ प्रतिशत प्रदेशसभा बैठकमा उपस्थित भएका छन् ।

यस्तो छ अन्य सदस्यहरूको हाजिरी कर्णाली प्रदेशसभाको उप–सभामुखको जिम्मेवारीमा रहेकी पुष्पा घर्ती विष्ट एक सय ३७ बैठक अर्थात् ९४ प्रतिशत बैठकमा हाजिर भएकी छन् । सांसद झोवा वि.क. एक सय ३६ बैठक (९३ प्रतिशत), देवी वली एक सय ३४ बैठक (९२ प्रतिशत), गुलावजंग शाह एक सय ३३ बैठक (९१ प्रतिशत) र सुशीलकुमार थापा एक सय ३३ वटा अर्थात् ९१ प्रतिशत बैठकमा उपस्थित भएको देखिन्छ ।

सांसद शोसिला शाही एक सय ३३, विन्दमान विष्ट एक सय ३२, पदमबहादुर रोकाय एक सय ३१, रातो कामी एक सय ३०, अम्मरबहादुर थापा एक सय ३०, चन्द्रबहादुर शाही एक सय २९nवटा बैठकमा उपस्थित भएका छन् । त्यस्तै वीरबहादुर शाही एक सय २७, कुर्मराज शाही र कौशिलावती खत्री समान एक सय २६, ठम्मरबहादुर विष्ट एक सय २४, यज्ञबहादुर बिसी एक सय २४ र दानसिं परियार एक सय २३ वटा प्रदेशसभा बैठकमा उपस्थित छन् ।

यसैगरी करवीर शाही एक सय २२, कृष्णा शाह एक सय २२, सीताकुमारी नेपाली एक सय २१, दिनबन्धु श्रेष्ठ एक सय २१, हिमबहादुर शाही एक सय २०, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला एक सय १८, धर्मराज रेग्मी एक सय १७ र बद्मी क्वारी बोहोरा एक सय १५ वटा प्रदेश सभा बैठकमा हाजिर भएको देखिन्छ ।

यसरी हेर्दा संसद्मा उपस्थितिको मामलामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका प्रदेशसभा सदस्यहरूको संसद्मा उपस्थितिदर राम्रो देखिन्छ । त्यस्तै महिला प्रदेश सभा सदस्यभन्दा पुरुष प्रदेशसभा सदस्यहरू धेरै अनुपस्थित हुने गरेका छन् । प्रदेश सरकारका मन्त्रीहरूले प्रदेशसभाको बैठकलाई खासै प्राथमिकता नदिएको देखिन्छ । संसद्मा राम्रो बोल्ने र युवा पुस्ताको आवाज बोल्न सक्ने भनिएका सांसदहरू नै संसद्मा निकै कम जाने गरेको तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मितिः   ९ मंसिर २०७७, मंगलवार ०६:०२